कला


‘पुजार सार्की’मा आर्यनले गरे आफ्नै बुवाको लुक्स कपी

‘पुजार सार्की’मा आर्यनले गरे आफ्नै बुवाको लुक्स कपी

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:४३, काठमाडौँ

जेठ १० गते रिलिज हुने ‘पुजार सार्की’मा अभिनेता आर्यन सिग्देल ब्राह्मण चरित्रमा देखिँदै छन्। वास्तविक जीवनमा आर्यन पण्डितका छोरा भए पनि पूजापाठ भने गर्दैनन्। 

‘म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भए तापनि म खासै टीका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनुपर्दैन भन्ने सोचमा विश्वास राख्छु,’ उनले भने।

तर ‘पुजार सार्की’मा आर्यनको लुक्स उनकै पिताबाट प्रभावित छ। फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

‘मलाई पुजारीको चरित्र निर्वाह गर्न मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। दिनेशले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागेपछि मैले दिएँ। त्यो फोटोअनुसार मेरो लुक्स ट्राई गर्नेबित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो’, आर्यनले भने।

आर्यनको लुक्स बाहिरिएपछि बुवा निकै खुसी भए। बुवाले ‘निकै सुहाएको छ, मेरै कपि गरिछस्’ भनेको सम्झन्छन् उनी। यस फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन्। अञ्जना दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्रमा छिन्। यसमा आर्यन पुजारी छन्। उनको प्रेम अञ्जनासँग हुन्छ।

आफ्नो चरित्र निकै चुनौतीपूर्ण रहेको सुनाउँछन् उनी। ‘यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई ‘मर्ज’ गर्दा ‘पुजार सार्की’ अलिक टफ भयो’, उनले भने।

डेब्यु फिल्मबाटै आर्यन ‘लभरब्वाई’ अभिनेताका रूपमा चिनिन्छन्। ‘पुजार सार्की’बाट उनी आफ्नो छवि बदल्ने कोसिसमा छन्। यो चलचित्र ब्लकबस्टर हुनेमा कुनै शंका नमानेका उनले आगामी दिनमा फरक भूमिका गर्न पाउँदा खुसी हुने उनको भनाइ छ।

‘हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको चलचित्र पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु’, आर्यनले भने।

यस फिल्मले करियरमा केही इँटा थप्नेमा आर्यन विश्वस्त छन्। आफूलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहेका निर्माताहरूको डर मेटाइदिने उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad