ad ad

कारोबार


अब साना र मझौला कम्पनीको छुट्टै इन्डेक्स, लगानीकर्तालाई कम जोखिम

बोर्ड अध्यक्ष भन्छन्– बाघ र बाख्रालाई एउटै खोरमा राख्नु दुवैप्रति अन्याय
अब साना र मझौला कम्पनीको छुट्टै इन्डेक्स, लगानीकर्तालाई कम जोखिम

केशर बोगटी
चैत ११, २०७९ शनिबार १०:४८, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एसएमई इन्डेक्स सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको बताएका छन्। 

उनले साना तथा मझौला कम्पनीको छुट्टै इन्डेक्स बनाउन नियमावली अन्तिम चरणमा पुगेको बताएका छन्। 

‘अन्तर्राष्ट्रिय मेकानिज्मअनुसार दस्तावेज तयार पारेका छौँ’, अध्यक्ष हमालले भने, ‘लामो समय त्यसैमा लाग्यो।’

नयाँ सरकार बनेसँगै नियमावली पास गर्न अर्थ मन्त्रालय पठाउने उनले बताए।  

सबैखाले कम्पनीलाई एउटै इन्डेक्समा राख्दा केहीले लाभ उठाउने गरेको र सर्वसाधारण त्यसमा पिल्सिँदै गएको उनको भनाइ छ। 

हमालका अनुसार नियमावली पास भएर आएसँगै इन्डेक्स सञ्चालनमा ल्याउने र साना लगानीकर्ता सुरक्षित हुनेछन्। 

‘सबैखाले कम्पनीलाई एउटै ठाँउमा राख्दा साना लगानीकर्ता त्यसको मारमा परेका छन्’, उनले भने, ‘साना जोखिमयुक्त कम्पनीका लगानीकर्ता छुट्टै इन्डेक्स बनाउँदा जोखिमबाट मुक्त हुनसक्छन्।’

साना कम्पनीहरुले थोरै सेयर जारी गर्ने हुँदा केही समूहले त्यस्ता कम्पनीलाई आफू कब्जामा लिने र अनावश्यक सेयर उतारचढाव गराउने गरेको उनी बताउँछन्। 

उनका अनुसार इन्डेक्स छुट्टिँदा कम जोखिम लिन चाहने लगानीकर्ता जोखिमबाट बच्न सक्छन्। 

‘सबै साना ठूला कम्पनी एउटै ठाउँमा राख्दा केही व्यक्ति र समूहले लाभ उठाइरहेका छन्’, उनले भने । 

साथै, उनले अहिलको इन्डेक्सलाई बाख्रा र बाघको कथाजस्तै देखिएको बताए। 

‘बाख्रा र बाघलाई एउटै खोरमा राख्दा दुवैप्रति अन्याय हुन्छ। बाघले जंगलमा दौडेर शिकार गरेपछि मात्र उसको मेटाबोलिज्म केमिस्ट्रीले काम गर्छ र बल्ल उसलाई आनन्द आउँछ’, उनले भने, ‘बाघले मिहिनेत नगरी बाख्रा खान पाउने भएपछि किन उसले मिहिनेत गर्छ? बाख्राले भाग्न पाउनुपर्यो नि!’

अहिले बजारको अवस्था यस्तै देखिएको उनले बताए। एसएमई प्लाटफर्म सञ्चालनमा आइसकेपछि बाघ र बाख्रा अलग खोरमा राखेजस्तै हुने उनको भनाइ छ।  

‘बाँच्ने अधिकार त सबैलाई छ। उसले पनि भाग्न पाउनुपर्यो’, उनले भने, ‘बाघले १० बाख्रा लखेट्दा एउटालाई समाउने हो। नौवटा त भाग्न पाउँछन् नि! दुवैलाई एउटै खोरमा राख्दा त उसले मिहिनेत नगरी शिकार गर्छ।’

एसएमई सञ्चालनमा ल्याउँदा साना कम्पनीको लागि समेत अवसर बन्ने हमालले बताए। 

‘साना–साना आइडिया भएका कम्पनी भोलि ठूला बन्नसक्छन्’, अध्यक्ष हमालले भने, ‘त्यस्ता कम्पनीको लागि प्लेटफर्म हुन्छ।’

यसले नयाँ पुस्तालाई फाइदा पुग्ने उल्लेख गर्दै उनले नयाँ पिँढीसँग भएको नयाँ आइडिया, डाइनामिज्म छ र त्यसको लागि नयाँ–नयाँ इन्डेक्स हुने बताए।  

नेपाल धितोपत्र बोर्डले गत वर्ष नै एसएमई इन्डेक्स सञ्चालनको लागि विनियमावली मस्यौदा तयारी थालेको थियो। 

अध्यक्ष हमालका अनुसार २० करोड चुक्ता पुँजी भएका कम्पनी एसएमईमा पर्नेछन्। 

साना तथा मझौला कम्पनीले आफूलाई आवश्यक पर्ने पुँजी संकलनका लागि पुँजीबजारबाट संकलन गर्ने भएका छन्।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा लागत बढी पर्ने भएका कारण पुँजी बजारमा आएर पुँजी संकलन गर्नका लागि साना तथा मझौला प्लेटफर्म आवश्यक रहेको बताइँदै आएको छ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/०७८ र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीलाई छुट्टै करोबार हुने गरी एसएमई प्लेटफर्म बनाउने नीति लिएको छ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गर्ने’ भन्ने व्यवस्था गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ‘साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजीबजारमा आवद्ध गरिनेछ’ भन्ने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .