ad ad

कारोबार


‍जसको दबाबमा रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स

‍जसको दबाबमा रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स आफ्नो हातमा नपर्ने भएपछि दीपक तिमिल्सिना र रामेश्वर थापा प्रक्रिया रोक्न लागेको आशंका छ


दीपक भट्ट
जेठ ५, २०८० शुक्रबार ६:२२, काठमाडौँ

नयाँ स्टक एक्सचेन्ज अर्थात् धितोपत्र विनिमय बजारको लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा पुगेपछि स्थगित गरिएको छ। चौतर्फी रुपमा नयाँ स्टक एक्सचेन्जको माग भैरहँदा एक्कासि लाइसेन्सको प्रक्रिया रोकिएपछि व्यवसायीहरु असन्तुष्ट बनेका छन्। 

विज्ञहरुदेखि लगानीकर्ता समेतले पुँजीबजार बढाउन तथा प्रतिस्पर्धा वृद्धि गर्न नयाँ स्टक तत्काल दिनुपर्ने बताए पनि अन्तिम समयमा आएर लाइसेन्स रोकिएको छ। 

पूर्ण सरकारी स्वामित्वमा एउटा मात्र स्टक रहेकाले प्रतिस्पर्धाको वातावरण बनाएर यस क्षेत्रको गुणस्तर बढाउन पनि नयाँ स्टक ल्याउनु पर्ने विज्ञहरुको भनाइ छ। तर प्रधानमन्त्रीबाट निर्देशन गराएर लाइसेन्स प्रक्रिया रोकिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महतलाई र अर्थमन्त्रीले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई निर्देशन दिएर लाइसेन्स प्रक्रिया रोकिएको हो। 

लाइसेन्स रोकिँदा पुँजी बजारमा पलाएको एक खालको आशा समेत मरेको भन्दै लगानीकर्ताले ज्ञापनपत्र बुझाएका छन्। धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रिया केही समयलाई स्थगित गरेको जनाएको छ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने विषयमा थप अध्ययन आवश्यक रहेको बताउँदै अहिलेलाई प्रक्रिया रोक्ने निर्णय भएको बोर्डको भनाइ छ।

नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ। सरकारले नयाँ आवश्यकता रहेको महसुस गर्दै थप एकको लागि प्रक्रिया अघि बढाएको थियो। नियामक निकाय नेपाल धितोपत्र बोर्डले थप एउटा स्टक एक्सचेन्ज खोल्न आह्वान गरेको थियो। जसमा तीन वटा आवेदन परेका थिए। 

हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा आवेदन परेका छन्। 

धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक छनोटको लागि कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा मूल्यांकन समिति गठन गरिसकेको अवस्थामा गत हप्ताको बुधबार अर्थात् वैशाख २७ मा लाइसेन्स दिने प्रक्रिया नै स्थगित गरिएको हो।

प्रक्रियाको सुरु भने गत असोजमा भएको थियो। अधिवक्ता दीपकविक्रम मिश्रले धितोपत्र बोर्डले सुरु गरेको लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै असोज ३१ गते सर्वोच्चमा रिट दायर गरेपछि अदालतले बोर्डलाई काम रोक्न निर्देशन दिएको थियो।

चैत २६ गते अदालतले रिट खारेज गरेपछि धितोपत्र बोर्डले प्रक्रिया अघि बढाएको थियो। 

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कात्तिक ४ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले नयाँ स्टक एक्सचेन्ज लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।  

तर पाँच महिनापछि ब्रोकर लाइसेन्स रोक्नको लागि परेको रिट सर्वोच्चले खारेज गरेपछि बोर्डलाई प्रक्रिया अगाडि बढाउने बाटो खुलेको थियो। जसअनुसार खुलेको प्रक्रियामा तीन कम्पनीले आवेदन दिएका थिए। 

धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्की लाइसेन्स दिनैपर्ने र नयाँ स्टक अहिलेको आवश्यकता रहेको बताउँछन्। 

उनी भन्छन्, ‘नयाँ स्टक आए प्रतिस्पर्धा बढ्छ। केहीले नयाँ स्टक आउनुलाई गलत रुपमा अर्थ्याउने समेत गरेका छन्। नयाँ स्टक आउँदा पुरानो ब्रोकरदेखि सारा काम बन्द हुनेसम्मको आशंका गरेको देखिन्छ। तर त्यस्तो हुँदैन।’

नयाँ स्टक सञ्चालनमा आए दुवै स्टकमा सूचीकरण गरेर कारोबार हुन्छ। दुई वटा स्टक भए लगानीकर्ताको लागि धेरै विकल्पहरू खुला हुने र दीर्घकालमा सेवा शुल्कजस्ता लागत घट्ने सम्भावना छ। त्यसकारण पनि नयाँ स्टक आवश्यक रहेको उनको भनाइ छ। 

अहिले सेयर कारोबार गराउने ५० वटा ब्रोकर कम्पनीहरु छन्। अब ४३ वटा थप हुँदै छन्। थप गरिएको ब्रोकरको आशयपत्र समेत माग गरिसकिएको छ। ब्रोकर कम्पनी झण्डै दोब्बर बनाएर सरकारले पुँजीबजारको दायरा नै फराकिलो बनाउन चाहेको छ। 

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि निजी क्षेत्रबाट प्रतिस्पर्धाको लागि पनि नयाँ स्टक आवश्यक रहेको बताउँछन्। 

उनी भन्छन्, ‘अहिले कायम रहेको नयाँ स्टक एक्स्चेन्ज पूर्ण सरकारी हो। निजी क्षेत्रबाट प्रतिस्पर्धाको लागि पनि नयाँ आवश्यक छ। सरकारले नै पुँजी बजार बढाउने नीति लिएको छ। त्यसकारणले पनि नयाँ स्टक एक्स्चेन्ज आवश्यकता छ।’

नयाँ स्टककोे चुक्ता पुँजी तीन अर्ब तोकिएको छ। हाल त्यसको ७० प्रतिशत जुटाए पुग्ने छ।

धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गर्दै चुक्ता पुँजी तीन अर्ब पुर्याइएको थियो। आवेदन दिने लगानीकर्ताहरुले तोकिएको व्यवस्था अनुसार पुँजी जुटाउँदै छन्। 

बुधबार नेपाल पुँजीबजार लगानीकर्ता संघले प्रधानमन्त्री प्रचण्डलाई भेटेर लाइसेन्स दिनुपर्ने लगायतका मागहरु सम्बोधनको लागि ज्ञापनपत्र समेत बुझाएको छ।  

संघकी अध्यक्ष राधा पोखरेलका अनुसार लगानीकर्ताहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको हो।

लाइसेन्स रोकिनुको कारण
वैशाख ९ गते धितोपत्र बोर्डमा परेको आवेदक कम्पनी हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरुमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख शेयरधनी छन्। 

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका छन्। 

यो ग्रुपले लामो समयदेखि तयारी गरेको छ। धितोपत्र बोर्डसँग लाइसेन्स दिनको लागि छनौटको आधार तय गर्ने मापदण्ड छ। त्यसका लागि धितोपत्र बजार सञ्चालनसम्बन्धी छनोट निर्देशिका कायम छ। 

निर्देशिकामा कम्पनीहरूले प्रस्तुत गरेका विस्तृत वित्तीय विवरण, कार्ययोजना, सञ्चालकहरूको अनुभव र योग्यतालाई मापदण्ड बनाइने उल्लेख छ।

प्रस्तावित प्रविधिको गुणस्तर पनि मूल्यांकनको सूचीमा समावेश छ। जसलाई सम्बन्धित समितिले जाँचबुझ गर्ने बताइएको छ। स्टक एक्सचेन्ज निवेदक कम्पनीलाई मापदण्डका आधारमा अंक दिने बताइएको छ। जसको पूर्णाङ्क १०० छ। विस्तृत व्यावसायिक कार्ययोजनाको ६० अंकबाहेक समितिले अन्य मापदण्डमा प्राप्त अंक र अंकभारलाई गणना गरी बोर्डसमक्ष पेस गर्नेछ। प्रस्तावित प्रविधिका आधारहरु लागि २४, सञ्चालकहरूको अनुभव र शैक्षिक योग्यताका लागि ८ र पुँजीका लागि ४ अंकभार तोकिएका छ। सोहीअनुसार नयाँ स्टक वितरण गरिने निर्देशिकामा उल्लेख छ। 

हिमालयन स्टकले प्राविधिक तयारी यसअघि नै गरेको छ। प्राविधिक सहायताका लागि मोरिसस स्टकसँग सम्झौता गरिसकेको छ। 

वैशाख ११ गते आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, लगानीकर्ता रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको समेत लगानी रहेको आवेदनमा उल्लेख छ। 

त्यस्तै वैशाख ११ गते नै आवेदन दिने अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।

यी तीनमध्ये हिमालयन स्टकले धितोपत्र बजार सञ्चालनसम्बन्धी छनोट निर्देशिकामा उल्लेख भएको २४ अंक भार स्वतः पाउने भएकाले हिमालयन भन्दा बाहेकमा लगानी रहेका लगानीकर्ताको लबिङमा हाललाई लाइसेन्स स्थगित गरिएको बुझिएको छ।   

हिमालयन प्राविधिक रुपमा अघि रहेको देखिएपछि उनीहरुले लाइसेन्स रोक्ने कोसिस थालेको पुँजी बजारमा लगानी गर्दै आएका एक लगानीकर्ता बताउँछन्। 

उनी भन्छन्, ‘छनौट मापदण्डमा तय गरिएको एक क्याटगोरीको नम्बर नै आफूले नपाउने र हिमालयनले पाउने भएपछि उनीहरु आवेदन बुझाएको दिन वैशाख ११ गतेदेखि नै स्थगित गराउन लागि परेका थिए। वैशाख २७ गते स्थगित नै गराउन सफल भएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .