असोजको २ गतेबाट रिलिज हुने फिल्म ‘झिंगे दाउ २’ को पोष्टर सार्वजनिक गर्दै प्रचारप्रसार सुरू गरिएको छ। निर्माण टिमले तीन पोस्टर सार्वजनिक गरेको छ।
सार्वजनिक तीन नयाँ पोस्टरले फिल्मको विभिन्न पाटोलाई चित्रित गरेको छ। एक पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्ट भावुक बनेका छन्।
आर्यन सिग्देललाई पनि समावेश गरिएको छ। पोस्टरमा मुख्य चार पात्र अचम्मित भावमा देखिएका छन् भने आर्यन उनीहरूलाई रोक्ने प्रयास गरिरहेको जस्तो देखिन्छन्। पोस्टरले दशैंको उत्साह झल्काएको छ, जसमा मुख्य चार पात्र पर्वको उमंगमा रमाइरहेका देखिन्छन्।
यस फिल्ममा केकी , आँचल, महेश, कुशल, आर्यन र हिउँवालासहित सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान, विनोद कुमार पौडेल लगायतको अभिनय छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथी कलाकारको रुपमा काम गरेका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित यस फिल्ममा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको छ। फिल्ममा सुलभ प्रतिक, प्रतिक देउजा, समिक्षा देउजाको लगानी छ।
३ वर्ष अगाडि रिलिज भएको फिल्म ‘झिंगे दाउ’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो।
Shares

प्रतिक्रिया