ad ad

कारोबार


फ्रेन्चफ्राई उद्योग नेपालमै सञ्चालन, एकैवर्ष ३ अर्बको बिक्री गर्ने लक्ष्य

फ्रेन्चफ्राई उद्योग नेपालमै सञ्चालन, एकैवर्ष ३ अर्बको बिक्री गर्ने लक्ष्य

वसन्त अर्याल
कात्तिक १४, २०८० मंगलबार ७:३३, काठमाडौँ

विदेशबाट आयातित हुने फ्रेन्चफ्राई नेपालमै उत्पादन सुरु भएको छ। फस्ट च्वाइस फुड्सद्वारा डेढ अर्बको लागतमा स्थापित उद्योगले परीक्षण उत्पादन थालेको छ।

नेपालमा भारत, बेल्जियम लगायतका देशबाट वार्षिक ६ अर्ब बढीको फ्रेन्चफ्राई भित्रने गरेको छ। भारतबाट अनौपचारिक रुपमा समेत फ्रेन्चफ्राई आयत भएको छ। वार्षिक ५ अर्बको फ्रेन्चफ्राई उत्पादन गर्ने लक्ष्य राखेको उद्योग माघबाट पूर्ण क्षमतामा सञ्चालन आउने भएको हो।

‘पुस अन्तिम माघबाट उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन्छ,’ फस्ट च्वाइस फुड्सका अध्यक्ष कृष्ण पौडेलले भने, ‘सुरुको वर्षमा कम्तीमा ३–४ सय करोडको उत्पादन बिक्रीको लक्ष्य लिएका छौं।’

पौडेलले भारतको एक फ्रेन्चफ्राई कम्पनीको आधिकारिक बिक्रेताको अनुभव लिएपछि आयात प्रतिस्थापन गर्ने उद्देश्यले नेपालमै उद्योग खोल्ने सोच बनाएका हुन्।  

रुपन्देहीको फर्साटिकरमा उद्योग स्थापना गरी उत्पादन थालिएको छ।

गुल्मीका पौडेल बुटवलमा क्वालिटी मिटसपबाट व्यवसाय सुरु गरेका थिए। २०६४ मा मासु पसललाई विस्तार गर्दै मासु प्रशोधन उद्योग बनाए। उक्त उद्योगको उत्पादन काठमाडौंसहित प्रमुख सहरमा खपत भैरहेको छ। 

‘नन भेज’ उद्योगमा सफलता हासिल गरेका पौडेलले साथीहरूसँग मिलेर  ‘भेज’ उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योगका लागि चाहिने आलु उत्पादनमा राज्यबाट सहयोग नभएको उनको गुनासो छ।

‘आलुको बीउ भ्यिाउनेदेखि उत्पादन गर्नसम्म राज्यको सहयोग छैन,’ पौडेल भन्छन्, ‘विदेशबाट आयात हुने रकम प्रतिस्थापन गर्ने उद्देश्य हो।’ 

उद्योग निर्माण सुरु गरेको ३ वर्ष भैसकेको छ। परीक्षणको रुपमा उत्पादन भैरहेको उद्योगमा सडकको पहुँच, विद्युत्को नियमित आपूर्तिको समेत समस्या रहेको उनी बताउँछन्। सडक र विद्युत्का तार, पोल आफैँ राख्नु परेको उनले सुनाए।

‘नेपालले विद्युत् बाहिर पठाएको छ तर हामी उद्योगीलाई नियमित विद्युत् छैन,’ उनले भने, ‘एकपटक झ्याप्प विद्युत जाँदा २–३ लाख घाटा हुन्छ।’

विदेशबाट बीउ ल्याएर किसानलाई आलु
फस्ट च्वाइस फुड्सले फ्रेन्चफ्राईका लागि विदेशबाट बीउ ल्याएर किसानलाई वितरण गरेको छ। आलु खेती गर्न लागेको तीन वर्ष भएको छ।

उद्योगलाई चाहिने आलु नेपालमै उत्पादन गरेका छन्। उद्योग पूर्ण रुपमा सञ्चालन गर्न नेपालमै उत्पादित आलुले पुग्ने पौडेल बताउँछन्। 

‘आगामी वर्षनै नेपालसहित भारतीय बजारमा निर्यात गर्ने तयारी छ,’ उनी भन्छन्, ‘युरोपपछि नेपालमा उत्पादित आलु राम्रो भएकाले भारतीय बजारमा खपत हुने विश्वास छ। लखनऊमा फ्रेन्च फ्राईका लागि नेपालबाट निर्यात गछौं।’

२–३ सय टन फ्रेन्च फ्राईका लागि तयार आलु लखनऊ लैजाने उद्योगको लक्ष्य छ।

सुरुमा आलुको बीउ बाहिरबाट ल्याउन सरकारले अनुमति नदिँदा अप्ठेरो परेको उनले सुनाए। नेपालमा मौसम फरक भएकाले आलुको उत्पादन राम्रो भएको छ। सुरुमा तराईका जिल्लामा किसानहरूले आलु उत्पादन गरिरहेका छन्। 

कैलाली र बर्दियामा आलु उत्पादन भैरहेको छ। अब पहाडी जिल्लामा आलु उत्पादनका लागि पहल थालिएको उनले बताए। 

आलु उत्पादनका लागि नेपाल सरकारका पूर्व सचिव डा. श्याम प्रसाद ढकाल जोडिएका छन्। उनको नेतृत्वमा ३ जना विज्ञले आलु उत्पादनको काम हेर्न गरेका छन्। 

‘किसानलाई प्रतिकेजी ६० रुपैयाँमा आलुको बीउ दिएका छौं। त्यसमा ३० रुपैयाँ प्रदेश सरकारको अनुदान छ,’ उनले भने, ‘किसानले आलु उत्पादन गरिसकेपछि कृषी ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ राखेर मूल्य खुला गर्छौं।’

मण्डीको आलुभन्दा ३–४ रुपैयाँ बढी तिरेर किसानबाट आलु खरिद गरिरहेको उनले बताए। 

‘कैलालीमा १ गठ्ठामा आलु लगाउनेले ९० दिनमा २२ हजार बचत गरेका छन्,’ उनी भन्छन्, ‘१ बीघामा आलु लगाउने किसानले ३ महिनामै खर्च कटाएर ४–५ लाख रुपैयाँ आम्दानी गर्छ।’

किसानले उत्पादन गरेपनि आलुको बजारमा कुनै समस्या नरहेको उनले बताए। सबै उत्पादित आलु उद्योगले खरिद गरेको सुनाउँदै किसानलाई बीउ, उत्पादन प्रक्रिया, तालिम कम्पनीले दिने पनि उनले बताए।

एक घण्टामा ३ टनसम्म प्रशोधन
उद्योगले जर्मनी, टर्की र जापानबाट विभिन्न प्रविधि भित्र्याएको छ। जुन प्रविधिबाट एक घण्टामा २ टन बढी प्रशोधन गर्न सक्छ।

उद्योगमा ४५ करोड रुपैयाँ बढीको प्लान्ट छ। कोल्ड स्टोर, फ्रोजन चेम्बर लगायतका लागि २० करोड खर्च गरेका छन्।

४० करोड रुपैयाँ उद्योगको पूर्वाधार संरचना बनाउन खर्च भएको पौडेल बताउँछन्। कम्पनीले आफ्ना उत्पादनको गुणस्तर चेकजाँचका लागि ल्याब स्थापना गरेको छ। 

‘७० प्रतिशत बैंकको ऋण लगानी र ३० प्रतिशत हाम्रो लगानीमा उद्योग सञ्चालन थालेका छौं,’ उनले भने।

कम्पनीको फ्रेन्चफ्राई मुख्य उत्पादन हुने छ भने टिक्की, चिप्स लगायतका उत्पादन बजारमा ल्याउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .