ad ad

कारोबार


कसरी हुन्छ ग्यास चुहावट र सिलिन्डर विस्फोट?

‘९० प्रतिशतले रेगुलेटर नै बन्द गर्दैनन्’
कसरी हुन्छ ग्यास चुहावट र सिलिन्डर विस्फोट?

ग्यास सिलिन्डरहरु (इन्सेटमा ग्यास उद्योगी कुशप्रसाद मल्ली)


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १५:३, काठमाडौँ

बुधबार राति १० बजे नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भयो। 

उक्त विस्फोटमा आमाछोरा दुवै घाइते भए। गम्भीर घाइते भएकी आमा हरिकला भण्डारीको निधन भइसकेको छ भने सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाइएको छ।  

भण्डारी गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद हुन्। 

हरेकजसो घरमा ग्यासको प्रयोग हुने हुँदा यो घटनाले ग्यास सिलिन्डरले घरमा निम्त्याउनसक्ने सम्भावित जोखिमबारे उपभोक्ता जानकार र सचेत हुनुपर्ने देखिएको छ। 

एलपी ग्यास उद्योगीका अनुसार नेपाली बजारमा १ करोड २५ लाख ग्यास सिलिन्डर छन्। हरेक महिना नेपालमा ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ। त्यो भनेको करिब १ लाख सिलिन्डर हो।

ग्यासको उपभोग बढ्दै जाँदा बेला–बेला ग्यास लिक भएर आगलागी र विस्फोट भएका घटना पनि उत्तिकै आइरहेका छन्। सांसद भण्डारीको घरमा भएको विस्फोट पछिल्लो उदाहरण हो। 

कसरी परिन्छ जोखिममा? 
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्ली ग्यास चुहावट र विस्फोटमा उपभोक्ता बढी सचेत हुनुपर्ने औँल्याउँछन्। 

किनभने उनीहरु नै बढी ग्यासको प्रयोग गर्छन्। केही पकाइहाल्नुपरे भान्सामा सबैभन्दा पहिलो काम नै ग्यास बाल्ने हुन्छ। त्यसकारणले पनि ग्यास चुहावटमा उपभोक्ताको हात धेरै हुन्छ। 

त्यसबाहेक ग्यास तथा रेगुलेटरको अवस्था पनि जोडिने उनी बताउँछन्। 

उनका अनुसार एलपी ग्यास अत्यधिक प्रज्वलनशील हुन्छ। सोही कारण यसको प्रयोग अति सचेत भएर मात्रै गर्नुपर्छ। तर नेपालमा बढी लापरबाही हुने गरेको उनको भनाइ छ। 

‘९० प्रतिशतले रेगुलेटर नै बन्द गर्दैनन्’
मल्ली प्रयोग सकिसकेपछि ग्यास बन्द गर्दा अनिवार्यरुपमा रेगुलेटर बन्द गर्नुपर्ने बताउँछन्। 

‘तर ९० प्रतिशत नेपालीले चुल्होको स्विच मात्रै बन्द गर्छन्’, उनले भने, ‘त्यो सबैभन्दा गलत काम हो।’

अर्कोचाहिँ ग्यास खुलै छोड्ने गरेको पनि पाइने गरेको उनी बताउँछन्। 

‘कुनै पनि ग्यास उपभोक्तालाई खुल्लै छोड्न त छुट नै छैन किनकि त्यसले त दुर्घटना भएरै छाड्छ’, मल्लीले भने। 

यस्ता घटना ग्यास सिलिन्डरको लापरबाहीको कारण पनि हुने उनले बताए। तर विगत ७ वर्षदेखि ग्यास सिलिन्डरको गुणस्तरमा सुधार आएको उनको भनाइ छ। 

मल्ली भन्छन्, ‘७ वर्षदेखि सबै ग्यास उद्योगीहरुले गुणस्तर प्रमाणित हुन सफल भएका छन्। नेपाल सरकारले गुणस्तर प्रमाणित गरेका सिलिण्डरहरु मात्रै बजारमा रहन्छन्। त्यसकाणरले ग्यास सिलिन्डरमा धेरै समस्या अहिले छैन।’

अहिले अधिकांश उद्योगहरुमा स्वचालित प्रणालीबाट ग्यास भरिन्छ भने सिलिन्डर सफा पनि स्वचालित प्रणालीबाटै हुन्छ। त्यसो हुँदा सिलिन्डरको गुणस्तर समस्या हटे पनि रेगुलेटरमा भने समस्या नरोकिएको उनी बताउँछन्। 

बजारमा गुणस्तरहीन रेगुलेटर 
मल्ली नेपाल–भारत खुल्ला सिमाना रहेकोले बजारमा गुणस्तरहीन रेगुलेटर भित्रिँदा पनि समस्या आएको बताउँछन्। यसले ग्यास लिक हुने समस्याहरु देखिँदै आएको उनको दाबी छ। 

दुर्घटनाको रोकथामको लागि भने गुणस्तरहीन रेगुलेटरहरुको आयातमै कडाइ गर्नुपर्ने उनी बताउँछन्। त्यस्तै ग्यास सिलिन्डर प्रयोगबारे जनचेतना फैलाउन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ। 

अत्यधिक प्रज्वलनशील वस्तुको प्रयोग गर्दा धेरै ध्यान दिनुपर्ने भएकाले सरकारले समेत ध्यान दिनुपर्ने मल्ली बताउँछन्। लिक भएको खण्डमा के गर्ने, लिक नै हुन नदिन के गर्ने भन्ने विषय सबैले जान्नुपर्छ।  

बुधबारको घटनाको प्रकृति हेरेर आशंका गर्ने ठाउँ धेरै रहेको मल्लीको भनाइ छ। 

ग्यास लिक भएको विषय प्रहरीले समेत भनिरहेको छ। प्रारम्भिक अध्ययनमा भण्डारीको घरमा अँध्यारो कोठामा चुहावटसँगै ग्यास भरिएको र बिजुली बत्ती बाल्दा विस्फोट भएको हुनसक्ने देखिएको छ। 

मल्ली पनि ग्यास भरिएको कोठामा बत्ती तथा टर्च मात्रै बाल्दा पनि आगो लाग्न सक्ने बताउँछन्। 

यही कारण सांसद भण्डारीको घरमा ग्यास पड्किएको हुनसक्ने मल्लीको भनाइ छ। 

उनले भने, ‘बत्तीमा आँखाले देख्न नसक्ने स्पार्कहरु हुन्छन्, त्यसले आगो लगाउने काम गर्छ। ग्यास उद्योगहरुले स्पार्कलेस बत्तीहरु प्रयोग गर्ने गर्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .