नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको बताएका छन्।
उनले अहिले सेयर बजारको परिसूचक किन घटिरहेको छ भनेर प्रश्न आइरहेको बताए। यस विषयमा देशभित्रको अवस्था हेरेर मात्रै नहुने उनको भनाइ छ।
पुँजीबजारको विषयमा रिपोर्टिङ गरिरहेका आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रममा नेप्से सीईओ कार्कीले भने ‘कोरोना महामारी, रुस–युक्रेन युद्धलगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ। त्यसको असरले नेपाली अर्थतन्त्र पनि प्रभावित भएको छ। फलस्वरुप सेयर बजारको परिसूचक घटेको छ।’
यसैगरी नेप्सले आगामी दिनमा नाफिजसँगको सहकार्य अझै दरिलो र सुदृढ बनाउने पनि उनले बताए।
यस्तै, सीडीएस एन्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले पुँजीबजारका लागि केन्द्रीकृत ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) लागू गर्ने तयारी भइरहेको बताए।
‘लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झट भइरहेको छ। साथै खर्च पनि उत्तिकै मात्रामा भएको छ’, उनले भने, ‘सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजीबजारभित्रको कुनै एक निकायमा केवाईसी भरेपछि, अर्को ठाउँमा केवाईसी भर्न नपर्नेगरी नयाँ प्रविधि ल्याउने तयारी गरीरहेका छौँ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि यो लागू हुनेछ।’
उनले अक्सन मार्केट सञ्चालन गर्न कार्यविधि बनाएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि कागजात पेस गरिएको पनि जानकारी दिए।
‘अक्सन मार्केट कार्यविधि सञ्चालनसम्बन्धी धितोपत्र बोर्डमा पेस गरे पनि स्वीकृति हुन ढिलाइ भएको हो। त्यसैले यसमा केही गाह्रो पनि भएको छ’, उनले भने, ‘उक्त कार्यविधि स्वीकृत भएर आएपछि अक्सन मार्केट पनि सञ्चालन हुनेछ।’
यस्तै पुँजीबजारमा गर्नुपर्ने काम अझै पनि धेरै रहेको उनले बताए। साथै सम्भावना पनि उत्तिकै मात्रामा रहेको उनको भनाइ छ। ‘पुँजीबजारमा नयाँ-नयाँ आयाम ल्याउने विषयमा सम्भावना धेरै छ। हामीले गर्न पनि खोजेको छौँ। तर, विभिन्न चुनौती आइरहेका छन्’, उनले भने, ‘तसर्थ यसमा मिडियाबाट पनि सहयोगको अपेक्षा गरेका छौँ।’
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीहरुले लगानीकर्ताको भुक्तानी समयमा गरिरहेको बताए।
‘नेपालको पुँजीबजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुदाँ पनि ब्रोकर कम्पनीहरुले सहज रुपमा समयमै राफसाफ गरेका थिए। तर, अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर विभिन्न आक्षेप पनि लाग्ने गरेका छन्’, उनले भने, ‘सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदासमेत ब्रोकरले भुक्तानीमा ढिलाइ गरेका छैनन्, यो बुझ्न आवश्यक छ। विदेशमा कतिपय ब्रोकर कम्पनीहरु राफसाफ नगरेर भागेको इतिहास छ। तर, नेपालीको हक आजसम्म प्राविधिक कारणले बाहेक कुनै पनि सेयर कारोबारको राफसाफ नभएको इतिहास छैन।’
यसैगरी सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट नहुँदा ब्रोकरहरु मारमा परेको उनको भनाइ छ।
Shares
प्रतिक्रिया