ad ad

कारोबार


नाडाको ४६औँ वार्षिक साधारणसभा सम्पन्न

अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा : थापा
नाडाको ४६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपालखबर
माघ २९, २०७९ आइतबार १७:३४, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारणसभा काठमाण्डौमा सम्पन्न भएको हो। 

सो साधारणसभाका प्रमुख अतिथि पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए। 

नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरुलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाइको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अहिले यातायातको लागि सवारी साधन सबैको लागि आवश्यक बन्दै गएको बताए। 

आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भएको भन्दै उपप्रधानमन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसा समेत गरे। 

उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइने बताए। स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाण्डौमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताए।

सभामा बोल्दै उपप्रधान मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट रुपमा औँल्याउँदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको वस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रमअनुसार एक पटकको विलासी वस्तु सधैँको विलासी नहुने धारणा व्यक्त गरे। 

यसैक्रममा उनले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्। उनले दु्रत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औँल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने समेत बताए। आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेलले बताए।

अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा : थापा
सो साधारणसभालाई स्वागत गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताए। 

यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ। थापाले सरकारको बुझाइमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारीसाधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत सुरुवात भइसकेको, ब्याट्री र टायरट्युबलगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोबाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए। 

राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताए। 

अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको बताए। अध्यक्ष थापाले नेपालमा औद्योगिक विकास र समृद्धिको लागि समेत यातायातको भुमिका महत्वपूर्ण हुने बताएा। कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने थापाको बुझाइ छ। थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी ल्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन्।

सभाका विशिष्ट अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सङ्कुचित हुँदै गएको बताउँदै यसबाट राजस्व खुम्चिने र रोजगारी घट्ने तर्क प्रस्तुत गरे। नेपाल राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा केही सकारात्मक विषयहरु रहेको बताउदै अध्यक्ष गोल्छाले अहिलेका अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएको बताए। साथै उनले भावी अर्थतन्त्रलाई बलियो बनाउनको लागि राज्यले पनि केही जोखिम लिन तयार हुनु पर्ने धारणा राखेका थिए। 

सो सभाका विशेष अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र सँगसँगै मिलेर जान सकेको खण्डमा मात्र हाम्रो समृद्धिको लक्ष्य पूरा हुन सक्ने बताउदै अहिले सरकारलाइ धेरै निकायमा विभिन्न शीर्षकमा कर तिर्नुपर्ने स्थितिले व्यवसायीलाइ सास्ती भएकोले एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्नुपर्ने माग गरेका थिए। 

त्यसैगरी सो सभाका विशेष अतिथि तथा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले व्यवसायीहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रमहरु ल्याउनु पर्ने माग गर्दै अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको अटोमोवाइल क्षेत्र अघि बढन नसके देश अघि बढन नसक्ने बताए।   

सोही सभाका विशेष अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयास गर्न सरकार तयार नहुने स्थितिप्रति गुनासो गरेका थिए। 

सो साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो। नाडाका केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालले सञ्चालन गरेको उक्त साधारणसभामा ३४औँ अंकको नाडा अटोमोवाइल ट्रेड डाइरेक्टरी २०२३ समेत सार्वजनिक गरिएको थियो। सो साधारण सभाको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .