ग्लोबल


नेतन्याहुले भने: ‘म ट्रम्पले जे भन्छन्, त्यही मान्दिनँ’

नेतन्याहुले भने: ‘म ट्रम्पले जे भन्छन्, त्यही मान्दिनँ’

अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहु


नेपालखबर
असार ८, २०८३ सोमबार १३:३४, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका हरेक कुरा मानिन्छ भन्ने बुझाइ गलत भएको बताएका छन्। 

प्रधानमन्त्री नेतन्याहुले सोमबार देशको राजधानी जेरुसेलममा आयोजित जेएनएस सम्मेलनलाई सम्बोधन गर्दै आफूले अमेरिकाका हरेक इच्छा पूरा नगर्ने बताएका हुन्। 

यस क्रममा उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने र आवश्यक परेसम्म इजरायली सेना दक्षिणी लेबनानमा रहने पनि बताए।

सम्मेलनमा नेतन्याहुले भने, ‘अमेरिकामा मानिसहरू भन्छन्- राष्ट्रपति ट्रम्प म जे भन्छु त्यही गर्छन्। अनि इजरायलमा मानिसहरू सोच्छन्- ट्रम्प जे चाहन्छन्, म सबै गर्छु। तर यी कुनै पनि कुरा सत्य होइन।’

उनले थपे, ‘हामी स्वतन्त्र र गौरवशाली राष्ट्रका नेता हौँ। कहिलेकाहीँ हाम्रा विचार फरक हुन्छन्। हामी आफ्नै हितका लागि उभिन्छौँ। म इजरायलको हित र यसको सुरक्षाको लागि उभिन्छु।’

अक्सर आफूहरूको सोच एकैजस्तो हुने गरे पनि कहिलेकाहीँ यस्तो नहुने पनि गरेको नेतन्याहुले बताए। 

उनले भने, हामी एकअर्काका सार्वभौमसत्ता, नेतृत्व र हाम्रा जनताप्रतिको प्रतिबद्धताको सम्मान गर्छौं।’

यस अवसरमा नेतन्याहुले आफ्ना भाइ योनी नेतन्याहुलाई पनि सम्झिए र उनलाई ‘देशको नायक’ भने।

इरानलाई आणविक हतियार प्राप्त गर्न नदिइने अडान दोहोर्‍याउँदै उनले भने, ‘हामी उत्तरमा रहेका हाम्रा जनता र सम्पूर्ण देशका नागरिकको सुरक्षाको लागि आवश्यक परेसम्म दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा रहनेछौँ।’

हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा नेतन्याहुको आलोचना गरेका थिए भने उपराष्ट्रपति जेडी भान्सले पनि इजरायली नेतालाई अमेरिकाविरुद्ध नबोल्न चेतावनी दिएका थिए। 

त्यसपछि नेतन्याहुले ट्रम्पसँगको सम्बन्धबारे सार्वजनिक रूपमा पहिलोपटक बोलेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad