कारोबार


न लगानी बढ्यो, न ब्याजदर नै घट्यो, संस्थागत निक्षेप रोक्न लागत वृद्धि गर्दै बैंकहरू

न लगानी बढ्यो, न ब्याजदर नै घट्यो, संस्थागत निक्षेप रोक्न लागत वृद्धि गर्दै बैंकहरू

फाइल तस्बिर


केशर बोगटी
असोज ४, २०८० बिहिबार १६:५०, काठमाडौँ

संस्थागत निक्षेप बाहिरिने देखिए पनि असोजमा अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन्। 

प्रणालीमा लगानीयोग्य रकम (तरलता) रहेका बेला संस्थागत निक्षेप घट्न नदिन बैंकहरुले लागत बढाएर निक्षेपको ब्याजदर बढाएका हुन्। 

लगानी बढाउन नसकेका बेला निक्षेपको ब्याजदर वृद्धि हुँदा लागत अझै बढ्ने हुन्छ।

निक्षेप थपिँदै जादा बैंकहरुले कर्जा लगानी बढाउन सके नाफा कमाउन सक्छन्। बैंकहरुले निक्षेप बढाउँदै जाँदा लगानी गर्न नसक्ने स्थितिमा लागत बढ्नु स्वभाविक मानिन्छ।

यतिबेला बैंकहरुले चाहेर पनि लगानी बढाउन सकिरहेको छैनन्। नत ब्याजदर नै घटाउन सकिरहेका छन्। 

निक्षेपको ब्याजदर बढ्दा कर्जाकोसमेत दर बढ्ने हुन्छ। उद्योगी व्यवसायीको ब्याजदर घट्ने अपेक्षाविपरीत बैंकहरुले ब्याजदर बढाउँदा कर्जा माग बढ्न नसकेको हो। 

बैंकहरुले एकआपससँग सापट लिने कर्जा (अन्तर बैंक) को ब्याजदर ३ प्रतिशत रहेको अवस्थामा ब्याजदर बढाउनु स्वभाविक नदेखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए। 

उनका अनुसार प्राणालीमा अधिक तरलता रहेका बेला बैंकहरुले लगानी बढाउन सकेका छैनन्, अन्तर बैंक दर ३ प्रतिशत हाराहारी छ। यस्तो अवस्थामा बैंकहरुले ब्याजदर बढाउनु लागत वृद्धि मात्रै हो।

ब्याजदर बढाउँदै जाने अनि कर्जा लगानी नभएको भन्न उचित नहुने उनको भनाइ छ।  

‘बैंकहरु ब्याजदर घटाएर लगानी बढाउने रणनीति जान नसक्नु संस्थागत निक्षेप बाहिरिने डर नै हो’, उनले भने। 

‘प्राणालीमा तरलता अधिक छ। बैंकहरु पनि ब्याजदर घटाएर लगानी बढाउन चाहिरहेका छन्’, ती अधिकारीले नेपाल खबरसँग भने, ‘ब्याजदर घटाउदा संस्थागत निक्षेप बाहिरिने डर बैंकहरुलाई छ।’

संस्थागत निक्षेप बाहिरिए सानो–सानो निक्षेप खोज्नुपर्ने डरले बैंकहरुले निक्षेपको ब्याजदर बढाएको देखिएको छ।

‘बैंकहरुले लगानी बढाउन नसकेको अवस्थामा ब्याजदर बढाउदा उनीहरुको लागत मात्रै बढ्ने गर्छ’, उनले भने, ‘लागत मात्रै बढ्दै जाने तर लगानी नबढ्दा यसले दीर्घकालीन रुपमा समस्या निम्त्याउन सक्छ।’

अधिक तरलता रहेको बेला कर्जा प्रवाह खुम्चिँदै जानु र बैंकहरुले ब्याजदर बढाउनुले यसलाई पृष्टि गरेको छ।

बैंक तथा वित्तीय संस्थाले ब्याक्तिगत मुद्दती निक्षेपको तुलनामा संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत घटाएर दिनुपर्ने व्यवस्था छ। 

यद्यपि, संस्थागत निक्षेपको दर बढाउन बैंकहरुले ब्याक्तिगत निक्षेपको समेत ब्याजदर बढाउन थालेको ती अधिकारीको भनाइ छ। 
‘अधिकांश बैंकहरुले ब्याक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत माथि पुयाएका छन्। 

व्यक्तिगत मुद्दतीको ११ माथि पुग्दा संस्थागत निक्षेपका ब्याजदर ९ प्रतिशत दिन पाए’, उनले भने, ‘संस्थागत निक्षेपकर्ता पनि जहाँ धेरै ब्याज पाइन्छ उतै जाने भए।’

त्यहीकारण बैंकहरु लागत थपिँदै जादा पनि ब्याजदर बढाएर संस्थागत निक्षेप बढाउन र बाहिर जान नदिने रणनीतिमा देखिएको उनले बताए। 

असोजमा अधिकांश बैंकले ब्याक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत माथि पुर्‍याएका छन्। 

नबिल, एभरेष्ट, एनआईसी एशिया, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकले मुद्दती खातामा ११ प्रतिशत माथि छ। 

ब्याजदर बढ्दै जादा प्राणालीमा संस्थागत निक्षेपसमेत बढ्दै जान थालेको छ। 

पछिल्लो एक महिनामा प्राणालीमा संस्थागत निक्षेप ३.५ प्रतिशत अर्थात ३२ अर्ब ९३ करोड रुपैयाँ बढेको छ। 

सम्रग निक्षेप घट्दो देखिएको बेलामा संस्थागत निक्षेप ३.५ प्रतिशले बढ्नुले पनि बैंकहरु यसमा फोकस भएको देखिएको छ। 

२०८० साउन मसान्तसम्म प्राणालीमा ९ खर्ब ६३ अर्ब रुपैयाँ संस्थागत निक्षेप रहेको छ। जसमध्ये इन्स्योरेन्स कम्पनीको निक्षेप मात्रै ५ खर्ब ६ अर्ब रुपैयाँ छ। 

त्यसैगरी कर्मचारी सञ्चय कोषको १ खर्ब ४३ करोड, नागरिक लगानी कोषको ९० अर्ब ५५ करोड र अन्य संस्थागत निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँ छ। 

बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीको निक्षेपको हिस्सा सबैभन्दा धेरै देखिएको छ। 

वि.सं. २०८० असारको तुलनामा साउनमा बीमा कम्पनीको बैंक तथा वित्तीय संस्थामा निक्षेप १.२ प्रतिशतले बढेको छ। त्यसैगरी कर्मचारी सञ्चय कोषको ७ प्रतिशत र अन्य संस्थागत निक्षेप १३.४ प्रतिशतले बढेको छ। 

असारको तुलनामा साउनमा बैंक तथा वित्तीय संस्थामा रहेको नागरिक लगानी कोषको निक्षेप भने ९ प्रतिशतले घटेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलतामा गत वर्ष बैंक तथा वित्तीय संस्थामा रहेको मुद्दती निक्षेप १ खर्ब २३ अर्ब घट्दा बीमा कम्पनीले ९ अर्ब ४५ करोड रुपैयाँ निक्षेप थपेका छन। 

बीमा कम्पनीहरुले पूर्वाधारमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। तर, बीमा कम्पनीहरु धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा गरिरहेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडल बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .