कारोबार


कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारले लियो गति

कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन विस्तारले लियो गति

दिनेश बुढा
चैत २०, २०७९ सोमबार १०:२२, सुर्खेत

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ। २०७७ असारमा सुरु आयोजनाअन्तर्गत ४५ वटा हाइटेन्सन लाइनको टावर निर्माण भइसकेको छ। हालसम्म ५० प्रतिशत काम सम्पन्न गरिएको आयोजनाले जनाएको छ।

बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र ख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। आयोजना सुरु भएको लामो समयसम्म पनि बर्दिया राष्ट्रिय निकुञ्जले रुख काट्ने अनुमति नदिँदा विद्युत् विस्तारमा अवरोध भएको थियो। 

यस्तै पहिलो चरणमा टावर निर्माण गरिने छ भने दोस्रो चरणमा तार तान्ने, सबस्टेसन निर्माणलगायत काम गरिने आयोजनाले जनाएको छ।   

सुर्खेतसहित कर्णालीका १० वटै जिल्लाको विद्युत् समस्या हल गर्न एकमात्र विकल्प ठानिएको उक्त प्रसारण लाइन विस्तारका काम निरन्तर रूपमा अघि बढेको आयोजना प्रमुख रविकुमार चौधरीले जानकारी दिए।

रफ्तारमा कुनै अवरोधबिना काम अगाडि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने उनले बताए। 

प्रमुख चौधरीका अनुसार प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा टावर निर्माण हुनेछन्। जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। 

यस्तै, प्राधिकरणका प्रमुख चौधरीले प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रूख काट्नुपर्ने बताए। यीमध्येका केही रूखहरू काटिसकिएका छन्।

आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगङ्गा र लेकबेंसी नगरपालिकासहित बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छन्। 

प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ। विद्युत् प्रसारण लाइन कार्यान्वयनका लागि निजी, सामुदायिक तथा सरकारी वन क्षेत्र गरी कूल जग्गाको क्षेत्रफल २२५ वर्गमिटर हुनेछ। 

त्यस्तै ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सबस्टेसन निर्माण तथा क्षेत्राधिकारका लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ। जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सबस्टेसन बनाउन र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण हुनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ। प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनबाट सुरु भई सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुंगिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .