ad ad

कारोबार


पर्यटकीय पूर्वाधारमा आक्रामक आईएमई ग्रुप, एकपछि अर्को केबलकार

पर्यटकीय पूर्वाधारमा आक्रामक आईएमई ग्रुप, एकपछि अर्को केबलकार

वसन्त अर्याल
जेठ ५, २०८१ शनिबार १२:४९, काठमाडौँ

चन्द्रागिरि केबलकारको ९ महिनाको आम्दानी ६० करोड ६८ लाख छ। त्यसमा २१ करोड ७३ लाख सञ्चालन खर्च। ब्याज, कर, ह्रासकट्टीलगायत सबै खर्च काट्दा १० करोड ७९ लाख खुद नाफा भएको छ। वैशाख र जेठ महिना पर्यटन सिजन भएकाले कम्पनीको वर्षभरको खुद नाफा १५ करोड सहजै पुग्ने देखिन्छ। 

नेपालमा पर्यटकीय गतिविधि सामान्य हुँदा केबलकारसहित होटलको उक्त आम्दानी राम्रै मानिन्छ। 

चन्द्रागिरि केबलकारमा बहुमत सेयर आईएमई ग्रुपको छ। सुरुमा स्थानीयले कम्पनी खोले पनि आईएमई ग्रुपले बहुमत सेयर खरिद गरेसँगै आयोजना सफल भएको हो।  

योसँगै मनकामना जाँदा मात्रै केबलकार चढ्न पाउने नेपालीले काठमाडौंमा नै यो सुविधा पाएका छन्। यहाँ कति केबलकार चढी डाँडामा घुम्न जान्छन् त कति चन्द्रागिरिमा प्रकृतिको आनन्दसँगै रिसोर्टमा रात बिताउन पुग्छन्। 

चन्द्रागिरि केबलकारले व्यावसायिक रुपमा राम्रो प्रतिफल दिन थालेसँगै आईएमई ग्रुपको व्यवसाय पनि विस्तार हुँदै गएको छ। रेमिट्यान्स, बैंकिङ क्षेत्रमा जमेको यो ग्रुप पर्यटकीय पूर्वाधारमा आक्रामक बन्दै छ। 

अघिल्लो वर्ष मात्रै यो ग्रुपले २ वटा केबलकार सञ्चालनमा ल्याइसकेको छ। नवलपरासीको गैँडाकोटबाट मौलाकालिका मन्दिर पुग्ने केबलकार सञ्चालनमा आएको छ। करिब १२ सय मिटरको लम्बाइ रहेको यो केबलकारमा दैनिक ६ हजार यात्रु ओहोरदोहोर गर्न सक्छन्।

केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्यान्क्वेट हल र रेस्टुरेन्ट छन्। 

लुम्बिनी प्रदेशमा बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरसम्म ३ किलोमिटर दूरीको केबलकार बनेको छ। आईएमई ग्रुपले केबलकारमा भारतीय सीमानाकाका पर्यटकलाई लक्षित गरेको छ।

आईएमई ग्रुपले पोखरामा लेकसाइड रिट्रिट र काठमाडौंको लाजिम्पाटमा होटल ले हिमालय सञ्चालन गरिरहेको छ। प्रकृति र धार्मिक केन्द्रलाई जोडेर केबलकारका पूर्वाधार विस्तार गरिरहेको छ।

अर्थतन्त्रमा पर्यटन क्षेत्रले गर्ने योगदानको हिस्सा बन्न चाहन्छौँ : अध्यक्ष ढकाल
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रले धेरै योगदान गर्न सक्ने बताउँछन्। 

‘पर्यटन पूर्वाधार आईएमई ग्रुपको मात्रै प्राथमिकता होइन, सरकारकै प्राथमिकता छ’, उनी भन्छन्, ‘केही केबलकार सञ्चालनमा आइसके, केही निर्माणाधीन छन्।’

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले ठूलो योगदान गर्नसक्ने ढकाल बताउँछन्। त्यसको एक हिस्सा आईएमई ग्रुप बन्न चाहेको उनको भनाइ छ। ढकालले नेपाल चीन र भारतजस्तो ठूलो देशको छिमेकी भएकाले पर्यटन क्षेत्रको सम्भावना बढी देखेका छन्। पर्यटकीय पूर्वाधार विदेशीमात्रै नभई आन्तरिक पर्यटकका गन्तव्य बन्नेछन्। 

आईएमई ग्रुपले २०७५ को लगानी सम्मेलनमा ३ वटा केबलकार आयोजनामा वैदेशिक लगानीकर्ता खोजेको थियो। गत वैशाखमा भएको लगानी सम्मेलनमा समेत ३ वटा प्रस्तुत गरेको थियो। 

‘लगानी सम्मेलनमा हामीले वैदेशिक लगानीकर्तासामु आयोजना प्रस्तुत गरेका हौँ। अहिलेसम्म कुनै समझदारी भइसकेको छैन’, ढकाल भन्छन्, ‘हामी आफ्नै स्रोत जुटाएर क्रमशः निर्माण गर्दै जान्छौँ।’

आईएमई ग्रुपले स्थानीयको सेयरसँगै बैंकबाट ऋण लिएर पूर्वाधार तयार गरिरहेको छ। ३० प्रतिशत नगद र ७० प्रतिशत बैंकबाट ऋणमा आयोजना बनिरहेका छन्। 

चितवनमा एम्युजिम पार्क बनाउने ग्रुपको योजना छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा समझदारीमा हस्ताक्षर भए पनि निर्माणको प्रक्रिया अघि बढ्नसकेको छैन। आयोजनाको पूर्वसम्भाव्यतासँगै विस्तृत अध्ययन भइसकेको छ। भारतपुर आइसलेन्ड रिसोर्ट एन्ड वाटरल्यान्डको वातावरणीय अध्ययन भइरहेको छ। 

कोशी र सुदूरपश्चिममा केबलकार निर्माणाधीन
केबलकार परियोजना निर्माणमा नेतृत्व गरिरहेको आईएमई ग्रुपले कोशी र सुदूरपश्चिममा समेत यसलाई विस्तार गरिरहेको छ। 

यसअनुसार जल्पादेवी केबलकार प्रा.लि कैलाली जिल्लामा निर्माण गर्ने प्रस्ताव छ। जहाँ केबलकार र चिसापानीमा नजिकै रिसोर्ट बनाउनेछ।

माथिल्लो टर्मिनल भवन जल्पादेवी मन्दिर राजकाँडा गाउँमा हुँदै छ। आधुनिक सुविधा र नेपाली संस्कृति झल्किने रिसोर्ट छ। 

रिसोर्टमा कन्फरेन्स हल, हेल्थ क्लब रेस्टुरेन्ट रहनेछन्। जल्पादेवी मन्दिर, टीकापुर पार्क र बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको रोजाइमा पर्ने अनुमान गरिएको छ। 

रमणीय भ्यू हेर्ने गरी केबलकार निर्माण हुनेछ। मल्टि कुजिन रेस्टुरेन्ट हुनेछ। 

आईएमई ग्रुपले २०२६ बाट सञ्चालन गर्ने योजना छ। डिजाइन, अध्ययन, पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएको छ। २०२४ देखि २०२६ सम्म निर्माण अवधि छ। 

आईएमई ग्रुपका अध्यक्ष ढकालले वैशाख पहिलो हप्ता पूजा गरी रुख कटानको काम सुरु भएको छ। सरकारले पूर्वाधार निर्माणको लागि अनुमति दिइसकेको छ।

केबलकारसहित होटल निर्माणमा करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। केबलकारको लम्बाइ ३.१ किलोमिटर हुनेछ। केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डिुला रहनेछन्। दैनिक ६ हजार यात्रु बोक्नसक्ने केबलकारमा १० मिनेटमा गन्तव्यमा पुगिनेछ। 

केबलकार निर्माणका लागि आवश्यक उपकरण अस्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याएको छ। चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताको होटल र सभाहल हुनेछन्। 

त्यसैगरी, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढेको छ। रुख कटाको काम सुरु भएको छ। केही स्थानीयले रुख कटानलगायतको विरोध गरे पनि केहीले बन्नुपर्नेमा जोड दिएका छन्। १६ वटा गुन्डालासहित २.७ किलोमिटर लम्बाइको हुनेछ। 

अबका योजना : सिक्लेस र स्वर्गद्वारी केबलकार
कास्की जिल्लामा अर्को केबलकार निर्माण हुँदै छ। जुन सिक्लेस गाउँमा बन्नेछ भने अन्नपूर्ण संरक्षित क्षेत्रको भ्यू हेर्न पाइनेछ। वैकल्पिक ऊर्जाको प्रयोग, पानी संरक्षण प्रणाली र इको सेन्सिटिभ बिल्डिङ निर्माण गर्ने प्रस्ताव छ। 

केबलकार निर्माणसँगै रिसोर्ट होटल छ। विदेशी र आन्तरिक पर्यटक पुग्ने अनुमान गरिएको छ। 

केबलकार निर्माणसँगै गुरुङ संस्कृतिको पहिचान र संरचना हुनेछन्। रिसोर्टमा सांस्कृतिक नाच, गुरुङ परिकारलगायत छन्। आयोजनाको अनुमानित लागत ८० देखि १०० मिलियन अमेरिकी डलर छ। जसमा ७० प्रतिशत ऋण रहनेछ। यसबाट ५.५ वर्षमा लगानी उठ्ने आकलन गरिएको छ। 

आयोजनाको पहिचान, पूर्वसम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन बनेको छ। २०२४ देखि २०२६ सम्म निर्माण अवधि राखिएको छ। २०२६ बाट सञ्चालनमा ल्याउने योजना छ। करिब ८ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। 

त्यस्तै, स्वर्गद्वारी केबलकार प्युठान जिल्लामा निर्माण गर्ने प्रस्ताव छ। धार्मिक पर्यटनको आकर्षक स्वर्गद्वारीमा केबलकारसहित सुविधा सम्पन्न होटल बनाउनेछ। घण्टी खोलाबाट स्वर्गद्वारी नगरपालिकासम्म केबलकार बनाउने प्रस्ताव छ। 

स्वर्गदारी मन्दिरमा जाने पर्यटकलाई लक्षित गरेको छ। स्वर्गद्वारी डाँडामा तारे होटल बनाउनेछ। केबलकार निर्माणसँगै आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्युठान जिल्लामा पर्यटन क्षेत्रबाट आम्दानी बढ्ने अनुमान गरिएको छ। 

आयोजना निर्माणसँगै स्वर्गद्वारीमा धार्मिक पर्यटक बढाउनेछ। स्थानीय र क्षेत्रीय आर्थिक वृद्धिमा सहयोग पुर्‍याउनेछ। 

आयोजनाको कन्सेप्टसँगै सम्भाव्यता अध्ययन भइसकेको छ। स्वर्गद्वारी दर्शन प्रा.लिले विस्तृत परियोजना प्रतिवेदन तयारी गरी वातावरणीय अध्ययन गरिसकेको उल्लेख गरेको छ। २०२४ देखि २०२६ सम्म निर्माण गर्ने लक्ष्य राखिएको छ। २०२६ बाटै सञ्चालन गर्ने तयारी छ।

आयोजनामा निजी लगानी र वैदेशिक लगानीको खोजी गरिरहेको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .