कारोबार


विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने निगमका न्यारोबडीका २ पाइलटलाई उडानमा रोक

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने निगमका न्यारोबडीका २ पाइलटलाई उडानमा रोक

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १६:४५, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्यहरुलाई तत्काल उडानमा रोक लगाउन निर्देशन दिएको छ। 

प्राधिकरणले गत साउन १२ मा मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडानको क्रममा विमान परिचारिकामाथि दुर्व्यवहार भएको जनाएको हो। 

सो कार्यमा संलग्न सबै सक्रिय सदस्यलाई तत्काल उडानमा रोक लगाउन प्राधिकरणले निगमलाई आज निर्देशन दिएको हो। 

प्राधिकरणका अनुसार निगमको उडान संख्या आरए-४१६ का चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको हो।

प्राधिकरणले जारी गरेको विज्ञप्ति

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले घटनामा कति जना संलग्न थिए भन्ने खुलाएनन्। 

उनले भने, ‘दुर्व्यवहारमा जो जो संलग्न थिए ती सबैलाई कारबाही गर्न निर्देशन दिएका हौँ। कति जना संलग्न थिए त्योचाहिँ निगमले नै छानबिन गरेर कारबाही गर्छ।’ 

यद्यपि निगम स्रोतले भने घटनामा चार जनामाथि आरोप लागेको जानकारी दियो। 

स्रोतले भन्यो, ‘यो पुरानो घटना हो। ४ जना चालक दलका सदस्य संलग्न भएको भन्ने छ। मुख्य कुरा यही हो। थप अनुसन्धानपछि अब नेतृत्वले के गर्छ थाहा होला।’

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार उक्त दिन न्यारोबडी जहाजको उडानका क्रममा सो घटना भएको हो। यसमा मुख्य पाइलट र कोपाइलट दोषी रहेको ती अधिकारीले बताए। 

पाइलट र कोपाइलटले कुनै गलत कुरा गर्दा उडानमा सुरक्षा जोखिम बढ्ने बताउँदै उनले निगमलाई छानबिन गरेर प्रतिवेदन नबुझाउँदासम्म उडान गर्न नदिन निर्देशन दिएको बताए। 

‘न्यारोबडी जहाज हो, त्यसमा पाइलट र कोपाइलट हुन्छ। त्यसमा परिचारिकाबाहेक क्याबिन एटेन्डेन्ट पनि हुन्छन्। केटाहरु पनि हुन्छन्’, उनले भने,  ‘मुख्यचाहिँ २ जना हो अरु अब को को संलग्न छन् कारबाही गर्न भनेका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .