अंग्रेजी महिनाको अन्तिम साता नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक गायक विधान श्रेष्ठ गुञ्जिने भएका छन्। उनले नौ वर्षअघि पनि आफ्नो प्रस्तुति दिएका थिए।
कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा हुने पलेँटी कार्यक्रमका निम्ति गायक विधान पलेँटीका वाद्यवादकसँग अभ्यासमा जुटिरहेका छन् । विधान श्रेष्ठ लोक तथा देशभक्तिपूर्ण गीतका लागि परिचित गायक हुन्।
उनी साङ्गीतिक परिवारमा हुर्किएका गायक हुन्। सुनसरीका चर्चित सङ्गीतकार तथा गीतकार आफ्ना पिता विजय श्रेष्ठको मार्गदर्शनमा आफ्नो साङ्गीतिक व्यक्तित्व विकास गरेका हुन्।
विजय श्रेष्ठ जसले प्रसिद्ध गायक दीप श्रेष्ठका निम्ति पनि गीति सिर्जना गरेका छन्। विधानको स्वरमा गुञ्जेका ‘माछी मार्न जाऊँ दाजै कालापानीमा’, ‘बुहारी झारझैँ लजालु’, ‘आज नाच्छे मेरी गौरी’, ‘कान्छीको अल्लारे जोवन’ जस्ता थुप्रै लोकप्रिय गीत छन्।
‘पलेँटीको मञ्चमा नौ वर्षपछि फेरि गाउन पाउँदा अत्यन्त खुशी लागेको छ। मैले सम्मान गर्ने धेरै अग्रज कलाकारले यस मञ्चलाई गौरवमय बनाइसक्नु भएको छ। त्यसैले यो मञ्च मेरो निम्ति साङ्गीतिक मन्दिर जस्तै हो। मेरो झण्डै तीन दशक लामो सांगीतिक यात्रामा यो कार्यक्रमले थप उचाई दिने आशा लिएको छु,’ विधानले भने।
पलेँटीका संयोजक संगीतकर्मी आभास अहिले विधान झन् परिपक्व र परिमार्जित सुनिने बताउँछन्। विधानका गीतमा मौलिकताको छुट्टै पहिचान रहेको आभासकाे भनाइ छ।
पलेँटी नेपालयद्वारा आयोजित विशिष्ट सांगीतिक शृङ्खला हो, जहाँ गायक, संगीतकार र रचनाकारहरू श्रोतासँग निकटतम रहेर प्रस्तुत हुने गर्छन्। नेपाली आधुनिक संगीतलाई पुनर्जीवित गर्ने तथा कलाकार र श्रोताबीचको दूरी कम गर्ने उद्देश्यले पलेँटी २१ वर्षदेखि आयोजना हुँदै आएको छ ।
यसपालीको पलेँटी यही जुन महिनाको सप्ताहान्त अर्थात् २६ र २७ तारिख शुक्रबार र शनिबार साँझ हुनेछ। अनलाइनबाटै प्रत्यक्ष हेर्न मिल्नेगरि लाइभ स्ट्रिमिङको पनि व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया