आइतबार राति चितवनको लटौली स्याङ्चुअरी रिसोर्टको एक कोठामा प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने बसेका थिए।
राजनीति र महाधिवेशनका गम्भीर एजेन्डाहरूमा कुराकानी हुँदाहुँदै माहोल केही हलुका बन्यो। निरन्तरको छलफलले थाकेपछि गुनगुन सुरु भयो। जहाँ एउटा मिठो धुन गुञ्जियो। त्यो धुन थियो अविनाश आचार्यको।
गीत गाउने माहोल बनिरहँदा बालेनले ठ्याक्कै धुन समाते र अविनाशलाई भने: सुरु गरौँ न त।
त्यसपछि गुञ्जियो एउटा मौलिक र मार्मिक स्वर। चर्चित लोकगायक झलकमान गन्धर्वको कालजयी गीत अविनाशले गाउँदा कोठामा रहेका सबैजना मन्त्रमुग्ध बने।
र्यापर समेत रहेका बालेनलाई त्यो स्वर यति मन पर्यो कि उनले मध्यराति नै सोको भिडिओ फेसबुकमा पोस्ट गरे। जहाँ अविनाश झलकमानको चर्चित गीत ‘हे बरै’ गाइरहेका देखिन्छन्।
४ मिनेट २५ सेकेन्ड उक्त भिडिओ सार्वजनिक भएसँगै यतिखेर अविनाश भाइरल छन्। उनको गायकीमा झलकमानको झलक आएको भन्दै सामाजिक प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन्। भिडिओलाई फेसबुकमा ३२ लाख बढीले हेरिसकेका छन्।
रोचक के छ भने अविनाश रास्वपाका सभापति रवि लामिछानेका स्वकीय सचिव हुन्।
अविनाशले गाएको सुनिसकेपछि बालेन शाहले दिएको प्रतिक्रिया निकै रोचक र वजनदार थियो।
बालेनले गरेको तारिफ सम्झिँदै अविनाशले भने, ‘उहाँले चाहिँ यो त सम्पत्ति हो यार! यो तपाईं आफैँसँग भएको भएर के छ भन्ने चिज तपाईंलाई महसुस भएको छैन होला। तर तपाईंसँग जे छ, त्यो खतरा छ भन्नुभयो।’
अविनाशको स्वरमा जुन रैथानेपन र गन्धर्व गायनको झलक सुनिन्छ, त्यसको जरा उनको बाल्यकालसँग जोडिन्छ। बाग्लुङको माटोमा हुर्किएका अविनाश सानैबाट झलकमानका गीतहरू सुन्थे।
‘बाग्लुङमा जन्मिएको मान्छे, बच्चैदेखि लोकगीतमा बढी झुकाव हुन्थ्यो। प्रायजसो पुराना गीत सुन्थेँ। हजुरबाहरूले एकदमै रेडियो सुन्नुहुन्थ्यो। हामी त्यही रेडियो सुनेर र हुर्किएको हो नि। अनि अब यस्ता यस्ता गीतहरू बजिरहन्थे,’ उनले भने, ‘सायद उहाँको निधन हुँदा त्यो गीत रेडियो नेपालमा धेरै बजेको थियो। झलकमान जुन पिचमा गाउनुहुन्थ्यो, त्यो पिचमा बराबर गाउनु जोकोहीका लागि सहज छैन। मलाई उहाँको त्यही शैलीले सधैँ आकर्षित गर्यो।’
झलकमानका फ्यान उनले पनि गीतहरू गाउन थाले। कहिले स्कुलमा कार्यक्रम त कहिले गोठालो जाँदा दोहोरी खेल्ने गरेको स्मरण गर्छन् उनी। जसले आफूलाई संगीतप्रति झुकाव बढाएको उनले बताए।
अविनाश गीत मात्र गाउँदैनन्, शब्दको अर्थ र त्यसको सामाजिक/सांस्कृतिक गहिराइसँग पनि उत्तिकै जानकारी राख्छन्। उनले गाएको गीतको शब्दलाई लिएर केहीले गलत गाएको भन्दै कमेन्ट गरे। तर अविनाश ती कमेन्ट गर्नेहरूले नै गीतको वास्तविक मर्म र नेपाली भाषाको गहिराइ नबुझेको दाबी गर्छन्।
गीतको अर्को एउटा अन्तराको व्याख्या गर्दै अविनाशले समाजले बिर्सँदै गएको टिपिकल शब्दको अर्थ खोतले। गीतमा एउटा लाइन आउँछ: आमाले सोध्लिन् खै छोरा भन्लिन्, रजहै खुल्यो भन्दिए।
जुन हरफबारे उनी भन्छन्, ‘आमाले सोध्लिन्, खै छोरा भन्लिन्, रजहै खुल्यो भन्दिए भन्ने छ नि, त्यो चाहिँ एउटा मिसक्यारेजको सिम्बोल हो। जस्तो रजस्वला बन्द भयो भने गर्भ रहन्छ। तर, रजस्वला खुल्यो भने गर्भ तुहिन्छ। त्यो टिपिकल भाषा हो। आमालाई मर्यो भन्न नसकेर गर्भ तुहियो भन्ने सम्मको सांकेतिक शब्द प्रयोग गरेर उहाँले गीत बनाउनुभएको हो जस्तो लाग्छ। यसको व्याख्या भएको छैन। तर, त्यहाँ प्रयोग भएका शब्दहरूको अर्थ खोज्दाखेरी गहिरो हुन्छ।’
अविनाशको गायकीबारे रवि भने पहिल्यैदेखि जानकार थिए। तर, बालेनले भर्खर थाहा पाएको सुनाउँछन् उनी।
‘नयाँ सरकार बनिसके पछाडि हामीले नजिक रहेर काम गर्नुपर्ने भयो, धेरै समय सँगै बस्ने र छलफल गर्ने माहोल बन्यो। कहिलेकाहीँ मान्छेहरू लगातार लामो समयसम्म सँगै बसिरहँदाखेरि स्वतः अनअफिसियल भइँदो रहेछ,’ उनले भने, ‘त्यस्तो बसाइमा त्यत्तिकै गुनगुनाउने, कोहीले केही कुरा सोध्दा कथा वा कविता जस्तो शैलीबाट उत्तर दिने, अनि कहिलेकाहीँ चाहिँ गजलको सटायर हान्ने जस्ता रोचक कुराहरू हुन्थे। एकदुई वटा भेटहरूमा बालेनजीले तपाईं कस्तो राम्रो गाउनुहुँदो रहेछ भनेर मेरो गायनको तारिफ गर्नुभएको थियो।’
अहिले बजारमा आउने गरेका गीतहरूमा हलुका शब्दको बाहुल्य रहेको उनले बताए। क्षणिक मनोरञ्जनका लागि बन्ने सतही शब्दका गीतहरूले मौलिक कला र संस्कृतिलाई मारिरहेको उनको भनाइ छ।
‘हामीले तिनै कुराहरू डिस्कसन गर्यौँ। मान्छेहरू अहिले हलुकाहलुका शब्दहरूका गीत बन्छन्। यसले चाहिँ तपाईंको हाम्रो कलालाई पनि मारिरहेको छ, हाम्रो संस्कृति मारिरहेको छ भन्ने कुरा भएको थियो खासमा। त्यहीबिचमा यो गीत गाउने माहोल बन्यो,’ आचार्यले भने।
सामाजिक सञ्जालमा भिडिओ भाइरल भएसँगै अविनाशलाई बधाई र सन्देशहरूको ओइरो आइरहेको छ।
यसले आफूलाई निकै खुसी लागिरहेको बताउँदै उनले भने, ‘मसँग पहिले चिनजान भएका, मसँग नजिक भएका, मलाई जानेका बुझेकाहरूले त म्यासेजहरू गरिरहनुभएको छ। तपाईंको स्वरले बल्लबल्ल न्याय पायो भन्दै हुनुहुन्छ। अनि जसले चिन्नुभएको थिएन, अनि उहाँहरूले चाहिँ तपाईंसँग यो पनि कला छ रहेछ भन्नुभएको छ। एकदम एकदम राम्रो फिडब्याक आइराछ।’
यसअघि अविनाशले ‘अब फर्केर आउँदिन म’ गीत रेकर्ड गरिसकेका छन्। जसमा जेनजी आन्दोलनका सहिदहरूको सम्झना र विपीन जोशीको शव नेपाल ल्याउने प्रसंग जोडिएको छ।
Shares

प्रतिक्रिया