सर्वोच्च अदालतले प्रहरीले यही माघ ८ मा अवैध मेला आयोजना गरेको भन्दै पक्राउ गरेकाहरुलाई रिहा गर्न आदेश दिएको छ।
दुबईको रियलस्टेट कमपनी ड्याम्याकले दुबई प्रोपर्टी मेला आयोजना गरेको थियो। यस किसिमका मेला आयोजना गर्न नहुने राष्ट्र बैंकले बताए पनि आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेकोमा सर्वोच्चले रिहा गर्न आदेश दिएको हो।
अधिवक्ता शकुन भण्डारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिटको सुनुवाइ गर्दै न्यायाधीशद्वय अनिल कुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासले उनीहरुलाई थुनामा राख्नुपर्ने अख्तियार देखाउन नसकेको र कुनै मनासिब कारण पनि नदेखिएकोले रिहा गर्न भनेको हो।
सर्वोच्चको आदेशबाट रिहाइ हुनेमा अफ्ताव हम्जा जसनाइक, काजल रवि अग्रवाल, गुर्चरण सिंह मेहता, अनुभव वर्मा र हर्ष शर्मा रहेका छन्। उनीहरु सबै भारतीय नागरिक हुन्।
फैसलाको पूर्णपाठ आउन समय लाग्ने भएकाले संक्षिप्त आदेशमार्फत उनीहरुलाई रिहा गरिएको हो।
सर्वोच्चले उनीहरुलाई पक्राउ गर्ने, हिरासतमा राख्ने तथा म्याद थपजस्ता कार्य नेपालको संविधानको धारा १७ तथा २० को उपधारा ४ र ९ अनुरुप नदेखिएको, अनिवार्य रुपमा पालना गर्नुपर्ने कार्यविधिको पालना नगरी थुनामा राखेको देखिन आएको सर्वोच्चले उल्लेख गरेको छ।
प्रतिक्रिया