कला


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रपतिले प्रदान गरे ‘दीर्घ साधना सम्मान’

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रपतिले प्रदान गरे ‘दीर्घ साधना सम्मान’

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कुन ढङ्गले अझै थप योगदान पुर्‍याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन्। 

चलचित्र विकास बोर्डद्वारा शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पु¥याउन सक्ने भएकाले त्यसतर्फ सबैले सोच्नुपर्नेमा पनि जोड दिए। 

राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढंगले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित हुने बताए। 

यसका लागि प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई रत्तिभर नछोड्न चलचित्रकर्मीलाई सुझाव दिए। 

‘चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना,  राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम पनि हो,’ राष्ट्रपति पौडेलले भने, ‘हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि हो।’

राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेशअनुरुपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाईँ दिन कुनै कसर बाँकी राख्न नहुने बताए। 

यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्नेमा उनको जोड थियो। ‘कलाकारलाई यही क्षेत्रमा आत्मसम्मानसहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महशुस गराउन सक्नुपर्छ,’ उनले भने। 

प्रविधिको विकासले चलचित्र उद्योगको स्तरोन्नतिमा ठूलो योगदान दिएको भन्दै राष्ट्रपति पौडेलले भने,  ‘डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता पनि ल्याएको छ । यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनुपर्दछ भन्नेमा सचेत रहनुपर्दछ।’

चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाऊन् भन्ने आफ्नो अपेक्षा रहेको पनि उनले बताए। 

 ‘किनभने, जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्दछ, तब चलचित्र साँच्चिकै राष्ट्रिय बन्दछ,’ उनले भने। 
 
सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad