ad ad

कारोबार


सुनकोशी मरिनको प्रगति : ४ महिनामै खनियो ३ किमि सुरुङ

६ महिनामै सकियो १ वर्षको बजेट, थप ४ अर्ब ३७ करोड माग
सुनकोशी मरिनको प्रगति : ४ महिनामै खनियो ३ किमि सुरुङ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना। तस्बिर : मित्र बराल/फेसबुक


वसन्त अर्याल
फागुन १, २०७९ सोमबार १७:२३, काठमाडौँ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना निर्माणले तीव्र गति लिएको छ। आयोजनाको समयतालिकाभन्दा पनि छिटो काम भएपछि ७ महिनामै पूरा बजेट खर्च भएको हो। 

चालू आर्थिक वर्षमा २ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको थियो। 

काम छिटो भएकाले चालू आवको बजेट सकिएको हो। त्यही कारण आयोजनाले साढे २ महिनाअघि थप बजेट माग गरेको बताएको छ।  

‘हाम्रो बजेट करिब सकिएको छ। अर्धवार्षिक समीक्षा सकियो अब राष्ट्रिय गौरवको आयोजनालाई थप बजेट छुट्याइएला’, आयोजना प्रमुख मित्र बरालले भने, ‘हामीले थप ४ अर्ब ३७ करोड रुपैयाँ माग गरेका छौँ। सायद अब बजेट आउला।’

यो वर्ष ६ महिनामै आयोजनाले ८८ प्रतिशत भौतिक प्रगति गरिसकेको छ। 

आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान छ। आर्थिक वर्ष २०७८/०७९ सम्म आयोजनाले ४ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको थियो।  

आयोजना २०७३/०७४ मा सुरु भए पनि शिलान्यास २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। गत असोज २८ गते ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसाल टीबीएम मेसिनबाट काम सुरु गर्न आयोजनास्थलमै पुगेकी थिइन्। 

४ महिनामै खनियो ३ किमि सुरुङ
मेसिनले पछिल्लो ४ महिनामै ३ हजार मिटर (३ किमि) बढी सुरुङ खनिसकेको छ। कुल सुरुङ १३ किमि लामो छ। 

भेरी बबईको समयअगावै काम सकेको चाइना ओभरसिजले सुनकोशी मरिन डाइभर्सनको ठेक्का पाएको छ। आयोजनाले टीबीएम मेसिन जडान र तयारीमा बढी समय लाग्ने अनुमान गरेको थियो।

‘निर्माण व्यवसायीले ढिला नगरी काम गर्दा परिणाम राम्रो देखिएको छ’, प्रमुख बरालले भने, ‘हामीले आशा गरेभन्दा अलि छिटो काम गरिरहेको छ।’

सुरुङमार्गबाट निकाल्ने विद्युत् घरको काम पनि अघि बढिसकेको उनले जानकारी दिए। 

आयोजनाको हालसम्म ३ हजार ५० मिटर सुरुङ खनिसकिएको छ भने जटिल भौगर्भिक अवस्था आइरहेको आयोजनाको भनाइ छ। महाभारत पर्वत शृंखलामा अलि कडा चट्टान हुने र मेसिनले खन्न समय लाग्ने अनुमान गरिएको छ।   

‘अहिलेकै अवस्थामा सुरुङमार्ग खनिए १७ महिनामा काम सकिन्छ’, उनले भने, ‘दैनिक २७–२८ मिटरको रेञ्जमा खन्ने काम भइरहेको छ।’

आयोजनामा केही समयअघि भौगर्भिक समस्याले टीबीएम मेसिन ९ दिन चल्न सकेको थिएन। आयोजनाले त्यसको समाधान गरी काम अघि बढाइसकेको छ। सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो। 

सुरुङमार्ग समयअगावै सकिने, पावर हाउसलाई समय लाग्ने
सुरुङमार्ग खननले तीव्रता लिइरहँदा पावर हाउस निर्माणको पनि ठेक्का लागिसकेको छ। त्यसको काम पनि सुरु भइसकेको आयोजनाले बताएको छ। 

भेरी बबईमा टीबीएम मेसिन प्रयोग गरी सुरुङ खनिसक्दा हेडवर्क्स, पावर हाउस निर्माणको ठेक्का नै लागेको थिएन। आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। 

‘भेरी बबईमा सुरुङ खनिसक्दा हेडवर्क्स बनाउन टेन्डर नै आह्वान भइसकेको थिएन’, उनले भने, ‘भेरी बबईमा काम गरेको ठेकेदार भएकाले निर्माण समयतालिकाभन्दा अघि छ। सुरुङ छिट्टै सकिन्छ, हेडवर्क्सलाई केही समय लाग्छ।’

सुनकोशी जटिल किसिमको नदी भएकाले हेडवर्क्स बनाउन ४ वटा सुख्खा समय लाग्ने बरालको भनाइ छ। टनेलअघि नै सकिने र पावर हाउस बन्न समय लाग्ने उनले बताए। हेडवर्क्स, पावर हाउस, सर्जसाफ्ट बनाउन २ महिनाअघि सम्झौता भएको थियो। आयोजनाको अवधि ४ वर्ष ७ महिना छ।  

सिँचाइको डीपीआर तयार हुँदै 
आयोजनाले १ लाख २२ हजार हेक्टर सिँचाइ गर्ने उद्देश्य छ। जसमा सिन्धुली, रामेछाप, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा सिँचाइ सुविधा विस्तार हुँदै छ। 

सिँचाइको काम बागमती आयोजनाले हेर्छ। सुनकोशीको पानी ल्याएर मरिनमा खसाउने हुँदा त्यहाँ विद्युत् उत्पादन हुन्छ। त्यही पानीलाई बागमतीमा पानी थप गर्दै बागमती ब्यारेजबाट पूर्वी र पश्चिम नहरमा जाने आयोजनाको भनाइ छ। त्यसको लागि अहिलेको प्रणालीलाई विस्तार गर्नुपर्नेछ। 

बागमती सिँचाइ आयोजनाले परामर्शदाता नियुक्त गरी डीपीआर बनाउन सुरु गरिसकेको छ। डीपीआर बन्नेबित्तिकै बागमती आयोजनाले ठेक्का लगाउन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .