कला


उपेन्द्र सुब्बाको मनसरा : दूध कि रक्सी?

उपेन्द्र सुब्बाको मनसरा : दूध कि रक्सी?

श्रीजु सरल
बैशाख २३, २०८१ आइतबार १७:२५, काठमाडौँ

नेपाली सिनेमा जगतमा उपेन्द्र सुब्बा अब नौलो नाम होइन। आफ्नो पहिलो फिल्म 'जारी'बाट नै निर्देशकका रूपमा स्थापित हुन सफल सुब्बाको दोस्रो फिल्म 'मनसरा' यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा प्रदर्शनरत छ। पहिलो फिल्मबाट नै दर्शकहरूको मनमा गाढा छाप छोड्न सफल भएकै कारण पनि उनको दोस्रो फिल्ममाथि एउटा अतिरिक्त चुनौती थपिएको कुरा जगजाहेर छँदैछ।

निर्देशकका रूपमा गत वर्ष उनी यसरी उदाए कि उनी आफ्नो प्रतिस्पर्धी आफू स्वयं नै बने। सुब्बाको 'मनसरा' आउँदैछ भन्ने समाचार जसै बाहिरियो, दर्शकहरूको साझा र एउटै मात्र खुलदुली यही रहन गयो- जारीजस्तो मीठो बन्यो कि बनेन? दर्शकहरूको यस स्वाभाविक खुलदुलीलाई ध्यानमा राख्दै आउनुस् हामी 'मनसरा' केलाउनतिर लागौँ। सुरु गर्नुअघि यो भन्नैपर्ने हुन्छ कि जारी जाँड थियो भने मनसरा रक्सी हो। या हुनसक्छ दूध हो। जे होस्, मनसरा, जारी होइन। मनसरा, मनसरा हो।

ह्युमर
जाँडमा मर्चाजस्तै जसरी सुब्बाले जारीमा ह्युमर मिसाएर फिल्मलाई मादकता दिएका थिए, मनसरामा पनि त्यो मर्चा अर्थात् ह्युमर पर्याप्त भेटिन्छ। आखिर, रक्सी बन्ने त्यही मर्चा मिसाएको जाँडलाई बफ्याएर न हो! तर, जाँड बाफ्फिएर रक्सी बनिसक्दा यसको मादकता पनि बेग्लै स्वादको भइसकेको हुन्छ।

त्यसो त जुन कथा भन्न निर्देशक सुब्बा नख्खिपोटको खुवा पसलमा बसेका छन्, त्यो नै जाँड र रक्सीको बोर्डरलाइन हो। फिल्मको द्वन्द्वको केन्द्रविन्दू हो। त्यहीँनेरबाट मानौँ ह्युमरको स्वाद टाठोबाट टर्रो भइदिन्छ। जाँड बाफ्फिएर रक्सी भइदिन्छ। जारीको ह्युमरले हिजो दर्शकको जिब्रो पड्किएको थियो भने आज मनसराको ह्युमरले दर्शकहरू जिब्रो त पड्काउनेछन् नै, सँगै टाउकोसमेत झड्कार्नेछन्।

र, यो निर्देशक वा लेखकले नभएर तिनले छनोट गरेको जटिल विषयवस्तुले माग गरेको स्वाद हो- रक्सीजस्तै टर्रो ह्युमर! वंश धान्ने छोरो चाहिएको बाजे, अर्कैको बिउ किन्न लाखौँ ऋण लिन्छ! झट्ट सुन्दा हाँसो लाग्ने यही कुरा सोच्दै जाँदा त कति टर्रो! होइन?

तर, टर्रो शब्द साह्रै द्विअर्थी हो। यसले एकसाथ मीठो पनि बुझाउँछ र नमीठो पनि। कसरी? त्यो पनि अगाडि खुल्दै जाला।

समाज
पहाडबाट कथा भन्न काठमाडौँ खाल्डो झरेका निर्देशक सुब्बाले यस खाल्डोको विशेषतालाई च्याप्प समाउन सकेका छन्। त्यो हो, उपत्यकाभित्रको जातीय विविधता। र त्यससँगै जोडिएर आउने सांस्कृतिक विविधता।

मान्छे सामाजिक प्राणी हो। मान्छेको कथामा समाज जसै जोडिन्छ। तर मनसरा, मान्छेको कथाभन्दा बढी समाजको कथा हो। नेपाली समाजको त्यस्तो कथा हो मनसरा, जसलाई भन्न चाहिँ मान्छे जोडिएका हुन्। समाजको कथा भएकै कारण र खाल्डोको कथा भएकै कारण यसमा अनेक जातका मान्छे जोडिएका हुन्। र काठमाडौँ खाल्डो ठूलो देशभित्रको एउटा सानो देश न हो। यसर्थमा, निर्देशक सुब्बाले मनसराको माध्यमबाट सिङ्गो देशभर चर्किँदै आएको जातीय मतभेद र आन्दोलनलाई सम्बोधन गर्ने कोसिस गरेका छन्।

सँगसँगै, बाँझोपनका कारण स्त्री जाति र पुरुष जातिबीच युगौँदेखि चलिआएको अहम् र आत्मसम्मानको लडाइँलाई पनि निर्देशक सुब्बाले बिम्बात्मक रूपमा केलाउने जमर्को गरेका छन्।

हिजो जारीको पात्र नामसाङ पोइल गएकी स्वास्नी फिर्ता ल्याउँदा पनि 'नामर्द' ठहरिएको थियो। र आज मनसरामा रिसाएकी स्वास्नी फकाउन नजान्ने र स्वास्नीमाथि सौता हाल्ने दधिराम पनि 'नामर्द' नै ठहरिएको छ। यसरी हेर्दा निर्देशक सुब्बा आफ्ना फिल्महरूमार्फत् समाजले पुरुषको काँधमाथि बोकाएको मर्दाङ्गीको भारको कथा भन्न खोजिरहेका देखिन्छन्। त्यसो त जारी र मनसरा दुवैमा दोहोरिएको बाँझोपन र त्यसले महिलामाथि पर्न गएको सामाजिक र मनोवैज्ञानिक असरबारे पनि सुब्बाले विचार विमर्श गर्ने प्रयास गरेको देखिन्छ। र जारीमा भन्दा मनसरामा नारीको आवाज अझै स्पष्ट र चर्कोगरी

सुनिएको दर्शकले महसुस गर्नेछन्।

नारी आवाजको कुरा गर्दैगर्दा जातीय विविधताले समेत महिलाको मनोसामाजिक अवस्था निर्धारण गर्ने मिहीन सत्यलाई मनसराले केलाउन खोज्नु प्रशंसायोग्य लाग्छ। लोग्नेसँग नोकझोँक हुँदा विद्रोही लवजमा नेवारकी छोरी नानीमाया बाजेलाई भन्छे- 'म टेरो बाहुनी बुदी होइन!' हुन पनि एउटी बाहुनकी छोरीभन्दा नेवारकी छोरी तुलनात्मक रूपमा ससुरालीमा बढी स्वच्छन्द हुने आँट गर्नसक्छे। किन? किनभने, नेवार जातिले आफ्ना छोरीचेलीको मनोसामाजिक भविष्यको लागि आफ्नो संस्कार एवं संस्कृतिमा दूरदर्शिता एवं उदारता देखाएको पाइन्छ। जुन संस्कृतिको बाहुन जातिभित्र भने अभाव देखिन्छ।

सानैमा बेलसँग विवाह गरिसकेका नेवारी छोरीचेलीहरू लोग्नेसँग पारपाचुके भइहाले वा लोग्नेको अकालमै देहान्त भइहाले पनि सिन्दुर लगाएर र शृंगार गरेर निर्धक्क हिँड्न सक्छन् र पाउँछन् पनि। बाहुन जातिमा भने लोग्नेसँग छुट्टिएपछि वा लोग्नेको देहान्तपछि शृंगार गरेर हिँड्ने छोरीचेलीको चरित्रमाथि प्रश्न उठाउने प्रचलन विकृतिको रूपमा रहिआएको छ। यस्ता सामान्य लाग्ने तर महिलाको व्यक्तिगत मनोविज्ञानमा गहिरो असर पार्ने विषयमा जातीय भिन्नताले पनि अहम् भूमिका खेल्ने यस प्रकारको मिहीन तथ्यलाई पात्रहरूका माध्यमबाट छुन, केलाउन सक्नु उल्लेखनीय लाग्छ।

बिम्ब
फिल्ममा प्रयोग गरिएको सबैभन्दा ठूलो बिम्ब हो, बाँझोपन। जुन स्वयं कथाको एउटा विषयवस्तु समेत हो। दधिराम पोखरेल उर्फ बाजे आफ्नै जातिकी स्वास्नीसँग हुँदा पनि त्यही समस्याले ग्रसित थियो। तर, ऊ समाधान खोज्दै अस्पताल पुगेको थिएन। तर, फरक जातिकी नानीमायासँग हुँदै गर्दा ऊ कमसेकम अस्पतालसम्म पुगेको छ। र अझै पर पुगेर लिम्बुनीसँग हुने रहर गर्दैगर्दा ऊ अर्कै जातिको, अरूकै सन्तानलाई आफ्नो सन्तान स्वीकार्न समेत लचिलो भइदिएको छ। र यो सबै भोगिसकेपछि अथवा भनौँ आफ्नो जात त्यागेर, अरूको जात स्वीकार्न सिकिसकेपछि बल्ल ऊ मान्छे भएको छ। त्यसबेला बाँझोपनको समस्या उसलाई गौण लागेको छ र जातीय सहिष्णुता र स्वीकार्यता नै परिवार, समाज र देशको नाजुक स्वास्थ्यको उपचार हो भन्ने उसले बुझ्न सकेको छ।

यसरी, बाँझोपनलाई एकैसाथ बिम्ब र विषयवस्तुको रूपमा प्रस्तुत गरिनुले फिल्मलाई बहुपत्र (लेयर्ड) बन्न समेत सघाएको छ।

साथै, फिल्ममा अरू थुप्रै बिम्ब छन् जसले सिनेमाको दृश्य भाषा र दर्शकको कला चेतलाई पोषण पस्किने काम गरेका छन्। भैँसीले ढलाइदिएको लिम्बुनीको बाथरूमलाई नयाँ टेको दिने बाजेको प्रयास, तान्छोसँगै बाजेले खेलेको पानीको फोका, मोटरसाइकलमा हुँदाहुँदै ज्याकेटको खल्तीमा राखेको अतिरिक्त ऐना, मानाङ र मनरानीको त्यो इन्द्रेणीबुट्टे गलबन्दी आदि बिम्बले कोरा संवादले छुन नसक्ने गहिराइमा पुगेर दर्शकको हृदय स्पर्श गर्नेछन्।

त्यसो त, फिल्मको नाम आफैमा पनि एउटा बिम्ब हो- जातीय सहिष्णुताको। मनसरा- त्यस्तो एक जातको धान जुन अन्य जातको धानसँगै मिसाएर रोपे मात्रै राम्रो उब्जनी दिने गर्छ।

पात्रत्व
जारीमा जस्तै यस फिल्ममा पनि सुब्बाका नारी पात्रहरू हक्की र पुरुष पात्रहरू निम्छरो देखिएका छन्। टाइमलाइन अनुसार हेर्ने हो भने सुरुमा जेठी स्वास्नीलाई कुटेर मध्यरातमा घरबाट निकाल्ने बाजे कालान्तरमा कान्छी बुढीबाटै कुटिएको र त्यागिएको छ। बलियोबाट निम्छरो हुँदै गएको यस पात्रको यहाँनेर आर्क नकारात्मक देखिएको छ भने अर्कोतिर, स्वास्नीलाई छोड्ने र सौता हाल्ने धम्की दिने, समस्याको कारण नै स्वास्नी भएको किटान गर्ने यस पात्रले फिल्मको अन्त्यसम्म आइपुग्दा स्वास्नीको चरणमा परेर गल्ती आफ्नै भएको स्वीकार्दै अर्को एउटा सकारात्मक आर्क समेत बनाएको छ। यद्यपि, सकारात्मक आर्कमा समेत यस लोग्ने पात्र स्वास्नी पात्रको तुलनामा निरीह नै देखिएको छ।

यसरी पारिस्थितिक र चारित्रिक दुवै रूपमा, नकारात्मक वा सकारात्मक जस्तै पात्र वृत्ति बनाए पनि बाजे पात्र आफ्ना दुवै स्वास्नी, प्रेमिका, घर र समाजको अघि पनि निम्छरो नै प्रतीत हुन्छ।

उता आफ्नो वाचा आफै पूरा गर्न नसकेको परदेशी पात्र मानाङ पनि आफ्नी सोल्टिनी मनरानीको अघि निम्छरो नै देखिन्छ। आफूहरूबीचको सम्बन्ध राख्ने कि भत्काउने भन्ने निर्णय आफ्नो हातमा लिन नसक्नु वा नचाहनु र त्यसको निर्णायक सोल्टिनीलाई नै बनाउनुको पछाडि मानाङको ग्लानिबोध झल्किन्छ। तर, बोलेको कुरा गरेर देखाउने मनरानी हक्की देखिन्छे।

उता आफ्नो निर्णयमा अडिग रहनसक्ने नानीमाया पनि नेपाली सिनेमाले पाएको बलियो र स्वच्छन्द नारी चरित्र हो। उसकी सौता पात्रले पनि आफूलाई लगाएको आरोप गलत भएको प्रमाणित गर्न सकेकी छ। उसको पात्र पनि समग्रमा हेर्दा निम्छरो लाग्दैन।

तर, यहाँनेर भन्नैपर्ने कुरा के हो भने, मनरानी र मानाङ यी दुवै पात्रलाई भने निर्देशकले आदर्श पात्र बनाउने कोसिस गरेका छन्। पालामको माध्यमबाट कविता र जीवन-जगतबारे दर्शन बोल्ने यी दुई पात्रहरूलाई सुब्बाले सबै दोषबाट अछुतो राख्न खोजेको प्रतीत हुन्छ।

फिल्मका अन्य पात्र ग्रे जोनमा भेटिँदै गर्दा यी दुई पात्रहरूलाई भने ह्वाइट जोनभित्र अट्ने गरी लेखिएको छ, मानौँ यिनमा मानवीय गुण होलान् तर, दोष छैनन्।

अभिनय
छोटो भूमिकामा देखिएका दयाहाङ राईको लवज एवं चालढाल कबड्डी सिरिजको काजी, जारीको नामसाङ, रङ्गेलीको विजय या फेरि तान्द्रोको घाइते गंगाबहादुरको जस्तो छैन। बरु, मनसराको मानाङको जस्तै छ।

मनरानी लिम्बूको भूमिका निभाएकी मिरुना मगरको वास्तविक थर फिल्म हेरुञ्जेल दर्शकलाई सम्झना आउनेछैन र सम्झने कोसिस पनि गर्ने छैनन्।

नेपाली सिनेमाकी भर्साटाइल अभिनेत्री मेनुका प्रधानले फेरि एकपटक पात्रमा छिरिरहँदा कलाकारमा कलाकार रहिरहँदैन भन्ने कुरा पुष्टि गरेकी छन्। मनसराले उनको अभिनय क्षमताको भरपूर सदुपयोग गरेको छ।

पछिल्लो समय एकपछि अर्को सिनेमामा नजर आइरहेका प्रवीण खतिवडाले दधिरामको पात्रमा प्राण भरेका छन्।

फिल्ममा कुनै पनि कलाकारको अभिनय आँखामा बिझाउँदैन। क्यामियोमा देखिएका कवि विप्लप प्रतीक र गायक/अभिनेता सत्यराज आचार्यको अभिनय कौशल खानापछिको डिजर्टजस्तै मीठो लाग्नेछ। बालकलाकार नेनाहाङ राईको काम प्रशंसनीय लाग्छ। ड्राइभर चरित्रमा निर्देशक सुब्बाको आफ्नै उपस्थितिले फिल्मलाई तरल बनाउन सघाएको छ।

मनसरा
निर्देशक सुब्बाको अघिल्लो फिल्म जारी भावको खोलो थियो भने विचारको तलाउ। अर्थात् त्यसमा भाव पक्ष टड्कारो थियो भने विचार पक्ष गौण थियो। त्यसको ठीक विपरीत मनसरामा भने भाव पक्ष गौण छ र विचार पक्ष टड्कारो छ। यसर्थमा, यो फिल्म भावको तलाउ हो भने विचारको खोलो हो।

यसरी विचार टड्कारो रूपमा आउँदा मनसरा गौण बसेको जाँड गुम्सिएर रक्सी बन्न पुगेको पो हो कि? एउटा प्रौढ निसन्तान व्यापारी जो दिन रात खुवा बनाएर बेच्न तल्लीन छ र जसलाई सन्तान जन्माउने रहर पनि छैन। जो सन्तान जन्माउने विषयमा केही कुरा सुन्नै चाहँदैन, ऊ कोही मसँग यो (प्रौढ) उमेरमा सन्तानको बहस गर्न आउला भनेर जनसंख्या, जन्मदर लगायतका विवरणहरू कण्ठ गरी तयारी अवस्थामा बस्दो हो? न त भैँसीको दूध दुहुन र सुङ्गुरको लिदी सोहोर्नमै अस्तव्यस्त भएको एउटा सामान्य किसानले नै त्यस्ता विवरण घोकेर बस्दो हो। तर, विचारलाई अघि लगाएर हिँडेका मनसराका आम पात्रहरू ती विवरण समाजसँग वकालत गर्दै गर्दा यसरी पेस गर्छन्, मानौँ तिनीहरू सरोकारवाला निकायमा सम्बद्ध छन्। या फेरि त्यस्ता पात्रहरूसँग तिनको बरोबर हिमचिम छ। या फेरि देश र विश्वका अनेक गम्भीर विषयवस्तुमाथि तिनीहरू सजग र सचेत छन्!

यस्तै, मनरानीले दोषीका सामु आफू स्वयंले बयान दिँदै गरेको दृश्य पनि नभइदिएको भए दुईवटा कुरा हुनेथियो। पहिलो त, मास अडियन्सलाई त्यसले केही फरक पार्ने थिएन। र दोस्रो, (कला र दर्शनको चेत राख्ने) सीमित अडियन्सले त्यसो हुँदा कबाबमा कबाब मात्रै भेट्ने थिए।

अनि, दैलोनेर पुगेर बिदा हुनै लाग्दा बाजेको हातको खुवा, आँखाको ग्लानिबोध, क्षमायाचना र नानीमायाको आँखा र अनुहारमा पोतिएको शंका, उत्साह अनि विजयको मिश्रित भावलाई (खुवा संवाद) टड्कारो विचारले फेरि एकपटक हस्तक्षेप गरेको हो कि?

यसरी भाव पक्षलाई गौण बनाउँदै टड्कारो उभिएको विचार पक्षले मनसरालाई ठाउँठाउँमा अमिलो (नमीठो खालको टर्रो?) पारिदिएको कुरा भने नकार्न सकिँदैन। यसलाई यसरी भनौँ, फिल्म खुवा हो भने मनसरा दूध र रक्सी (झुक्किएर?) मिसिएर तयार भएको खुवा हो।

तर, प्रश्न दूध कि पानी? भनेर गर्ने हो भने चाहिँ यसको जवाफ या त दधिराम बाजेले दिन सक्लान् या त फेरि निर्देशक सुब्बा स्वयंले नै। किनभने, जुन हदसम्मको जटिल विषयवस्तुमाथि फिल्म बनेको छ त्यसमा यत्तिको स्पष्टता कमसेकम आजको समयमा कि सुब्बाले दिन सक्थे या फेरि सुब्बाले दिनसक्थे। हो, उपेन्द्र सुब्बाको प्रतिस्पर्धी कमसेकम आजको दिनसम्म उपेन्द्र सुब्बा आफै हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .