फिफा विश्वकप फुटबलको माहोलबीच रामबाबु सुवेदीको शब्दमा बालगीत ‘भकुण्डो’ सार्वजनिक भएको छ।
काठमाडौँमा एक कार्यक्रम गर्दै ‘बालबालिकाका निम्ति बालगीत’ अभियानअन्तर्गत किताब चरो नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत विमोचन गरिएको हो।
सार्वजनिक गीतमा गायक प्रताप दासको स्वर सुन्न सकिन्छ। टेकेन्द्र नेपाली कम्पोजर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन्।
एक फुटबलप्रेमी बालकको सपना, चाहना र खेलाडी बन्न गर्ने प्रयत्नलाई अभिनय कला र नृत्य कलाको भावद्वारा भिडिओमा प्रस्तुत गरिएको छ।
सिविन नेपालकी पूर्व कार्यकारी निर्देशक तथा बालअधिकारकर्मी सुम्निमा तुलाधरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक तथा समालोचक झलक सुवेदी, स्वस्तिश्री गुरुकुलकी प्रबन्ध निर्देशक मिना महर्जन, त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामालगायत टिम सदस्यहरू थिए।
साथै गीतकार रामबाबु सुवेदी, संगीतकार टेकेन्द्र नेपाली, भिडिओ निर्देशक आचार्य गोपाल, कोरियोग्राफर साहारा कोइराला र सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रीस’, मुख्य बालकलाकार साक्षत नेपालसहितका बालबालिकाहरूको उपस्थिति थियो।
लेखक झलक सुवेदीले बालबालिकामा फुटबलप्रेम र साहित्यप्रेममा लगाव बसाल्न सक्ने क्षमता प्रस्तुत गीतमा पाइने सुनाए।
त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामाले बालगीतको हिरा रामबाबु सुवेदी रहेको बताउँदै बालगीत परियोजनाको निरन्तरताको शुभकामना दिए।
संगीतकार टेकेन्द्र नेपालीले विश्वकप चलिरहेको सन्दर्भमा यस फुटबलको गीत समय सान्दर्भिक हुने बताए। ‘यस भिडियोमार्फत हरेक बालबालिकामा विश्वकप फुटबल खेल्ने सपना जगाओस् र भविष्यमा हरेक नेपालीमा पनि विश्वकप फुटबल खेल्ने प्रेरणा मिलोस्,’निर्देशक आचार्य गोपालले भने।
यो बालगीत रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलमा अंग्रेजी सबटाइटलसहित संसारभरका बालबालिका र फुटबलप्रेमीहरूले हेर्ने सक्ने छन्।
Shares

प्रतिक्रिया