बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने भएका छन्।
सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्दै तत्काल सरकार छाड्ने निर्णय नगर्ने निष्कर्ष निकालेको हो। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले तत्काल सरकार छाड्ने विषयमा कुनै निर्णय नभएको बताए। थपलिएका अनुसार बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र अन्य राजनीतिक दलसँग छलफल तथा संवादलाई निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको छ।
‘हरेक दिन नयाँ राजनीतिक परिस्थिति विकसित भइरहेको छ। त्यसैले अहिले नै सरकार छाड्ने वा रहने भन्ने निर्णय गरिएको छैन,’ थपलियाले नेपालखबरसँग भने, ‘पार्टी केन्द्रको निर्देशन र अन्य दलसँगको छलफलपछि मात्रै आगामी कदम तय हुनेछ।’
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरू सरकारमै रहने बताए। पछिल्ला दिनहरूमा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने चर्चा चलिरहे पनि त्यसबारे पार्टीबाट कुनै आधिकारिक निर्णय नभएको उनले बताए।
उनका अनुसार हालका लागि नेपाली कांग्रेससँगको सत्ता सहकार्य यथावत् रहेको छ। केन्द्रमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहे पनि बागमती सरकारको भविष्यका विषयमा कुनै ठोस निर्णय भइसकेको छैन।
मन्त्रालय पुनर्संरचना, कार्यविभाजन तथा बिना विभागीय मन्त्रीहरूको व्यवस्थापन लगायत विषयमा पनि पार्टीको माथिल्लो तहमा छलफल भइरहेको उनले बताए। पार्टीको निर्देशन प्राप्त भएपछि आवश्यक निर्णय कार्यान्वयन गरिने र त्यसअघिसम्म सरकारका नियमित कामकारबाहीलाई निरन्तरता दिइने उनको भनाइ छ।
केन्द्रमा कांग्रेस-एमाले गठबन्धनको भविष्यलाई लिएर अन्योल कायम रहेकै बेला बागमती प्रदेशमा पनि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि एमालेले भने पार्टीको औपचारिक निर्णय नआएसम्म सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने कुनै कदम नचाल्ने स्पष्ट संकेत दिएको छ।
Shares

प्रतिक्रिया