रणवीर कपुर, आलिया भट्ट र विक्की कौशलको आगामी फिल्म ‘लभ एन्ड वार’ को सेटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुम्बईको फिल्म सिटीस्थित रोयल पम्प स्टुडियोमा सर्ट सर्किटका कारण करेन्ट लागेर ४२ वर्षीय सिकर्मी चन्द्रधारी सिंह यादवको मृत्यु भएको हो।
घटनाको समयमा अभिनेत्री आलिया सेटमा फिल्मको छायांकन गरिरहेकी थिइन्। फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइजले संजय लीला भन्साली फिल्म निर्देशन गरिरहेको भन्साली प्रोडक्सनले मृतकका छोराछोरीको शिक्षा सुरक्षित गर्न ५० लाख भारतीय रुपैयाँ दिन माग गरेको छ।
फेडरेसनका महासचिव अशोक दुबेले घटनापछि कामदारको काम गर्ने समयबारे प्रश्न उठाएका छन्। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, चन्द्रधारी सिंह यादव दुर्घटना हुनुभन्दा अघि लगातार तीन दिनसम्म धेरै कडा तालिकामा काम गरिरहेका थिए। उनी बिहान ७ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म ड्युटीमा थिए।
फेडरेसनले लगभग २० घण्टा लगातार काम गर्दाको थकान र सुरक्षा सावधानीको अभावले दुर्घटना भएको हुन सक्ने बताएको छ। फेडरेसनले सबै उत्पादन गृहलाई सेटमा कडा सुरक्षा जाँच लागू गर्न माग गरेको छ।
दुर्घटनापछि भन्साली प्रोडक्सनले पीडित परिवारलाई ४० लाख आर्थिक सहयोग गर्ने वाचा गरेको छ। फेडरेशन अध्यक्ष बीएन तिवारीले मृतकका छोराछोरी अझै साना रहेको बताए। परिवारलाई उनीहरूको शिक्षाको लागि थप सहयोगको आवश्यकता पर्ने भएकाले क्षतिपूर्ति रकम ५० लाख पुर्याउनुपर्ने बताए। महासंघले भन्साली प्रोडक्सनलाई चन्द्रधारी यादवकी पत्नीलाई जागिर उपलब्ध गराउन पनि आग्रह गरेको छ।
मृतक चन्द्रधारीका दुई साना छोरी छन्। बीएन तिवारीले प्राविधिकको प्रशंसा गर्दै भने कि उनी एक अत्यन्त प्रतिभाशाली कामदार थिए र उनको क्षति सम्पूर्ण उद्योगको लागि दुखद हो। महासंघले भविष्यमा थकानको कारण हुने यस्तै घटनाहरू रोक्न कामदारको काम गर्ने घण्टा नियमन गरिनुपर्ने बताएको छ।
सञ्जय लीला भन्सालीको ‘लभ एन्ड वार’ अहिले बलिउडमा सबैभन्दा धेरै चर्चामा रहेको फिल्ममध्ये एक हो। यो फिल्म २१ जनवरी २०२७ मा सिनेमाघरमा रिलिज हुनेछ। फिल्ममा रणवीर, आलिया र विक्की मुख्य भूमिकामा छन्।
सन् २०२२ को सफल फिल्म ‘ब्रह्मास्त्र’ पछि यो रणवीर र आलियाको दोस्रो फिल्म हुनेछ। विक्की कौशलले यसअघि रणवीरसँग ‘सञ्जु’ र आलियासँग ‘राजी’ मा काम गरिसकेका छन्।
आलियाले यसअघि भन्सालीसँग ‘गंगुबाई काठियावाडी’ मा सहकार्य गरेकी थिइन्, जसको लागि उनले राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्। रणवीर कपूरले भन्सालीको सन् २००७ को फिल्म ‘सावरिया’ बाट आफ्नो करियर सुरु गरेका थिए।
Shares

प्रतिक्रिया