रुपन्देही सैनामैनाका भुपराज बस्याल धेरै वर्षसम्म कृषिकार्य गर्न घरमै हल गोरु पाल्ने गर्थे। खनजोतमा धेरै पसिना बगाएपछि मात्र उनको खेतमा धान झुल्थ्यो।
अहिले भने उनले पहिलेजस्तो श्रम गर्नुपरेको छैन। १३ वर्षअघि ट्रयाक्टर किनेपछि खेतीपातीमा उनको दुःख कम भएको छ। उनले २०६६ मा पहिलोपटक ट्रयाक्टर किनेका हुन्।
अहिले उनीजस्तै धेरै हल गोरु पाल्ने किसानहरु ट्रयाक्टरमा निर्भर छन्।
त्यसो त बस्यालले ट्रयाक्टर किन्दा पनि उनको तिर ट्रयाक्टरबाट जोत्ने प्रचलन सुरु भइसकेको थियो। तर गाउँमा धेरै ट्रयाक्टर थिएनन्। कतिपयले हलगोरुमार्फत पनि काम गराउँथे।
‘पहिले घर–घरमा हल गोरु हुन्थ्यो। ट्रयाक्टरको प्रचलन आएपछि मान्छेहरुले गोरु पाल्न छोडे’, बस्याल सुनाउँछन्, ‘विस्तारै ट्रयाक्टरहरु बढ्दै गए। गोरुको काम त अहिले बन्द भइसक्यो।’
गोरुको ठाउँ ट्रयाक्टरले लिएपछि कृषक दङ्ग छन्। थोरै समयमा धेरै काम गर्न सक्छन्। गोरुले जोत्दा लागत पनि बढी हुने किसानहरुको अनुभव छ।
‘एक दिनको हलगोरुसहितको जोताइमा दिनको दुई हजार रुपैयाँ हुन्छ। त्यही जोताइ ट्रयाक्टरबाट बढीमा एक हजार रुपैयाँमा हुन्छ’, बस्यालले सुनाए।
हरेक काममा ट्रयाक्टरको साथ
जोताइमा मात्र होइन, पहिले किसानहरु धान ठटाएर गोरुले दाइँ लगाउने गर्थे। अहिले त्यसमा पनि परिवर्तन आइसकेको छ।
विस्तारै ट्रयाक्टरको चक्काले धान दाउन थालिएको छ। धान दाउने थ्रेसर राखेपछि सुरुमा किसानहरुको मन गएन। तर पछि एक–दुई जना किसानहरुले थ्रेसरबाट धान दाउन थालेपछि अरुले पनि प्रयोग गर्न थाले।
अहिले एक भारी धान भए पनि कसैले धान आफैँ ठटाउँदैनन्। थ्रेसिङ नै प्रयोग गर्छन्।
पहिले पहिले घरका परिवार र ज्यामी लगाएर धान झारिन्थ्यो। २ जना ज्यामीले दिनभर १० मुरी धान झार्दैनथे।
दुई जना ज्यामी लगाउँदा हजार रुपैयाँ लाग्थ्यो। तर अहिले १० मुरी धान थ्रेसरबाट बढीमा १५ मिनेटमै दाइन्छ।
अहिले तीन–चार जना किसानको धान एक घण्टामै दाउन सकिन्छ। तीन चार घरकाले एकै छिन अर्मपर्म गरे मात्र पुग्छ। छुट्टै खेताला खोज्न परेन।
बस्यालले २०७३ सालमा धान काट्ने मेसिन ल्याएर अहिले पनि राम्रैसँग चलाइरहेको बताए।
‘विगतमा हलगोरु र खेतालाबाट हुने धेरै काम अहिले ट्रयाक्टरबाट भएको छ’, बस्याल सुनाउँछन्।
‘केही घण्टामै बिघौँ जग्गा जोत्न सहज भएको छ’
यता बस्यालजस्तै जनकपुरधाम उपमहानगरपालिका बसहियाका भरत यादव विगत ३० वर्षदेखि खेतीपाती गर्दै आइरहेका छन्। उनी बसहियामा १ बिघा जग्गामा खेतीपाती गर्छन्।
उनले पनि खेतीपातीमा सहयोग र आर्थिक रुपमा बचत पनि हुने देखेर ७ वर्षअगाडि ट्रयाक्टर किने।
५० वर्षीय यादवलाई ९ लाख रुपैयाँको ट्रयाक्टर किन्न ४ कठ्ठा जग्गा नै बेच्नुपरेको थियो।
भनेजस्तो काम र कमाइ नपाएपछि बढ्दो खर्चलाई हेर्दै अहिले ट्रयाक्टर बेच्ने मनस्थितिमा पुगेका छन् यादव। यसका बाबजुद खेतीपातीमा यसको प्रयोगले फाइदा हुने उनी सुनाउँछन्।
‘ट्रयाक्टरबाट खेतीपाती गर्दा अब केही घण्टामै बिघौँ बिघा जग्गा जोत्न सहज भएको छ’, यादवले भने।
त्यस्तै ट्रयाक्टर आएपछि कामदारमा लाग्ने खर्च समेत बचत भएको उनको भनाइ छ।
यता नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ट्रयाक्टर तथा कृषि उपकरण समितिका सभापति वरदान बस्नेत बढी ट्रयाक्टर तराईमा खेतीपाती र ढुवानीकै लागि प्रयोग हुने बताउँछन्।
‘ट्रयाक्टरमा थप मेसिन सहजै जडान गर्न सकिन्छ। धान रोप्ने वा काट्ने त्यसैअनुसारको मेसिन जोडिन्छ’, बस्नेतले भने, ‘उखु बोक्दा टेलर जोडेर ढुवानी गर्छन्।’
आफैँ खरिद गर्न नसक्नेलाई सामूहिकताले फाइदा
त्यसो त ट्रयाक्टर प्रयोगका धेरै फाइदा छन्। यसलाई स्वरोजगार व्यवसाय र सामूहिक व्यवसायको रुपमा प्रयोग गर्न सकिन्छ।
नेपालमा परिवारको कुनै सदस्य विदेशमा भए ट्रयाक्टर किन्दा आफ्नो र छिमेकीको लागि फाइदा हुने भन्दै खरिद गर्ने चलन बढिरहेको छ। त्यसबाहेक सामूहिक वा सहकारीमार्फत ट्रयाक्टर खरिद गरी किसानले प्रयोग गरिरहेको पनि देखिएको छ।
साना किसान सहकारीका पूर्वअध्यक्ष नारायण क्षेत्री साना किसानलाई व्यावसायिक रुपमा उत्पादन गर्न सहकारीले नै ट्रयाक्टरको प्रोत्साहन गरेको बताउँछन्।
सहकारीले एकीकृत कृषि सेवा केन्द्र स्थापना गरी ट्रयाक्टरको प्रयोगलाई सहज बनाएको उनले सुनाए।
क्षेत्रीका अनुसार ट्रयाक्टर र एसेसरिज जस्तै टेलर, हार्भेस्टर, रोलाभेटर खरिद गरी कृषियन्त्र प्रयोग गर्न सहकारीले प्रोत्साहन गरेको थियो।
‘ट्रयाक्टर मुख्यगरी तराईको लागि वरदानजस्तै भएको छ’, बारा जिल्लाका क्षेत्रीले थपे, ‘पहिलाको गोरु, पाडाले जोत्ने व्यवस्था पूर्ण रुपमा विस्थापित भएको छ।’
धान, गहुँ, मकै, तोरी, मसुरो रोप्ने, काट्ने, झाँट्ने र ढुवानी गर्न ट्रयाक्टर उपयोगी भएको छ। श्रमिकको खर्चलाई ट्रयाक्टरले धेरै घटाएको उनी स्वीकार्छन्।
‘कृषकको श्रमिक लागत घट्यो। युवा विदेश जाँदा श्रमिक नपाउने समस्यालाई पनि सहयोग ग¥यो’, उनले भने, ‘कृषि व्यवसायको लागि ट्रयाक्टर वैकल्पिक साधन बनेको छ।’
सिजनमा एउटा ट्रयाक्टरले ४० देखि ५० बिघासम्मको काम गर्छन्। खेती लगाउने र खेती थन्क्याउने समयमा किसानले ट्रयाक्टरको बढी प्रयोग गर्छन्। व्यवस्थापन राम्रो गर्नसके सहकारीमार्फत प्रयोग गर्दा कृषकलाई बढी फाइदा हुन्छ।
नाडा कार्यसमिति सदस्य बस्नेत कृषिक्षेत्रको यन्त्रीकरण बढ्दै जाँदा ट्रयाक्टरको प्रयोग अझै बढ्नेमा ढुक्क छन्।
बहुउद्देश्यीय साधन ट्रयाक्टर
ट्रयाक्टर आफैँमा बहुउद्देश्यीय प्रयोगको साधन हो। यसमा थुप्रै आवश्यकीय औजार जोड्न र थप्न सकिन्छ। अर्थात् जुन काम गर्न खोजिँदै छ त्यहीअनुसार मेसिन जोड्न सकिन्छ।
ठूला प्लटमा व्यावसायिक खेती गर्नेलाई त ट्रयाक्टर नभई हुँदैन।
‘घाम नलागेको बेला ट्रयाक्टरमा ड्रायर जोडेर चिसो मकै, धान सुकाउने काम गर्न सकिन्छ’, क्षेत्री भन्छन्, ‘पराल, ढोड काटेर पशुदाना बनाउन ट्रयाक्टरमा जोडिएको मेसिनबाटै काम हुन्छ।’
चालक र प्राविधिकको सहयोगमा खेतबाट सिधै बाली भित्र्याउन सकिने सुविधादेखि ट्रयाक्टरले खेतीपातीको जग्गा सम्याउने, माटो बोक्नेलगायत सबै काम गर्छ। यस अर्थमा ट्रयाक्टर बहुउद्देश्यीय साधनको रुपमा प्रयोग भइरहेको छ।
कृषि उत्पादनबाहेक पनि ट्रयाक्टरको प्रयोग सिजनअनुसार फरक–फरक काममा गर्न सकिन्छ। ढुंगा, गिट्टी, बालुवा, सिमेन्ट ढुवानीमा पनि ट्रयाक्टर प्रयोग हुन्छ।
बस्नेतले खेतीपातीको लागि पानी पम्पिङ गर्नेदेखि उखुबारीबाट उद्योगसम्म ढुवानीको लागि समेत ट्रयाक्टर प्रयोग भइरहेको बताए।
पहाडका नयाँ बाटोमा फोरह्विल ट्रयाक्टर
ट्रयाक्टर विभिन्न साइज, आकारमा किन्न पाइन्छ। नेपालमा वार्षिक करिब ७ हजार ट्रयाक्टर खपत हुने गरेको छ। राम्रो बिक्री हुँदाको वर्ष ९ हजारसम्म बिक्री भएको बिक्रेता कम्पनी बताउँछन्।
‘बाटोको अवस्थाका हिसाबले नयाँ बाटोमा फोरह्विल ट्रयाक्टर जान्छन्’, महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडका डेपुटी डाइरेक्टर समेत रहेका बस्नेतले भने।
पहाडी क्षेत्रमा अस्थायी रुपमा ट्रयाक्टर प्रयोग हुने गरेको उनले बताए। पहाडमा ठूला कान्ला हुँदा हाते ट्रयाक्टर लोकप्रिय भइरहेको उनको भनाइ छ।
मधेशका ठूला फाँटमा हिजोआज ट्रयाक्टर नै प्रयोग हुन थालेका छन्। सामान्यतया ट्रयाक्टर १० वर्ष चल्छन्।
Shares
प्रतिक्रिया