ad ad

कारोबार


‘साना उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी’

‘साना उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी’

नेपालखबर
चैत १६, २०७९ बिहिबार १७:५९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्याशी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। 

महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर  तर्फको उपाध्यक्षमा दाबेदारी दिएको बताएका हुन्। 

‘यो क्षेत्रको  नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरेसरह हो भन्ने विश्वासका साथ  मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ’, श्रेष्ठले भने। 

हाल महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत् स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशिल विषय बनेको पनि बताएका छन्। 

‘देशको अर्थतन्त्र र निजी क्षेत्र नाजुक हुँदै गएको वर्तमान अवस्थामा समकालीन चेम्बर अभियन्ताहरु  जुटेर जानुपर्नेमा जोड दिए पनि त्यसले सार्थकता पाएन। नयाँ नेतृव चयनका लागि  सहमतिको प्रयास गर्दै गर्दा सहमति हुन नसक्नु दुखः लाग्दो विषय हो’, श्रेष्ठले भने।  

सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रुपमा सहमति नजुटेको अवस्थामा आफ्नो लागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण रहेको उनले बताए। 

‘तसर्थ उक्त सशक्त फोरम भनेको महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघ समुहको नेतृव पंक्ति हो भन्ने विश्वासका साथ यथास्थानमा नै आफूलाई उभ्याउने प्रयास गरेको छु’, उनले भने। 

सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफुले ध्यानमा राखेर साथीहरुसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए। 

देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रुपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफुले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरुलाई मजबुत रुपमा संगठित गरि नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए। सबै सदस्यहरुले पाउने सेवाहरु सुचारु रुपले प्रदान गर्न, सबै वर्गका सदस्यहरुले महासंघले आफूहरुप्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफुले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए। 

जिल्ला नगर उद्योग वाणिज्य संघहरुको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको उनको भनाइ छ। 

“विगत छ सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रुपमा संलग्न हुने अवसर पाएँ। जिल्ला नगरका साथीहरुले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो,” श्रेष्ठले भने, “जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ। त्यहाँका साना ठूला समस्याहरु सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरुको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ।”

जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफुले धेरै काम गर्न बाँकी रहेको बताए। कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिस देखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरुले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन्। 

पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको व्याजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए। व्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाईरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

“लगानी योग्य कोषको अभाव, अनियन्त्रित बन्दै गएको चर्को बैंक ब्याजदर तथा वित्तीय संस्थाहरुको ज्यादतीले समग्र निजी क्षेत्रको मनोबल कमजोर र संवेदनशील हुँदै  गएको छ,” श्रेष्ठले भने, “यस्तो विषम परिस्थितिको सामना गर्दै आगामी  दिनहरुमा निजी क्षेत्रको आशाको केन्द्रविन्दुको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको भूमिकालाई सशक्त बनाउनका झनै सक्षम, सवल र सशक्त क्षमतावान नेतृत्व र समुहको आवश्यकता पर्ने देखिन्छ।”

महासंघ व्यक्तिका लागि नभई व्यक्ति महासंघका लागि हुनु पर्दछ भन्ने मान्यताका साथ आगामी दिनमा महासंघको नेतृत्वमा बस्नेहरुको व्यक्तिगत लाभका लागि नभई सदस्यहरुको सामुहिक लाभ र समग्र देशको आर्थिक विकासमा केन्द्रित रही महासंघको गरिमा उच्च बनाउनुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .