दालको रुपमा खाने गरिएको मसुरो नेपालले कुनै बेला विश्वकै धेरै उत्पादन गर्थ्यो।
७ वर्ष अघिसम्म पनि विश्वको उच्च उत्पादक देशमा नेपाल पर्थ्यो। तर अहिले विदेशबाट आयात गर्छ, त्यो पनि राजस्व छली गरेर।
चालू आर्थिक वर्षको ७ महिनाको विवरण हेर्ने हो भने नेपालमा २७ हजार ४ सय मेट्रिक टन मसुरो आयात भइसकेको छ। त्यसमा १९ हजार ८ सय मेट्रिक टन अस्ट्रेलियाबाट आयात भएको छ।
यसबाहेक ४ हजार मेट्रिक टन क्यानडाबाट र २ हजार ७ सय मेट्रिक टन भारतबाट आयात भएको छ। त्यसका अलावा यूएई, दक्षिण अफ्रिका, अमेरिकालगायतका देशबाट समेत आएको देखिन्छ।
यो आयात ३ अर्ब रुपैयाँबराबरको हो। यसरी हेर्दा ७ महिनामा ३ अर्ब रुपैयाँबराबरको मसुरो दाल नेपाल आयात भएको छ।
त्यसबाट राज्यले राजस्वबापत २८ करोड रुपैयाँ संकलन गरेको छ।
तर ७ वर्ष अघिसम्म नेपालले उत्पादनमात्रै नभई निर्यात नै गर्दथ्यो। बंगलादेशसँगको व्यापारमा नेपालको प्रमुख वस्तु मसुरो नै थियो।
२०७२ मा विश्वको उच्च मसुरो उत्पादन गर्ने देशहरुमा नेपाल पाँचौँ नम्बरमा थियो।
भारत, क्यानडा, टर्की र अस्ट्रेलियापछि नेपाल थियो। त्यस समयमा नेपालबाट १२ देखि १५ हजार मेट्रिक टनसम्म मसुरो निर्यात भएको भएको भन्सार विभागको तथ्यांक छ।
तर अहिले मसुरो आयात नै वार्षिक ३० हजार मेट्रिक टनभन्दा धेरै हुनथालेको छ। यस्तो आयात पनि राजस्व छली भएर हुनथालेको छ।
दालको रुपमा मुख्य प्रयोग हुने मसुरो अहिले पनि बंगलादेश निर्यात भएको देखिन्छ।
नेपालको उत्पादन घटेर आयातमा निर्भर हुनथालेको यस वस्तु भन्सार छली भएर आयात हुने र बंगलादेश निर्यात भइरहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।
भारतबाट आउने धेरै वस्तु भन्सार छलीबाट आउने गरेको व्यवसायी बताउँछन्। दाल उद्योगीका अनुसार मसुरो अहिले भारतबाट चोरी निकासी भएर आउने गरेको छ।
त्यसका अलावा भन्सारबाटै आएका वस्तुहरु समेत न्यून बीजकीकरण भएर आउने गरेको एक उद्योगीले बताए।
न्यून बीजकीकरण भनेको कम मूल्यांकन गरेर वस्तु आयात गर्नु हो। यसरी आयात गर्दा राजस्व छली हुन्छ।
भन्सार कार्यालयमा प्रवेश गरेको मसुरोको मूल्याङ्कन हेर्ने हो भने ८० रुपैयाँ प्रतिकेजी देखिन्छ। उक्त मूल्याङ्कन कमजोर रहेको व्यवसायीहरुको भनाइ छ।
त्यसमा भन्सार शुल्क ८ रुपैयाँ लाग्छ। प्रतिकेजी २ रुपैयाँ भाडा तिर्दा होलसेल बजारमा ९० रुपैयाँमा आउनुपर्छ। तर अहिले १५० रुपैयाँमा खुद्रा बजारमा उपलब्ध हुँदै आएको छ। जुन नाफा लिन पाउने २० प्रतिशतभन्दा धेरै नै उच्च हो।
अन्तर्राष्ट्रिय बजार हर्ने हो भने पनि नेपाली १४० रुपैयाँभन्दा बढी भन्सार विन्दुमा आयात हुँदा पर्नुपर्छ। न्यून बीजकीकरण भएको हुँदा भन्सारमा कम पैसा देखिएको ती उद्योगीले बताए।
मसुरो दाल आयात गर्दा भन्सार विन्दुमा ‘ग्रिन जोन’मा पर्छ। वस्तु अनुसार कुन वस्तुमा रिस्क छ र कुन वस्तुमा छैन त्यसमा आधारमा वस्तुहरुको वर्गीकरण गरिएको छ। त्यसमा मसुरो दालमा रिस्क नभएको ठहर भन्सार विभागले गर्दै आाएको छ।
ग्रिन जोनमा परेका वस्तुहरु भन्सार क्लियरेन्स हुँदा व्यापारीले भनेसरह हेरिन्छ।
त्यसको परिमाण र अन्य चेक जाँच हेरिँदैन। त्यसको फाइदा आयातकर्ताहरुले उठाइरहेको देखिएको छ।
त्यसो त भन्सार विभाग पनि भन्सार कार्यालयहरुले सबै वस्तु निगरानी गरेर हेर्न असम्भव रहेको बताउँछ।
विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार कार्यालयले हरेक वस्तु राम्रोसँग चेकजाँच गर्न असम्भव भएको बताउँछन्।
उनका अनुसार भन्सारले हेर्ने भनेको नमूनाको रुपमा केही वस्तुहरु हेर्ने हो। त्यसमा शंकास्पद देखियो भने मात्रै गहिरिएर हेर्ने उनको भनाइ छ।
‘वस्तु आयातको चाप हुन्छ। कर्मचारी सीमित हुन्छन्, कुनै वस्तु मिसावट भएको, अन्य हिसाबले राजस्व छलेको विषय व्यापारी, वस्तु हेरेर पत्ता लगाउने हो। पूर्ण रुपमा एक–एक पोका हेर्न सकिँदैन’, उनले भने।
प्रतिक्रिया