कारोबार


माछापालनमा रुपन्देहीको छपिया देशकै नमूना

माछापालनमा रुपन्देहीको छपिया देशकै नमूना

प्रकाश न्यौपाने
पुस २५, २०७६ शुक्रबार ६:५०,

परम्परागत अन्नबाली गर्ने किसान अभियानमुखी माछापालनमा लागेपछि रुपन्देहीको दयानगर माछापालनका लागि देशमै नमूना गाउँ बनेको छ।

घरैपिच्छे माछापालन थालेका यहाँका किसान अहिले आफ्नो गाउँलाई नमूना मत्स्य पर्यटन केन्द्र बनाउन जुटेका छन्। ३६ वर्षअघिदेखि माछापालन थालिएको छपिया क्षेत्रमा १० वर्ष अघिदेखि अभियानमुखी माछा उत्पादन थालिएको हो।

यहाँको दुई सय २५ हेक्टर क्षेत्रफलको एक हजार पाँच सय पोखरीमा माछापालन भएको छ। करिब ६ सय व्यावसायिक किसानले वार्षिक एक हजार दुई सय ५० मेट्रिक टन माछा उत्पादन गर्छन्। माछा बिक्रीबाट मात्रै किसानले वार्षिक २५ करोड बढीको कारोबार गर्ने जलदेवी मत्स्य उत्पादन सहकारी संस्थाका अध्यक्ष गणेश शाहीले जानकारी दिए।

न्यून मिहिनेत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरु व्यावसायिक माछापालनमा आकर्षित भएका छन्। सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा पर्ने छपिया क्षेत्रमा माछालाई चाहिने उपर्युक्त माटो र पानीको स्रोत राम्रो छ। त्यसैले यहाँका सबै स्थानीयको आम्दानीको स्रोत भनेकै माछापालनबाट आउने रकम बनेको छ।

छपियाका व्यावसायिक किसान टंकप्रसाद ज्ञवालीले विना झन्झट अन्य बालीको तुलनामा आम्दानी राम्रो हुने, माछाका लागि पनि अनुकूल वातावरण भएकाले मत्स्यपालनमै रमेको बताउँछन्।

‘माछापालन भरपर्दो आयस्रोत हो। थोरै मिहिनेत गर्दा धेरै आम्दानी गर्न सकिन्छ। छपिया क्षेत्र मत्स्यपालनका लागि उर्वरभूमि पनि हो। त्यसैले यहाँ धेरै किसान माछापालनमै केन्द्रित छन्’, उनले भने।

machha pokhari 12

दयानगरमा ३० बढी माछा फर्म छन्। गाउँमै माछाबजार, जिउँदो माछा पसल, दाना उद्योग र मत्स्य प्रशोधन केन्द्र छन्। माछापालनलाई सहज बनाउन किसानले १५ वटा कृषक समूह र जलदेवी मत्स्य उत्पादन सहकारी संस्था खोलेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत छपिया क्षेत्रमा मत्स्य जोनको कार्यक्रम सञ्चालनमा छ। कार्यक्रमले माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेको छ।

नयाँ पोखरी निर्माण र पुरानो पोखरीलाई मर्मतसम्भारमा जोन कार्यक्रमले सहयोग गरेको छ। यहाँ उत्पादित माछा स्थानीय बजारसँगै पाल्पा, पोखरा चितवन, काठमाडाैं  तथा भारतको गोरखपुरलगायतका क्षेत्रमा पुग्ने गरेको मत्स्यपालक किसान बताउँछन्। किसानहरुले स्वस्थ माछा उपभोक्तामा पुर्याउने उद्देश्यले जिउँदो माछा पनि बेच्दै आएका छन्।

छपिया क्षेत्रमा छवटा जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन्। छपियाको जिउँदो माछा उत्पभोक्तामाझ लोकप्रिय बन्दै गएपछि अहिले बुटवल, भैरहवा र अन्य बजारमा तीन दर्जनभन्दा बढी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा छन्। माछापालनमा दयानगरका सामान्य किसानसँगै उच्चस्तरका व्यवसायीसमेत सहभागी छन्। आठ करोड लगानीसम्मका होम–स्टेसहितका माछापालन केन्द्र र रेष्टुरेण्ट खुलेका छन्। तीनमा दैनिक दुई सय बढी किसान तथा पर्यटक आउने गरेका छन्।

किन्ने, हेर्ने र माछासँग खेल्ने पर्यटक बढेपछि चार वर्षयता दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको छपिया फिस भिलेजका सञ्चालक गौरव गौतमले बताए।

‘यहाँ आउने पर्यटकहरुलाई हामीले पोखरीमा घुमाउने, बल्छी खेलाउने, माछाका परिकार खुवाउने र बसोबासको व्यवस्था मिलाउने काम गरेका छौँ। आउने सबै पर्यटकहरु हाम्रो सेवा, सत्कारबाट सन्तुष्ट हुँदा व्यवसायमा झन् आनन्द मिल्ने गरेको छ’, गौतमले भने।

machha pokhari 13मत्स्य कृषि तथा माघी महोत्सव स्थलमा बनाइएको नमूना माछा पोखरी ।

आम उपभोक्ताहरुले माछाको ग्रेभी, झोल र फ्राइ खाने बानी छ। माछाबाट अन्य परिकार पनि बनाउन सकिने भन्दै जोन कार्यक्रमले उपभोक्तामा विभिन्न तरिकाबाट माछा खाने बानी बसाल्न माछाका परिकार बनाउन सिकाउने गरेको छ। छपिया क्षेत्रमा खुलेका होटल तथा रेष्टुरेण्टहरुमा पर्यटकहरु माछाबाट बनेका फिस मःम, फिस टिक्का, फिस बल्भ, फिस चिल्ली, फिस फिंगरलगायतका नयाँ परिकारहरुको स्वाद लिन जाने गरेका छन्।

पर्यटकलाई सजिलै दयानगर लैजान बुद्ध जन्मस्थल लुम्बिनी, बुटवल र भैरहवासँग बजार र सडक सञ्जालले जोडिएको छ। कतिपय सडक चौडा र कालोपत्रे गर्ने काम पनि भइरहेको छ। सियारी गाउँपालिकाले पनि छपियालाई मत्स्य पर्यटन क्षेत्रका रुपमा विकास गर्न लागिपरेको पालिका अध्यक्ष अयोध्या थारुले बताए।

मत्स्य महोत्सव हुँदै
मत्स्य पर्यटनको विकास गर्ने र कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित रुपन्देही मत्स्य कृषि समूहको आयोजनामा सियारी गाउँपालिका–७, अमवामा रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव हुने भएको छ। स्थानीय जनता माविको खेल मैदानमा हुने महोत्सव यही पुस २६ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ।

‘कृषि, मत्स्य पर्यटन र पूर्वाधार ग्रामीण विकासको आधार’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा माछा तथा कृषि उत्पादन र प्रविधिसम्बन्धी प्रदर्शनी, माछा तथा थारु समुदायका विविध परिकारहरुको बिक्री, खेलकुद प्रतियोगिता, दैनिक सांगीतिक तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजक संस्थाका सदस्य किरण नेपालले जानकारी दिए।

यस्तै, महोत्सवमा, स्थानीय खानाका परिकार, माछाका परिकार, कृषियन्त्रहरु, साना पोखरी, माछा, माछाका दानालगायतका ४५ वटा स्टल रहने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad