ad ad

कारोबार


बनेको ४ वर्ष नबित्दै भत्काउन थालियो कलंकी–कोटेश्वर सडक खण्ड (भिडिओ)


वसन्त अर्याल
चैत १० , काठमाडौँ

निर्माणसम्पन्न भएको ४ वर्षमै काठमाडौंको चक्रपथअन्तर्गतको कलंकी–कोटेश्वर सडक खण्ड भत्काउन थालिएको छ। 

कलंकी–बल्खु खण्डमा ‘बेसमेन्ट फेलियर’ हुँदा भत्काएर पुनः बनाउन लागिएको हो। 

चिनियाँ आर्थिक सहयोगमा निर्माण भएको सडकमा कालोपत्रे भासिने, चर्किने र फुट्नेजस्ता समस्या देखिएको हो। योसँगै सडक विभागले भत्काएर फेरि बनाउनलागेको छ। 

विभागका अनुसार विश्व बैंकको सहयोगमा खसीबजारदेखि बल्खुसम्म करिब १ किलोमिटर सडक बनाउन लागिएको हो। 

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले कलंकी–बल्खु खण्डको सडकमा बेसमेन्ट बिग्रिँदा कालोपत्रे पुनः गर्नुपरेको जानकारी दिए। 

‘बेसमेन्ट नै बिग्रिँदा कालोपत्रे बिग्रिएको थियो। कालोपत्रे दब्ने, फुट्ने, चर्किनेजस्ता समस्या सुधार गर्न लागेका हौँ’, डिभिजन प्रमुख निहुरेले नेपालखबरसँग भने, ‘अब फेरि अर्को बेस राखेर पिच गर्छौँ।’

उनले पहिलाको कालोपत्रेभन्दा पनि ‘बेस फेलियर’ भएको हुँदा स्तरोन्नति आवश्यक रहेको बताए। विभागले सडकको गुणस्तर जाँच गरेर सुधारको डिजाइन काम थालेको छ। 

‘चिनियाँ सरकारले यसअघि नै हस्तान्तरण गरिसकेको छ’, निहुरेले थपे, ‘अबको खर्च विश्व बैंकको सहयोगमा नेपाल सरकारले व्यहोर्नेछ।’

२०७५ माघमा चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी थिइन्। चीनले करिब ५ वर्ष लगाएर कलंकी–कोटेश्वर सडक निर्माण गरेको थियो। 

करिब ८ लेनको साढे १० किलोमिटर सडक चिनियाँ अनुदान सहायतामा बनेको थियो। निर्माण पूरा भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो। 

त्यस्तै कलंकी चोकमा मेलम्ची खानेपानी परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले सडक खनेको छ। सडक खनेपछि सवारीसाधन आवागमनलाई अप्ठ्यारो परेको छ। 

बुधबार बिहान थानकोट–मूलपानी चल्ने रिद्धी–सिद्धि यातायातको बस त्यही खनेको ठाउँमा फसेको थियो। ३–४ दिनदेखि चोक पार गर्न गाडीहरुलाई हम्मे–हम्मे पर्ने गरेको छ। 

बुधबार बिहान रिद्धी–सिद्धि यातायातको बस त्यही खनेको ठाउँमा फसेको थियो (मोदनाथ ढकाल/ट्विटर)

ग्वार्कोमा ओभरपासको लागि भत्काइयो
४ वर्षअघि नै ग्वार्कोमा ओभरपास बनाउन सकिने भनिएको थियो। तर ‘दीर्घकालीन सोच’विनै सडक बन्यो। सडक बनेको ३ वर्षमै १७ करोडको ठेक्का लागेर अहिले ओभरपासको काम भइरहेको छ।  

विभागले २०७८ मा ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो।  सार्वजनिक खरिद सम्झौतामा ४ महिनामा ओभरपासको डिजाइन गरेर थप २० महिनाभित्रै बनाउने सम्झौता भएको छ। ओभरपास निर्माणको ठेक्का आशिष, रेलिगेयर, समानान्तर जेभीले पाएका छन्। 

सडक विभागका अनुसार अहिलेकै सडकमा रिटेनिङ वाल उठाएर ओभरपास बन्दै छ। बीएन्डबी अस्पताल तर्फबाट र बालकुमारी दुवैतर्फबाट र्‍याम्प बनाइनेछ। दुवैतर्फको र्‍याम्प जोड्न ग्वार्को चोकमा पुल हुनेछ। 

तस्बिर/भिडिओ : सरोज बैजु/नेपालखबर

बीएन्डबीबाट चोकसम्म १८५ मिटरको लामो र्‍याम्प बन्ने र बालकुमारी तर्फबाट ३२० मिटरको अर्को र्‍याम्पसँगै पुल ५४० मिटरको रहनेछ। 

अहिलेको सडकमा वाल उठाएर भिरालो सडक हुँदै गाडी गुड्नेछन्। अहिले ४ लेनको सडकमा ओभरपास पनि ४ लेनकै हुनेछ। 

चोकमा रहने ३५ मिटर लामो पुल मुनिबाट इमाडोल–पाटन गुड्ने सवारीसाधन ट्राफिक जामविनै गुड्न सक्नेछन्। 

यता चक्रपथ विस्तारको दोस्रो चरणको आयोजना पनि अलपत्र परेको छ। ३ वर्षदेखि सडक खाली बनाउन थालिए पनि अहिलेसम्म निर्माण सुरु भएको छैन। 

फागुन ११ मा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनका राजदूतलाई ‘फिल्ड भिजिट’ गराउँदै छिटो निर्माण गर्न पहल गरेका थिए। 

चिनियाँ सहयोगमै बन्ने दोस्रो चरणको आयोजना साइट क्लियर नभएको भन्दै चिनियाँ पक्ष आएको छैन। 

चैत ९, २०७९ बिहिबार १०:४७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .