कारोबार


घरजग्गा र सेयर धितो कर्जा बढ्न थाल्यो, ‘टर्म लोन’मा आकर्षण

घरजग्गा र सेयर धितो कर्जा बढ्न थाल्यो, ‘टर्म लोन’मा आकर्षण

फाइल तस्बिर


केशर बोगटी
जेठ २९, २०८० सोमबार ९:१५, काठमाडौँ

आर्थिक वर्ष २०८९/८० को वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ४८ खर्ब ५० अर्ब ६० करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

गत वर्ष यही अवधिमा यी संस्थाबाट ४७ खर्ब २४ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। गत वर्षको तुलनामा चालु आवको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका हुन्। 

वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा लगानी बढाएका छन्। शैक्षिक क्षेत्रको कर्जा गत वर्षको तुलनामा बढेर दोब्बर पुगेको छ। यता २५ लाखदेखि ५० लाखसम्मको सेयर धितोकर्जा पनि बढेको छ। १५ लाखसम्मको घर कर्जामासमेत लगानी बढ्दै गइरहेको छ। 

आर्थिक संकटबीच सरकारले जग्गा कित्ताकाट राकेसँगै यस क्षेत्रको लगानी ह्वात्तै घटेको थियो। तर, पछिल्ला दिन घरजग्गा क्षेत्रमा लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा जेठ १५ मा प्रस्तुत आगामी वर्षको बजेटमा पनि जग्गा कित्ताकाट सहज बनाउने उल्लेख छ। उक्त निर्णयपछि घरजग्गा कारोबार बढ्न थालेको छ।

पछिल्लो समय ‘टर्म लोन’मा आकर्षण बढ्न थालेको छ। आव २०७९/८० मा बैंक तथा वित्तीय संस्थाको रिकभरी समस्या देखिएको छ।

जसले कर्जा बढ्न गई कर्जा नोक्सानीसमेत बढेको छ। बैंकहरुको कर्जा रिकभरी समस्या बढ्न थालेसँगै बैंकहरु आवधिक कर्जा ‘टर्म लोन’ मा फोकस भएका छन्। 

त्यसैगरी हायर पर्चेज लगायत क्षेत्रमा कर्जा घट्दै गइरहेको तथ्याकंले देखाएको छ। 

तरलता अभावले बैंकको कर्जा प्रवाह क्षमता घटेको, ब्याजदर बढेको, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपलगायत कारण सेयर कर्जा घटेसँगै ऋण लिएर सेयरमा लगानी गर्नेहरु पनि घटेको जानकारहरू बताउँछन्।

जोखिमभार कम भएको सेयर कर्जामा न्यून आकर्षण 
चालु आवको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने कर्जा घटाएका छन्। गत वर्षको तुलनामा सम्रगमा सेयर धितो कर्जा घटे पनि २५ देखि ५० लाख सम्ममाको कर्जा भने बढेको छ। 

वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाबापत ७४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा यस्तो कर्जाबापत ९१ अर्ब ४१ करोड रुपैयाँ प्रवाह गरेका थिए। 

यता बजारमा निरन्तरको गिरावट र तरलता समस्याबीच बैंकहरूले सेयर धितो राखेर दिने कर्जा घटाएको एक बैंकरले बताएका छन्। यसका साथै २५ करोडमाथिको कर्जाको जोखिम भार ‘डिमान्ड’समेत घटेको ती बैंकरको भनाइ छ। 

बढ्यो ५० लाखदेखि करोडसम्मको सेयर धितो कर्जाको सीमा
गत वैशाख मसान्तसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा बढेको छ। गत वर्षको त्यही अवधिको तुलनामा यस्तो कर्जा थोरै बढेको हो। 

वैशाखसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितोबापत बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा ११ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

अन्य सबै सेयर धितो कर्जादर घट्यो 
यही वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने २५ लाखसम्म, २५ देखि ५० लाखसम्म र १ करोडमाथिको सेयर धितो कर्जा दर घटेको छ। 

वैशाख मसान्तसम्म एक करोडमाथिको सेयर धितोकर्जा बापत ४४ अर्ब ६ करोड प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा बैंकहरूले ५५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

त्यसैगरी २५ करोडदेखि ५० करोडसम्मको सेयर धितो कर्जा १२ अर्ब ६६ करोड रुपैयाँ प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा यस्तो कर्जा १६ अर्ब ३० करोड प्रवाह भएको थियो। 

यता २५ करोडसम्ममा सेयर धितो कर्जासमेत घटेको छ। यस्तो कर्जामा जोखिम भार १०० प्रतिशत रहेको छ। २५ लाखमाथिको सेयर धितो कर्जामा भने जोखिम भार १५० प्रतिशत छ। २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार कम हुँदासमेत कर्जा दर बढ्न सकेको छैन। 

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस्तोमा ६ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा २५ लाखसम्मको सेयर धितो कर्जा बापत ८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

शैक्षिक कर्जा दोब्बर 
चैत मसान्तसम्म शैक्षिक कर्जा र क्रेडिट कार्ड लोन बढेको छ। चैत मसान्तसम्म ४५ अर्ब १८ करोड शैक्षिक कर्जा गएको छ। 

गत वर्ष त्यही अवधिमा शैक्षिक कर्जा २४ अर्ब ९१ करोड थियो। गत वर्षको तुलनामा यस क्षेत्रमा कर्जा प्रवाह दोब्बर भएको छ। 

त्यसैगरी क्रेडिट कार्डमार्फत् कर्जा ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। गत वर्ष त्यही अवधिमा बैंकहरुले यसमा ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

रियल स्टेटमा २ खर्ब ४२ अर्ब कर्जा 
यो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले घर जग्गातर्फ कर्जा बढाएका छन्। घर जग्गा कारोबारमा वित्तीय संस्थाहरुले २ खर्ब ४२ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

गत वर्ष त्यही अवधिमा घर जग्गमा बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

त्यसैगरी वित्तीय संस्थाले वैशाख मसान्तसम्म घर जग्गा (१५ लाख सम्मको व्यक्तिगत घर ऋणबाहेक) ६४ अर्ब ८४ करोड कर्जा प्रवाह गरेका छन्।

गत वर्ष त्यही अवधिमा बैंकहरुले ६७ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस्तो कर्जा गत वर्षको त्यही अवधिको तुलनामा घटेको छ। 

वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्रको लगानी बढाएका छन्। गत वर्ष वैशाख मसान्तमा वित्तीय संस्थाले कमर्शियल कम्प्लेक्स र आवासीय अपार्टमेन्ट निर्माण क्षेत्र २५ अर्ब ३ करोड गरेको कर्जा प्रवाह यो वर्षको वैशाखसम्म बढेर ३० अर्ब ३ करोड रुपैयाँ पुगेको छ। 

अन्य घरजग्गा ९ जग्गा खरिद र प्लटिङसहितको क्षेत्रमा १ खर्ब ३५ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा बैंकहरुले यस क्षेत्रमा १ खर्ब २० अर्ब १४ करोड लगानी गरेका थिए। 

त्यसैगरी आय उत्पन्न वाणिज्य परिसरमा क्षेत्रको कर्जामा बैंकहरूले ११ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा बैंकहरुले यस क्षेत्रमा ७ अर्ब ४८ करोड लगानी गरेका थिए। 

यता जग्गा खरिद तथा प्लटिङ क्षेत्रको कर्जामा ४० अर्ब ४० करोड, तोकिएको उद्देश्यबिना छ वा त्यसभन्दामाथिको क्षेत्रमा ६० अर्ब ६८ करोड र अन्य क्षेत्रको कर्जामा ३४ अर्ब ६३ करोड प्रवाह गरेका छन्। 

व्यक्तिगत घर कर्जामा ३ खर्ब ४७ अर्ब लगानी 
बैंक तथा वित्तीय संस्थाले १५ लाखसम्मको व्यक्तिगत घर कर्जा पनि बढाएका छन। वित्तीय संस्थाले वैशाख मसान्तसम्म ३ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

गत वर्ष त्यही अवधिमा १५ लाखसम्मको व्यक्तिगत घर कर्जाबापत ३ खर्ब ३८ अर्ब रुपैयाँ प्रवाह गरेका थिए। 
गत वर्षको तुलनामा व्यक्तिगत घर कर्जामा बैंकहरुले कर्जा लगानी बढाएका छन्।

हायर पर्चेज कर्जा घट्यो 
बैंक तथा वित्तीय संथाले हायर प्रर्चेज कर्जा घटाएका छन्। वैशाख मसान्तसम्म बैंकहरूले १ खर्ब ३८ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेका छन्। गत वर्ष त्यही अवधिमा वित्तीय संस्थाहरूले १ खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। 

१४ खर्ब २५ अर्ब ‘टर्म लोन’
बैंक तथा वित्तीय संस्थाहरुले टर्म लोनबापत १४ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय बैंकहरुको टर्म लोन कर्जा बढेको छ। गत वर्ष त्यही अवधिमा बैंकहरूले ११ खर्ब ४ अर्ब रुपैयाँ टर्म लोन प्रवाह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .