पूर्वी पहाड र तराईका जिल्लाहरूबाट काठमाडौँ आवतजावत सहज हुने भएको छ।
सूर्यविनायक-धुलिखेल सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले यात्रुहरुलाई सहज हुने भएको हो।
यो खण्डको सडक अब ६ लेनमा विस्तार हुनेछ। यसले यात्रा पनि सहज बन्नेछ। समयमै काम नसकिँदा १५.८ किमिको यो खण्डमा यात्रुले सास्ती खेप्दै आएका थिए।
निर्माणसम्पन्न भएपछि वर्षौँदेखि झेल्दै आइरहेको सास्ती कम हुने आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिए।
काठमाडौँ उपत्यकालाई पूर्वी पहाड र तराईसँग जोड्ने यो नै मुख्य प्रवेशद्वार हो।
यसलाई सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ।
सूर्यविनायकदेखि साँगासम्म ७.५ किमि लम्बाइ छ। यस खण्डमा ३ अर्ब ८८ करोड ९३ लाख रुपैँया लाग्ने अनुमान छ। त्यस्तै ८.३ किमि लम्बाइको साँगादेखि धुलिखेलसम्म ४ अर्ब ५ करोड ६४ लाख लाग्ने अनुमान छ।

सूर्यविनायकदेखि साँगासम्म आशिष-कुमार श्रेष्ठ-बन्दन भगवती जेभीले निर्माण गरिरहेको छ भने साँगादेखि धुलिखेलसम्मको काम लामा कन्ट्रक्सनले गरिरहेको छ।
दुई खण्डमध्ये साँगा-धुलिखेलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ।
सूर्यविनायक-धुलिखेल विस्तार आयोजनाअन्तर्गत साँगामा अन्डरपास पनि निर्माण भइरहेको छ। ग्रेड कम्पेन्सेसन अवधारणाअनुरुप अन्डरपास राखिएको र सोही अवधारणामा विस्तृत डिजाइन तयार गरी निर्माण सुरु गरिएको इन्जिनियर खनाल बताउँछन्।
‘पहिलो पटक नेपाली इन्जिनियरको सुपरभिजन र डिजाइनमा निर्माण भइरहेको यो अन्डरपासको ९५ प्रतिशत काम सकिइसकेको छ ’, उनले नेपालखबरसँग भने।

भौगोलिक बनावटका कारण काठमाडौँबाट आउने सवारीसाधनको उचाइ व्यवस्थापन गर्न ग्रेड कम्पेन्सेसन आवश्यक परेकाले अन्डरपास निर्माण गर्नुपरेको उनी बताउँछन्।
उनका अनुसार यसले साँगास्थित मन्दिर जाने यात्रुलाई पनि सहज आवतजावतमा सहयोग पुर्याउने छ। यस सडकमा जगाती खोला, महादेव खोला र पुण्यमाता खोला गरी तीन स्थानमा चार लेनको पुल निर्माण हुँदै छन्।
महादेव खोलामा एउटा स्ल्याबको कास्टिङ सम्पन्न भइसकेको छ भने अर्कोको तयारी भइरहेको छ। पुण्यमाता र महादेव खोलामा पुलको डिजाइन स्वीकृत भइसके पनि फाउन्डेसन खन्ने क्रममा वर्षाले काम प्रभावित भएको छ। अब बर्खा सकिएलगत्तै पुल निर्माणले थप गति लिने आयोजनाको तयारी छ।

सूर्यविनायकदेखि साँगासम्मको ७.५ किमि सडकमा करिब २ हजार ५ सय मिटर डिभाइडरसहित कालोपत्रे सम्पन्न भइसकेको छ। उता साँगादेखि धुलिखेल खण्डको ३ किमिमा ६ लेनको कालोपत्रे सम्पन्न भएको छ।
थप ४ किलोमिटरमा १० मिटर चौडाइको एकतर्फी डिभाइडर कालोपत्रे सकिएको छ भने बाँकी एक किलोमिटरमा कालोपत्रेको तयारी भइरहेको इन्जिनियर खनाल बताउँछन्।
त्यस्तै सर्भिस लेन र मुख्य लेनको अर्को भागमा अहिले सब-बेस र सीसीभीटीको काम धमाधम भइरहेको छ।

यो आयोजना २०७९ सालमा ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको थियो।
तर, बिजुलीका पोल, ढल, खानेपानी स्थानान्तरण, मुआब्जासम्बन्धी समस्या, करिब १०० वटा घरटहरा हटाउने प्रक्रिया, बजेट अभाव र अन्य प्राविधिक चुनौतीका कारण निर्माण कार्य समयमै सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।
त्यसैले आयोजनाको म्याद १ वर्षका लागि थप गरिएको छ।
यस वर्ष असारसम्म त्यति पानी नपरेकाले निर्माण कार्यले राम्रो गति लिएको थियो।

आयोजनाका अनुसार अहिले पनि पानीले असर नगर्ने कामहरू निरन्तर भइरहेकै छन्। आयोजना स्थलमा बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म नियमित काम भइरहेका छन्।
निर्माणका क्रममा सुरुवातमा विशेषगरी पुण्यमाता पुलको उचाइलाई लिएर केही समय स्थानीयबाट विरोध भएको थियो। तर अहिले ती विवाद समाधान भइसकेको छ।
हाल समग्र आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ। साँगा-धुलिखेल खण्ड आउँदो मंसिर २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ। थप एक–दुई महिनामा सडक पूर्ण तयार हुने खनाल बताउँछन्।
थप तस्बिर (सरोज नेपाल)






प्रतिक्रिया