कारोबार


सुन्तला गाउँ बन्यो सिम्ले

सुन्तला गाउँ बन्यो सिम्ले

प्रेमनारायण आचार्य
पुस १५, २०७९ शुक्रबार २०:४६, अर्घाखाँची

भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने शब्द सुनेका कारण भारतीय पल्टनको जागिर छाडेर स्वदेश फर्किएका सिम्लेका ७७ वर्षीय हुमनाथ पौडेल अहिले जिल्लाका सफल सुन्तला किसान बनेका छन्। 

विसं २०२७ मा भारतीय सेनामा रहँदा भारतीयले नेपालीहरुप्रति प्रयोग गरेको यही शब्द सहन नसकी सेनाको जागिर चटक्कै छाडेर घर फर्किए। त्यसलगत्तै पौडेलले नेपाली माटोमा केही गरेर देखाउन सक्छु भन्ने दृढ सङ्कल्पका साथ सुन्तलाखेती सुरु गरेका हुन्। 

उनी आफूले मात्र सुन्तला लगाएनन्, सारा गाउँकालाई नै सुन्तला खेतीप्रति प्रेरित गर्ने अभियानका साथ डोकोमा सुन्तलाका बिरुवा बोकर घरघर पुर्‍याए। ‘पैसा हुनेलाई बिरुवा पैसामा बेचे, नहुनेसँग श्रम साटे, कसैबाट अन्न, डोको, नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघर लगाउन अनुरोध गरेँ’, उनले भने। उनले धेरैलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तलाका बोट लगाउन प्रेरित गरे। 

उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक रु २० लाखभन्दा बढी आम्दानी हुने गरेको र आफ्नो परिवारलाई खान लाउन पुगेको बताए। अहिले सुन्तला राम्रो फलेकाले रु २५ लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ। उनको सुन्तला बगैँचामा अहिले झण्डै साढे आठ सय बिरुवा छन्। उनको बारी, खेत, खर्क सबैमा सुन्तलाको बगैँचा छ। 

एक व्यक्तिको पहलमा २०२७ सालमा सुरु भएको सुन्तला खेतीले अहिले पाणिनि गाउँपालिकाका वडा नं १ पणेना र वडा नं २ पोखराथोकको प्रमुख उत्पादनको स्रोत सुन्तला बनेको छ। पणेनामा दुई सय र वडा नं १ सिम्लेमा मात्रै झण्डै ४९ कृषकले अहिले सुन्तला खेतीबाट घटीमा रु एक लाखदेखि बढीमा रु २८ लाखसम्म मनग्य आम्दानी गरिरहेका छन्। 

अर्घाखाँचीमा यस वर्ष रु २७ करोडको सुन्तला फलेको बताइएको छ। जिल्लाको चार सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा पाँच हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जिल्लाभरमा यस वर्ष करिब रु २७ करोड मूल्यको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्रका प्रमुख राममिलनप्रसाद विश्वकर्माले बताए। उनका अनुसार गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो। 

पाणिनिका वडा नं १ पणेना, वडा नं २ पोखराथोक, ४ पटौटी र ५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तलाखेती भइरहेको छ। वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तलाखेतीमा लागेका छन्। सुन्तलाखेतीबाट मनग्य आम्दानी भएपछि कृषक खुसी भएका छन्।

चिस्यान केन्द्र बनेपछि पणेनाका सुन्तला कृषक हर्षित बनेका छन्। विगतका वर्षमा यहाँ उत्पादन भएको सुन्तला प्रतिकिलो रु ६० देखि ६५ मा बुटवल, तानसेन र भैरहवाका बजारमा बिक्री गर्न बाध्य बनेका कृषकले यस वर्ष पाणिनिको पोखराथोकमा शीतभण्डार बनाइएपछि शीत भण्डारमा भण्डारण गरेका छन्। 

अहिले मौसमीरुपमा सस्तो मूल्यमा बेच्नुभन्दा शीत भण्डारमा राखेर बैमौसमी समयमा महँगो दरमा सुन्तला बिक्री हुने भएपछि यहाँका कृषक खुसी भएको अगुवा कृषक चिरञ्जीवी पौडेलको भनाइ छ। विगतका वर्षमा सडेर तथा नष्ट भएर जाने सुन्तला अहिले कोल्डस्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने यहाँका कृषकको योजना रहेको पौडेलले बताए।

यस गाउँका ४९ घरपरिवार व्यावसायिक सुन्तलाखेतीमा लागेका र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक रेवतीराज पौडेलले बताए। उनले आफ्नो बारीमा पाँच सय ५५ बोट सुन्तला रहेको र यसबाट दुई सय ५० क्विन्टलभन्दा बढी फलेको बताए। उनले यस वर्ष सुन्तला बिक्रीबाट रु २५ देखि २८ लाख आम्दानी हुने जानकारी दिए। 

सिम्लेमा मात्र एक गाउँमा ४९ घर कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनीहरुले सबैले सुन्ताल बेचेर कम्तीमा रु तीन लाखदेखि २० लाख सम्म आम्दानी गर्ने गर्छन्। आफ्नो बारीमा पाँच सय ६५ बोट सुन्तला बगैँचामा रहेका कृषक दधीराम गौतमले बताए। उनले भने, ‘गत वर्ष सुन्तला बिक्रीबाट मैले रु नौ लाख आम्दानी गरेको थिए, यस वर्ष सुन्तला बढी फलेकाले रु १४ लाख आम्दानी हुने अपेक्षा गरेको छु।’ 

सिम्लेमा वैदेशिक रोजगारीमा गएका युवा पनि रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। व्यावसायिक सुन्तलाखेतीमा लागेका सिम्लेका हरि पौडेलको बगँैचामा झण्डै पाँच सय सुन्तलाका बोट छन्। ती बोटबाट वार्षिक रु १० देखि १२ लाख आम्दानी हुने गरेको उनले बताए। यस वर्ष शीत भण्डारमा राखेको हुँदा बढी फाइदा हुने उनको विश्वास छ। 

रेवतीराजको बगैँचामा अहिले सुन्तला, कागती, जुनार भारतीय किन्नु जातको सुन्तला, जापनिज उन्सु जातको सुन्तलाका बिरुवा छन्। उनले गत वर्ष मात्र रु पाँच लाखका बिरुवा बिक्री गरेको र यस वर्ष झण्डै रु पाँच लाखका सुन्तला जातका बिरुवा बिक्री गरेर आम्दानी हुने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad