कलाकार नीर शाहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।
शुक्रबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा शाहलाई ‘परान’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई अवार्डसहित पुरस्कार प्रदान गरेका हुन्।
पारिवारिक कथावस्तुमा बनेको फिल्म ‘परान’ मा नीर शाह बुवाको भूमिकामा छन्। २०८२ सालमा रिलिज भएको ‘परान’ वर्षकै सर्वाधिक कमाउने फिल्म समेत हो। यस फिल्मले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
यो फिल्म वर्षकै धेरै कमाउने फिल्म मात्रै बनेन, कलाकार नीर शाहको करिअरकै टर्निङ प्वइन्ट पनि बन्यो। किनकि शाहले यस फिल्मबाट पाँच दशकभन्दा लामो अभिनय यात्रामा ठूलो सफलता हात पारे।
७२ वर्षीय शाहले अभिनयबाट चौतर्फी वाहवाही पाए। यस्तो प्रतिक्रिया आजसम्म नपाएको उनले केही अन्तर्वार्तामा स्वीकारेका छन्।
उनले ‘परान’ लाई आफ्नो यात्राको क्लाइम्याक्स समेत भनेका छन्। आज यसै फिल्मबाट उत्कृष्ट अभिनेता घोषित हुँदै राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएका छन्।
Shares

प्रतिक्रिया