ad ad

राजनीति


सक्रिय राजनीतिमा फर्किन जोखना हेर्दै विद्या भण्डारी

ओलीले गर्लान् एमालेको अध्यक्षमा प्रस्ताव?
सक्रिय राजनीतिमा फर्किन जोखना हेर्दै विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी (फाइल तस्बिर)


सागर न्यौपाने
कात्तिक १५, २०८० बुधबार १७:२४, काठमाडौँ

यसपटकको दसैँ टीकाको तीन दिन बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा नेतादेखि व्यवसायी र पेसाकर्मीको बाक्लो उपस्थिति भयो।

पुगेका जति सबैलाई भण्डारीले टीका लगाइदिइन्।

नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार, टीका थाप्न भण्डारीनिवास पुग्ने प्रायः एमालेका नेता–कार्यकर्ता थिए। केही भने माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता पनि थिए। 

भण्डारी दुई कार्यकाल नेपालको राष्ट्रपति भइन्। गत वर्षको फागुनदेखि उनको दोस्रो कार्यकाल सकियो।

उनी पदमा नहुँदा पनि नेता–कार्यकर्ताहरू टीका थाप्न पुगे। भण्डारीले सहर्ष स्वागत गरिन् र टीका पनि लगाइदिइन्।

यस क्रममा उनले देशको समसामयिक परिस्थितिमा चासो राखिन्, आफ्नो विश्लेषण सुनाइन्। चिन्ता र सरोकार प्रकट गर्दै सुधारका ठाउँहरू पनि औँल्याइन्।

यति मात्र होइन, त्यहाँ पुगेका सबैलाई भण्डारीले भेटघाट नटुटाउन र निरन्तर आइरहन आग्रहसमेत गरिन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट २०८० को दसैँ टीका लगाउँदै माओवादी केन्द्रका मनऋषि धिताल

आफूकहाँ आइपुगेका पाहुनालाई ‘आउँदै गर्नू’ भन्ने त नेपाली संस्कृतिको सामान्य शिष्टाचार पनि हो। तर, भण्डारीको शिष्टाचार पनि ‘विशेष’ देखिन्थ्यो।  

‘यो भेटघाट ४-५ वर्षमा गर्ने होइन, कम्तीमा महिनामा दुई–तीनपटक हुनुपर्‍यो,’ भण्डारीको भनाइ उद्धृत गर्दै एक व्यावसायिक पृष्ठभूमिका नेताले नेपालखबरसँग भने, ‘पेसाकर्मी पनि राजनीतिमा आउनुपर्‍यो र राजनीति गर्नेलाई कुनै पेसामा लगाउनुपर्छ। नत्र भ्रष्टाचार र अनिमितता बढ्छ।’

यो त भयो, मान्यजनबाट टीका र आशिर्वाद थाप्ने नेपालीको सबैभन्दा ठूलो चाड दसैँको प्रसंग।

पूर्वराष्ट्रपति भण्डारीको निवासमा एमाले नेताहरूको आउजाउ अरू बेला पनि कम छैन। शीतलनिवासबाट बाहिरिएको केही समय छोरीको घरमा बसेकी उनी अहिले भंगालको आफ्नै घरमा पुगेकी छन्।

कुनै न कुनै राजनीतिक नेता–कार्यकर्ता तथा तिनका समूह अनि अन्य विधाका व्यक्तिहरूसँग राजनीतिक विमर्श गर्नु उनको दैनिकीजस्तै बनेको छ।

सबैसँग उनले राजनीतिको बारेमा चाख मानेर कुरा गर्ने गरेको बताउँछन्, एमाले स्थायी कमिटी सदस्य थापा।

प्रदेश अधिवेशनमा फरक लाइन
नेकपा एमालेले यसै वर्ष पहिलोपल्ट प्रदेशमा निर्वाचनबाट नेतृत्व चयन गर्‍यो। अध्यक्ष केपी शर्मा ओलीको एकछत्र ठानिएको पार्टीभित्र हुर्किएका विभिन्न गुट र शक्तिकेन्द्र सातवटै प्रदेशका अधिवेशनमा सतहमा आए। सुदूरपश्चिम र मधेस प्रदेश बाहेकका प्रदेशमा ओलीको चाहनाबेगर चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चयन गरियो।

हरेक प्रदेशको नेतृत्व चयनमा उनको विशेष चासो थियो। 

खासगरी पहिलो अधिवेशन लुम्बिनीमा भयो। साविक अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा उत्रिए। कँडेललालाई उपाध्यक्ष विष्णु पौडेलले साथ दिए भने रिजालको पक्षमा महासचिव शंकर पोखरेल लागिपरे। अध्यक्ष ओलीसमेत रिजाललाई नै प्रदेशको नेतृत्व सुम्पने मनसुवामा थिए।

तर, अध्यक्ष र महासचिवकै जोडबलमा रिजाललाई मैदानमा उतारेको भण्डारीलाई मन परेको थिएन। केही नेताहरूलाई बोलाएर उनले भनेकी थिइन्, ‘राधाकृष्णजीले राम्रै चलाइरहनुभएको थियो। अब एक कार्यकाल चलाउन दिए भइहाल्थ्यो नि। रिजालजी पनि केन्द्रीय सदस्य भइसकेको मान्छे हो, किन प्रदेशमा जानुपरेको?’

पार्टीमा सहमतिको वातावरण धमिलिँदै गएको र नेताहरूमा अरूको कुरा नसुन्ने प्रवृत्ति बढ्दै गएको भनेर समेत उनले त्यतिखेर सुनाएको भेट्न पुग्नेहरूको भनाइ थियो।

नभन्दै लुम्बिनीमा राधाकृष्ण कँडेल नै जिते, हरि रिजाल पराजित भए। शक्तिशाली अध्यक्ष र महासचिवको उम्मेदवार त्यसरी हार्नुमा उपाध्यक्ष पौडेलसँगै पूर्वराष्ट्रपति भण्डारीको कामनाले पनि काम गरेको भन्नेहरूको कमी छैन।

यसैगरी अन्य प्रदेशमा पनि नेतृत्व चयनमा भएका खेलकुद र कसरतहरूका प्रत्येक चरणमा भण्डारीको चासो थियो।

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा अध्यक्ष ओलीले समर्थन गरेका नेता पराजित भए। बागमती र कोशी प्रदेशमा भने ओलीले समर्थन गरेकै नेताले जिते। 

जिल्ला भ्रमणमा जाने तयारी 
त्यसो त केही समयअघि पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा सक्रिय हुनुपर्ने भनेर केही एमाले नेताहरूले चर्चा गरेपछि अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत् नै प्रतिवाद गर्नुपरेको थियो।

तर, दसैँ होस् या एमालेका प्रदेश तथा अन्य तहका कार्यक्रमको अवसर पारेर भण्डारीनिवास पुग्ने नेताहरूले उनलाई पार्टी राजनीतिमा फर्किनुपर्छ भन्न छाडेका छैनन्।

यही बेला उनी जनसम्पर्क विस्तारका विभिन्न उपायमा लागेको देखिन्छ। टीका थाप्न पुग्ने शुभचिन्तकलाई महिनामा कम्तीमा दुईपटक भेट्न आउनू भन्ने भण्डारी अब भंगालको निजी निवासमै सीमित भएर नबस्ने संकेत देखिएका छन्। 

 तिहारलगायतका चाडबाड सकिएलगत्तै उनी जिल्ला भ्रमणमा जाने तयारी गरिरहेकी छन्।

‘विद्या भण्डारी देशका केही ठाउँ पुग्न चाहनुभएको छ,’ उनको नियमित सम्पर्कमा रहेका एक एमाले नेताले नेपालखबरसँग भने, ‘कार्यक्रम बनाउँदै छौँ। सायद विकासे कार्यक्रममा सहभागी हुनुहुन्छ होला।’

एमालेको उपाध्यक्ष रहिसकेकी उनले राष्ट्रपति भएपछि पार्टी सदस्यता त्यागेकी थिइन्। 

तर, एमालेभित्र पछिल्ला दिन गुटगट राजनीति हाबी भएको, कसैलाई काखा र कसैलाई पाखा गरिएको भन्दै अभिभावकत्व ग्रहण गर्न भण्डारीलाई एमालेमै फर्काउन नेताहरू लागेका छन्।

मदन भण्डारीको पारिवारिक र एमालेको राजनीतिक विरासत, स्वास्थ्य र उमेर अनि सक्रिय राजनीति गर्ने भण्डारीको आकांक्षा बुझेका नेता–कार्यकर्ता उनी पार्टीमा फर्किउन् भन्ने चाहन्छन्। 

फागुनयता उनले एमालेका पदाधिकारीदेखि जिल्ला तहका धेरै नेता भेटिसकेकी छन्। धेरै नेताको कुरा सुनेपछि अब भण्डारी जिल्ला–पुगेर एकपटक जनमत बुझ्ने योजनामा छिन् सायद।

‘मसिनो ढंगले वडा, गाउँ, जिल्ला तहका नेतासँग घनीभूत संवाद भइरहेको छ,’ ती नेताले थपे, ‘वस्तुस्थिति विश्लेषण गर्न, नेता-कार्यकर्ताको धारणा बुझ्न प्रतिनिधिमूलक केही ठाउँ भ्रमण गर्न खोज्नुभएको हो।’

 अहिलेसम्म उनी राजनीतिमा आउने विषयमा भने ‘पर्ख र हेर’को अवस्थामा रहेको उनीनिकट नेताहरू बताउँछन्। 

‘उहाँसँग विभिन्न नेताले भेटघाट गर्नुभएको रहेछ,’ एमाले स्थायी कमिटी सदस्य थापाले भने, ‘बिहानदेखि बेलुका अबेरसम्म पनि भेटघाट हुँदो रहेछ।’

ओलीबाटै प्रस्ताव आउने अपेक्षा
२०७४ को चुनावपछि एमाले र माओवादी मिल्दा ठूलो शक्ति बनेको तर त्यो एकता कायम राख्न नसक्दा ठूलै क्षति बेहोर्नुपरेको बुझाइ भण्डारीको छ। एकता टिकाउन सकिने अवस्था भए पनि केही नेताका व्यवहार र शैलीकै कारण त्यो सम्भव नभएको र फेरि पनि अभिभावकीय भूमिका निर्वाह गर्न सकेमा एकता गर्न सकिने उनको विश्लेषण छ।

साझा व्यक्ति बनेर एमालेभित्रको बेमेल मिलाउने र कम्युनिस्ट एकता गराउन वा मोर्चा बनाउन सकिने उनको सोच छ। यद्यपि, उनको पहिलो ध्येय एमाले र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीलाई मिलाउनु छ।  

चुनाव लडेर होइन, पार्टीबाट निर्विरोध रुपमा प्रस्ताव आएमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत उनले केही भेटघाटका क्रममा गरेकी छन्। उनीनिकट नेताहरूका भनाइमा, अध्यक्ष ओलीलाई चिढ्याउने पक्षमा उनी छैनन्। बरु ओलीबाटै कुनै प्रस्ताव आउँछ कि भनेर पर्ख र हेरको अवस्थामा छिन्।

‘अध्यक्ष केपी ओलीबाटै केही प्रस्ताव आउँछ कि भनेर अहिले उहाँ पर्ख र हेरको अवस्थामा हुनुहुन्छ,’ ती नेताले थपे, ‘तर उहाँलाई लडेरै (प्रतिस्पर्धा गरेर) अगाडि बढाउन केही नेता लाग्नुभएको छ।’

‘एकताबद्ध गरेर अघि बढाउनुपर्ने एमालेलाई झन् गुट बलियो बनाउने काम प्रदेश अधिवेशनबाट भयो, जसले गर्दा भण्डारीलाई सक्रिय राजनीतिमा आउन सुझाव दिने संख्या दैनिक बढिरहेको छ,’ अर्का एक नेताले भने।

भदौ १९ देखि एमालेको पहिलो पटक भइरहेको प्रदेश अधिवेशनमा अध्यक्ष ओलीबाट धोका खाएको भन्दै केही नेता भण्डारीलाई भेट्न भंगाल पुगेका थिए।

दुई कार्यकाल राष्ट्रपति, यसअघि मन्त्री र एमालेको उपाध्यक्ष भैसकेको व्यक्ति सक्रिय राजनीतिमा आउने भनेको एमालेको अध्यक्ष बन्ने हो भन्ने प्रष्ट छ।

तर एमालेको नियमित महाधिवेशन आउन करिब तीन वर्ष नै बाँकी रहेकाले तत्काल भण्डारी चुनिएर एमालेको अध्यक्ष बन्ने अवस्था छैन। फेरि उमेरले ७२ वर्ष पार गरेर दुई कार्यकाल अध्यक्ष रहेपनि ओलीले तेस्रो कार्यकाल दोहोरिन पाउने गरी विधानमा संशोधन गराइसकेका छन्।

यस्तो अवस्थामा भण्डारी एमालेको अध्यक्ष बन्न या त ओलीलाई चुनौती दिएर उनी अघि बढ्नुपर्नेछ, या त ओलीले नै आफ्ना लागि प्रतिकूल अवस्था आएको ठानी आफै किनारा लाग्नुपर्ने हुन्छ।

त्यसो त एमालेको विशेष महाधिवेशन वा कुनै नयाँ राजनीतिक परिस्थिति विकास भएको खण्डमा पनि विद्या भण्डारी नेतृत्वमा अगाडि आउने अवस्था नबन्ला भन्न सकिन्न।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .