नेपाल–चीन द्विपक्षीय वाणिज्य तथा व्यापार क्षेत्रलाई सहजीकरण गर्ने उद्देश्यले गठन भएको सचिवस्तरीय संयन्त्रको पहिलो बैठक ल्हासामा सुरु हुँदै छ।
बुधबार र बिहीबार ल्हासामा यस संयन्त्रको पहिलो बैठक बस्नलागेको हो।
त्यसको लागि नेपालबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, सहसचिव नारायणप्रसाद रेग्मीलगायतको टिम सोमबार प्रस्थान गरेको हो।
सीमा बन्दरगाहमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्रगत वर्ष गठन भएको थियो। सचिवस्तरीय यस संयन्त्रको बैठक भर्चुअल माध्यममा बसे पनि भौतिक –प्रत्यक्ष) रुपमा भने पहिलोपटक बस्नलागेको हो।
तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका क्रममा संयुक्त संयन्त्रको गठन गर्ने निर्णय भएको थियो। ल्हासामा बस्ने बैठकमा प्रमुख एजेण्डा वस्तु आयात र निर्यातमा नै हुनेछ भने व्यापार पूर्वाधारको विषयमा पनि छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
कोभिड सुरुसँगै नेपाल–चीन स्थलमार्गबाट हुने व्यापारमा कमी आएको थियो।
चीनबाट वस्तु आयात सीमित हुने गरे पनि नेपालबाट हुने निर्यात भने ठप्प नै थियो। तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै अर्थात् पुस १२ देखि निर्यात समेत चीनले खुल्ला गरेको थियो।
पुनः १० गते नयाँ सरकार बनेको थियो। त्यसको २ दिनमा नेपालबाट करिब ३ वर्षदेखि रोकिएको वस्तु निर्यातको काम खुल्ला भएको थियो। त्यसयता रसुवागढी नाकाबाट वस्तु आयातमा पनि वृद्धि भएको र निर्यात पनि निरन्तर भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ।
अब स्थलमार्गबाट हुने व्यापारलाई अझै तीव्रता दिन यस संयन्त्रमा छलफल हुने बताइएको छ।
ल्हासाको लागि नेपालका महावाणिज्यदूत नवराज ढकालका अनुसार चीन तर्फबाट पनि ल्हासा सरकारको उपप्रमुखको नेतृत्वमा बैठक बस्नेछ।
मुख्यगरी कोभिडपछिको वैदेशिक व्यापार रसुवागढी नाका र तातोपानी नाकाको विषयमा छलफल हुनेछ।
नेपालले चीन–नेपाल व्यापारको ठूलो साझेदार मुलुक भए पनि स्थलमार्गबाट हुने व्यापार न्यून रहेको र त्यसलाई सहजीकरण गर्ने विषयमा छलफल राख्नेछ।
दुईदिने बैठकमा छलफल हुनेछ। नेपाल चीन विभिन्न संयन्त्रहरु रहेका छन्, त्यसमध्ये व्यापार र महामारीसँग जोडिएको यस संयन्त्रले भने कोभिड र दुई देशको वस्तु व्यापारसँग जोडिएको विषय मात्रै छलफल गर्नेछ।
चालू आर्थिक वर्षको ८ महिनामा नेपाल–चीनको प्रमुख नाकामध्ये रसुवागढीबाट १६ अर्ब ५१ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने उक्त नाकाबाट १४ करोड रुपैयाँबराबरको वस्तु नेपालले निर्यात गरेको छ।
त्यस्तै तातोपानी नाकाबाट नेपालले ७ अर्ब १८ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ। उक्त नाकाबाट चालू आर्थिक वर्षमा वस्तु निर्यात नै हुनसकेको छैन।
प्रतिक्रिया