अर्थ मन्त्रालयले वस्तु आयात खुलाउनेबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अस्पष्ट राय दिएको छ।
अर्थले ‘अवस्था हेरेर निर्णय गर्नु’ भन्दै वाणिज्यलाई अस्पष्ट राय दिएको हो।
गत वैशाख ११ गतेदेखि निश्चित वस्तुहरु तोकेर आयात प्रतिबन्ध लगाइएको थियो।
सुरुमा कुर्कुरे, कुर्मुरे लेज, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो।
तर अहिले तीमध्ये ४ वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। तिनमा एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिरा मात्र छन्।
पछिल्लो समय अर्थतन्त्रमा सुधार आउँदै जाँदा र व्यावसायिक क्षेत्रले प्रतिबन्ध हटाउन माग गर्दैगर्दा वाणिज्य मन्त्रालयले अर्थ मन्त्रालयसँग करिब २० दिनअघि आयात खोल्न उपयुक्त हुने वा नहुनेबारे राय मागेको थियो।
यसअघि वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले प्रतिबन्ध लगाएको हुँदा उसैको प्रस्तावमा खुलाउने प्रक्रिया अघि बढ्ने भएकाले अर्थसँग राय मागिएको हो।
तर अर्थले अस्पष्ट राय दिएको वाणिज्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार अर्थले अहिले अवस्था हेरेर निर्णय गर्न सकिने विषय समावेश गरेर राय पठाएको छ।
ती अधिकारीले भने, ‘अर्थ मन्त्रालयले स्पष्ट राय दिने र सोहीअनुसार आयात खुलाउने नखुलाउने विषयमा निर्णय गर्ने मनसाय वाणिज्य मन्त्रालयले बनाएको थियो। तर अहिलेको अवस्था हेरेर निर्णय गर्ने राय दिएपछि खुलाउने नखुलाउने विषय अन्योलमा पुगेको छ।’
ती अधिकारीका अनुसार सम्भवतः चुनावको आसपासमा आयात खुलाउने विषयमा छलफल समेत भइरहेको थियो।
तर अर्थ मन्त्रालयको राय नआएपछि अब मंसिर मसान्त नै कुर्नुपर्ने स्थिति आएको उनको भनाइ छ।
उनले थपे, ‘मंसिर महिना सुरु भइसकेको छ। अब केही दिन कुर्ने र त्यस समयसम्म विदेशी मुद्रा सञ्चितिको अवस्था कस्तो हुने, त्यस्तै राजस्व संकलनको अवस्था कता जान्छ त्यो हेरेर निर्णय हुन्छ।’
अहिले कस्तो छ विदेशी मुद्रा सञ्चितिको अवस्था?
एक महिनामै विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ। भदौ महिनाको तुलनामा असोजमा विदेशी मुद्रा सञ्चिति ५७ अर्ब रुपैयाँले बढेको हो।
विदेशी मुद्रा संचिति बढेको कारणले वस्तु आयत धान्ने समय समेत बढेको छ। आर्थिक वर्ष २०७९/०८० को तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ दशमलव ६ महिनाको वस्तु आयात र ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले बताएको छ।
भदौ मसान्तसम्ममा ११ खर्ब ८९ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असोज मसान्तसम्म आइपुग्दा १२ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ।
कुन सरकारले गर्ला निर्णय?
यही मंसिर ४ मा निर्वाचन हुँदै छ। निर्वाचन सकिएपछि जनमतको आधारमा नयाँ सरकार बन्नेछ।
तर नयाँ सरकार बन्न केही समय लाग्ने वाणिज्य मन्त्रालयका अधिकारीहरु बताउँछन्। सोही कारण यही सरकारले आयात प्रतिबन्ध खुलाउने नखुलाउने विषयमा निर्णय लिनसक्ने वाणिज्यको अनुमान छ।
आयात प्रतिबन्धको अन्तिम समय मंसिर मसान्त हो। यदि आयात खुलाउने हो भने त्योभन्दा अघि पनि निर्णय गर्न सकिन्छ।
त्यस्तै प्रतिबन्धलाई निरन्तरता दिने हो भने समय थप्नुपर्छ। त्यसकारणले अन्तिम मितिअगाडि नै अहिलेकै मन्त्रिपरिषदले निर्णय गर्न पनि सक्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ।
प्रतिक्रिया