कारोबार


काउन्टर साइक्लिकल बफर : आधा दर्जन वाणिज्य बैंक प्रभावित हुने

काउन्टर साइक्लिकल बफर : आधा दर्जन वाणिज्य बैंक प्रभावित हुने

फाइल तस्बिर


केशर बोगटी
भदौ २२, २०८० शुक्रबार ६:५४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ। 

विगत तीन वर्षदेखि स्थगनमा रहेको उक्त व्यवस्थालाई राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको हो। 

क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले यस्तो पुँजी न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम २.५ प्रतिशत पुँजी थप्नुपर्नेछ। 
राष्ट्र बैंकले अहिले नै यस्तो पुँजी थप्न निर्देशन भने जारी गरिसकेको छैन।

काउन्टर साइक्लिकल बफर लागु भएपछि बैंकहरुले कुल गार्हस्थ उत्पादन 

(जीडीपी)मा भएको वृद्धिको तुलनामा कर्जा विस्तार जति धेरै हुन्छ, त्यति नै धेरै पुँजीकोष कायम गर्नुपर्ने हुन्छ।

जीडीपीको ग्रोथरेटभन्दा कर्जा प्रवाहको ग्रोथरेट बढी हुँदा राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफरको व्यवस्था कायम गर्नुपर्ने हुन्छ। 

प्रारम्भिक तथ्यांक अनुसार बैंकहरुले बढीमा ०.५ प्रतिशतमात्रै थप पुँजीकोष कायम गर्नुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैंककै अधिकारीहरु बताउँछन।

यस्तो पुँजीकोष थप गर्न पनि बैंकहरुले आगामी असार मसान्तसम्मको समय पाउने उनीहरुले बताएका छन्।

बैंकहरुले ०.५ प्रतिशतमात्रै थप पुँजीकोष कायम गर्नुपर्ने अवस्था आउँदा आधा दर्जन बैंकहरु प्रभावित हुने देखिएको छ। 

गत वर्षसम्म पाँच वाणिज्य बैंकको पुँजीकोष ९ प्रतिशतको हाराहारीमा देखिएको छ। पुँजीकोष ९ प्रतिशत वा त्यसभन्दा कम हुने बैंकलाई यस्तो व्यवस्थाले प्रभाव पार्ने देखिएको हो। 

यस्तो व्यवस्थाले एनआईसी एशिया, प्रभु बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक र सिद्धार्थ बैंक प्रभावित हुने भएका छन्। 

काउन्टर साइक्लिकल बफर बैंकहरुको प्राथमिक पुँजीबाटै थप्नुपर्ने हुँदा यस्तो अनुपात टाइट भएका बैंकहरुलाई थप प्रभाव पर्ने देखिएको छ। 

अधिकांश बैंकको पुरक पुँजी सहज भए पनि प्राथमिक पुँजी टाइट नै देखिएको छ। 

प्राथमिक पुँजीकोषमा संस्थापक सेयरधनीले चुक्ता गरेको पुँजी, रिटर्न अर्निङ लगायतको पुँजी पर्दछ। त्यसैगरी पुरक पुँजीमा ऋणपत्र, प्रोभिजन लगायत पुँजीसमेत जोडिने हुँदा यस्तो पुँजी सहज हुने गरेको उनीहरुको भनाइ छ।

अहिले वाणिज्य बैंकहरुले कुल ११ प्रतिशत न्यूनता पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ। टायर १ क्यापिटल अन्तर्गत साढे ८.५ प्रतिशत  र टायर २ क्यापिटल अन्तर्गत २.५ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ।

यसअघि नै पुँजी कोषको दबाबमा रहेका बैंकहरु भने पुँजी वृद्धिको बाटो खोलिदिन लबिङमा लागेका थिए। तर, राष्ट्र बैंकले पुँजी वृद्धि गर्न दिने कुनै संकेत गरेको देखिँदैन। 

बैंकर्स संघका अध्यक्ष सुनिल केसी केही बैंकहरुलाई पुँजीकोषको दबाब देखिएको अवस्थामा मौद्रिक नीतिले केही नबोलेको बताउँछन। 

‘पुँजीकोष दबाबमा रहेका बैंकलाई काउन्टर साइक्लिकल बफरले केही असर गर्न सक्छ। ती बैंकलाई कुनै विकल्प दिन्छ भन्नेमा हामी आशावादी छौँ,’ उनले भने। 

पुँजीकोष नबढाउँदा यो वर्ष कर्जा ग्रोथको लक्ष्यसमेत पूरा नहुने केसीले बताए।

‘कतिपय बैंकहरूमा पुँजीको चाप भइरहँदा मौद्रिक नीति बोलेको छैन’, उनले भने, ‘कर्जा वृद्धि लक्ष्य पूरा गर्न पनि पुँजीमा सहजता आवश्यक छ। राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत सम्बोधन गर्ने अपेक्षामा छौँ।’

राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको व्यवसाय बढ्ने उनको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .