कारोबार


चालु पुँजी र ओभर ड्राफ्ट कर्जा घट्दो, राष्ट्र बैंकको सहुलियतले पार्ला प्रभाव?

चालु पुँजी र ओभर ड्राफ्ट कर्जा घट्दो, राष्ट्र बैंकको सहुलियतले पार्ला प्रभाव?

फाइल तस्बिर


केशर बोगटी
भदौ २९, २०८० शुक्रबार १०:५३, काठमाडौँ

बैंक तथा वित्तीयबाट प्रवाह हुने चालु पुँजी र प्रयोजन नखुलाई दिइने ओभरड्राफ्ट कर्जा घट्दै गएको छ। 

उद्योगी, व्यवसायीहरुले चालु पुँजी र ओभरड्राफ्ट प्रकृतिको कर्जा प्रयोग घटाएसँगै यस्तो भएको हो। 

गत वर्ष चालु पुँजी कर्जा १३.२ प्रतिशत र ओभर डाफ्र्ट कर्जा ६७.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो कर्जाको डिमान्ड (माग) न्यून हुँदा कर्जा प्रवाह घटेको देखिन्छ। 

यसका साथै गत वर्ष वित्तीय संस्थाको निक्षेप संकलन १२ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ३.४० प्रतिशतमा खुम्चिएको थियो। 

गत वर्ष वित्तीय संस्थाको कर्जा प्रवाह खुम्चिँदा टर्म लोन ३२ प्रतिशतले बढेको छ। 

त्यसैगरी शैक्षिक कर्जासमेत उल्लेख्य बढेको छ। यस्तो कर्जा ७७.८ प्रतिशतले बढेर ५५ अर्ब पुगेको छ। यता घरजग्गा कर्जासमेत बढेको छ। 

राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गरेको थियो। 

निजी क्षेत्रको ब्यापक विरोधका बावजुद कार्यान्वयनमा आएको चालु पुँजी कर्जासम्बन्धी नीतिको प्रभाव कर्जा प्रवाहमा देखिएको छ।

यस्तो प्रभावलाई मध्यनजर गर्दै भदौमा नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जासम्बन्धी यसअघिका कठोर व्यवस्थालाई संशोधन गरी राष्ट्र बैंकले सहज बनाइदिएको छ।

उत्पादनशील क्षेत्रमा जाने कर्जा विस्तारमा केन्द्रीय बैंकको खुकुलो नीतिले आगामी समयमा चालु पुँजी प्रकृतिको कर्जा माग बढ्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन्।

यसअघि उत्पादनशील क्षेत्रमा जाने कर्जा विस्तारको नीति नआए पनि चालु पुँजी कर्जाको संशोधनले केही सहज बनाएको केसी बताउँछन्।

आर्थिक वर्ष २०७९/८० मा चालु पुँजी कर्जा प्रकृतिमार्फत ८ खर्ब ८० अर्ब, २०७८/७९ मा १० खर्ब ११ अर्ब, २०७७/७८ मा ८ खर्ब ८० अर्ब, २०७६/७७ मा ७ खर्ब २ अर्ब र २०७५/७६ मा ६ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

आर्थिक वर्ष २०७५/७६ देखि निरन्तर बढ्दै गइरहेको चालु पुँजी प्रकृतिको कर्जा गत वर्ष घट्न पुगेको हो।

उत्पादनमुलक उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा केही बढे पनि सेवा क्षेत्रका उद्योगले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घटेको छ। सेवा क्षेत्रले प्रयोग गर्ने चालु पुँजी प्रकृतिको कर्जा घट्दा समग्र चालु पुँजी प्रकृतिको कर्जामा गिरावट आएको हो।

गत वर्ष ओभरड्राफ्ट प्रकृतिको कर्जा सबैभन्दा धेरै ६७.७ प्रतिशतले घटेको देखिन्छ। प्रयोजन नखुलाई दिइने यस्तो कर्जा एक वर्षमा ४ खर्ब ८६ अर्बले घटेको छ। 

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा यस्तो कर्जा ४ खर्ब ८६ अर्बले घटेर २ अर्ब ३१ अर्बमा सीमित भएको छ। 

गत वर्ष टर्मलोन भने ३२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालु पुँजी प्रकृतिको कर्जालाई टर्म लोनमा कन्भर्ट गर्न सकिने व्यवस्था गरेको थियो।

राष्ट्र बैंकको नीतिगत हस्तक्षेपका कारण टर्मलोन प्रकृतिको कर्जा ह्वात्तै बढेको छ। अर्कातिर चालु पुँजी प्रकृतिको कर्जा उल्लेख्य मात्रामा घटेको छ ।

यस्तै रियलस्टेट कर्जा ५.६ प्रतिशतले बढेको छ। अर्कातिर गाडी कर्जा १.३ प्रतिशतले बढेको छ । सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .