कारोबार


कुन क्षेत्रमा लगानी गर्दै छन् बैंकहरू?

कुन क्षेत्रमा लगानी गर्दै छन् बैंकहरू?

फाइल तस्बिर


केशर बोगटी
असार २५, २०८० सोमबार ९:५२, काठमाडौं

आर्थिक वर्षको अन्तिम समयमा बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।

पैसा थुप्रिए पनि बैंकहरूले विगत वर्षमा जस्तै लगानी बढाउन सकेका छैनन्। सामन्यतया प्रणालीमा तरलता थुप्रिएर बढ्दै जादा बैंकहरूले लगानी बढाउन थाल्छन्। तर, अहिले प्रणालीमा तरलता बढ्दै गए पनि बैंकहरूले उल्टै कर्जा प्रवाह खुम्च्याइरहेका छन्। 

यता प्रणालीमा पैसा थुप्रिएसँगै राष्ट्र बैंकले तरलता खिचिरहेको छ। राष्ट्र बैंकले यही असारमा रिजर्भ रिपो, ट्रेजरी विल्स र विकास ऋणपत्रमार्फत पैसा खिचिरहेको छ। 

राष्ट्र बैंकले असार २० गते रिजर्भ रिपोमार्फत २० अर्बको माग गर्दा बैंक तथा वित्तीय संस्थाले करिब २९ अर्बको आवेदन दिएका थिए। यसले पनि प्रणालीमा अधिक तरलता रहेको देखाउँछ।

बैंक तथा वित्तीय संस्थाले एकापसमा सापटी लिने अन्तरबैंक ब्याजदर न्यूनतम बिन्दुमा आए पनि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ।

यही असारमा राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत् १० अर्ब रुपैयाँ र असार २५ गते २७ अर्ब ६० करोड रुपैयाँ ट्रेजरी विल्समार्फत खिच्न लागेको छ। 

प्राणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणको माध्यमबाट पैसा खिचिरहेको छ।

खराब कर्जा बढ्दै गइरहेकाले बैंकहरू ट्रेजरी विल्स, रिजर्भ रिपो र विकास ऋणपत्र लगानी बढाउन थालेका हुन्। 

ट्रेजरी विल्स, रिजर्भ रिपो र विकास ऋणपत्र लगायत टुल्समा लगानी सुरक्षित हुने हुँदा बैंकहरूले यसतर्फ लगानी बढाउन थालेको देखिन्छ। 

कर्जा विस्तारमा एग्रेसिभ हुँदा खराब कर्जा झनै बढ्ने र प्रोभिजन थपिने डरले बैंकहरू सीमित क्षेत्रमा लगानी गर्न खोजिरहेका छन्। 

असार मसान्त त्यसै पनि बैंकहरूको कर्जा रिकोभरीको समय रहने जानकार बताउँछन्। 

वर्षको अन्त्यतिर पुग्दा कर्जा रिकोभरीमा केन्द्रित हुँदा बैंकहरूले कर्जा विस्तार गर्न नसकेको एक बैंकरले बताए। 

‘यो वर्ष बैंकहरूको खराब कर्जा बढेको अवस्था छ, अझै बढ्ने सक्ने देखिन्छ’, ती बैंकरले नेपालखबरसँग भने, ‘थप खराब कर्जा बढ्न नदिन रिकोभरीमा लागि परेका छौं।’ 

आर्थिक वर्षको अन्त्यति भएकाले बैंकहरूसँग सानो सानो कर्जा लगानी गर्ने समय नभएको उनले बताए। 

बैंकहरूले ठूला परियोजनाहरूमा सहवित्तीकरणमार्फत लगानी गरिरहेको उनले बताए। 

‘अधिकांश बैंकले लघुवित्तलाई कर्जा दिइरहेका छन्। अहिले लघुवित्तलाई ऋण दिइरहेका छौँ। ठूलो प्रोजेक्ट (हाइड्रो) लगायत क्षेत्रमा लगानी गरिरहेका छौं’, उनले भने, ‘सानोतिनो कर्जा दिने समय नै छैन।’

अबको रणनीति
उनले आगामी आर्थिक वर्ष भने बैंकहरू आफ्नो रणनीतिअनुसार अगाडि बढ्ने बताए। तर, यतिबेला व्यवसाय बढाउन बैंकहरूलाई समय नै छैन। 

‘पछिल्लो समय चालु पुँजी कार्यान्वयन आएसँग कर्जामा माग नै न्यून छ’, उनले भने, ‘सानो सानो कर्जा लगानी गर्न बैंकहरू नै तयार छैनन।’ 
बैंकहरूको खराब कर्जा बढ्दै गइरहेकाले सानो सानो कर्जा थप्ने अवस्था नै नदेखिएको उनको भनाइ छ। 

‘एकातिर पुरानै कर्जा उठन सकेको छैन। जसले गर्दा प्रोभिजन बढ्दै गइरहेको छ’, उनले भने, ‘पुरानै कर्जा नउठेको बेला नयाँ कर्जा हतार नगरेका हौं।’

यस्तो बेलामा बैंकहरूले सरकारी बन्ड, रिपो र रिजर्भ रिपो लगायत सुरक्षित क्षेत्रमा लगानी गर्न थालेको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .