ad ad

कारोबार


तीन व्यापारिक घराना, जसको पकडमा छन् अधिकांश अटो ब्रान्ड

निर्वाण चौधरीको प्रवेशसँगै नयाँनयाँ ब्रान्ड भित्र्याउँदै सीजी
तीन व्यापारिक घराना, जसको पकडमा छन् अधिकांश अटो ब्रान्ड

वसन्त अर्याल
कात्तिक २४, २०८० शुक्रबार ११:३४, काठमाडौँ

एमएडब्ल्यू र विशाल ग्रुपपछि अब चौधरी ग्रुपले धेरै वटा अटो ब्रान्ड होल्ड गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा विद्युतीय गाडीको खपत बढ्दै जाँदा चौधरी ग्रुप आक्रामक रुपमा अटो क्षेत्रको कारोबारमा अघि बढेको हो।

चौधरी ग्रुपको सबै व्यावसायिक क्षेत्रमा लगानी छ। एमएडब्ल्यूले मुख्यतः अटोमोबाइल्स सम्बन्धी कारोबार गर्दै आएको छ भने विशाल ग्रुपले अटोबाहेक कृषि, बैंकिङ, स्वास्थ्य, शिक्षा र उत्पादनमूलक उद्योगमा लगानी गरेको छ। 

ठूला घरानाले धेरै ब्रान्ड होल्ड गरे पनि सीमित ब्रान्ड मात्रै चर्चित छन्। एमएडब्ल्यू ग्रुपले दुईपांग्रे यामाहा र हेभी इक्विप्मेन्टमा जेसीबी र चारपांग्रेमा जिप, स्कोडा र पछिल्लो समय चर्चित ब्रान्डको रुपमा स्थापित छन् सेरेस भित्र्याउने गर्छ। त्यस्तै विशाल ग्रुपका दुईपांग्रेमा सुजुकी, चारपांग्रेमा फक्सवागन, एमजी र रेनो नेपालमा परिचित ब्रान्ड हुन्।  

एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र विशाल ग्रुपका निर्देशक निकुन्ज अग्रवालले अटोमोबाइल्सको व्यवसाय हेर्दै आएका छन्। नेपालमा बिक्री हुनेमध्ये १ दर्जन बढी अटो ब्रान्ड दुई घरानाले ‘होल्ड’ गरेका थिए। 

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले मारुती सुजुकीका चारपांग्रे गाडी बिक्री गर्दै आएको थियो। अरुण चौधरीले मात्रै अटोमोबाइल्स व्यवसाय हेर्दै आएका थिए। यो व्यवसायमा विनोद चौधरीका छोरा निर्वाणको प्रवेशसँगै चौधरी ग्रुपले धमाधम विद्युतीय ब्रान्ड भित्र्याउन थालेको हो।

सिजी मोटर्सले नेटा ब्रान्डको प्यासेन्जर कार २०७९ जेठमा बिक्री सुरु गरेको थियो। असोजमा मात्रै २ वटा नयाँ ब्रान्ड ल्याउन सम्झौता गरिसकेको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण टोलीमा सहभागी निर्वाण स्मार्ट मोटर्स र जीएस मोटर्सको आधिकारिक बिक्रेता बनेका छन्। दुवै कम्पनीले विद्युतीय गाडी उत्पादन गर्छन्। सिजी मोटर्सले जीएसीका एयोन मोडल ल्याउने उल्लेख गरेको छ। स्मार्ट मोटर्सले मर्सिडिज बेन्जसँगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ। 

‘मर्सिडिज बेन्जसँग जोइन्ट भेन्चर्स रहेको स्मार्ट मोटर्ससँग सहकार्य गर्न पाउँदा सिजी मोटर्स खुसी छ,’ ग्रुपका निर्देशक चौधरी भन्छन्।
  
मर्सिडिज बेन्ज र गिली होल्डिङबीच विद्युतीय गाडी उत्पादन गर्न विश्वव्यापी जोइन्ट भेन्चर छ। कम्पनीले जर्मनी र चीनमा प्लान्ट स्थापना गरी गाडी उत्पादन गरिरहेको छ। 

सन् २०१९ मा स्थापना भएको कम्पनीले २०२२ बाट पहिलो विद्युतीय गाडी बजारमा ल्याएको थियो। नेपालमा स्मार्ट वान र त्यसपछि थ्री मोडल केही समयमै भित्र्याइने सीजीले जनाएको छ। नेपालमा सीजी मोटर्समार्फत नेटा, केवाईसी, किङलङका गाडी बिक्री हुँदै आएका छन्। पछिल्लो समय केवाईसी र किङलङका विद्युतीय माइक्रो चर्चित छन्। 

चौधरी ग्रुपले नेपालमा बिक्री भैरहेका चिनियाँ ब्रान्ड बीवाईडी र भारतीय दुईपांग्रे ब्रान्ड हिरोको आधिकारिक विक्रेता लिन खोजेको छ। बंगलादेशमा बीवाईडीको आधिकारिक विक्रेता पाए पनि उसले तत्काल नेपालमा पाउन कठिन देखिन्छ। 

यी हुन् विशाल ग्रुप होल्ड गरेका अटो ब्रान्ड 
विशालले केही ब्रान्डमा अन्य व्यवसायीसँग साझेदारी समेत गरिरहेको छ। साझेदारीसँगै विद्युतीय प्यासेन्जर भेइकलमा राम्रो बजार हिस्सा ओगट्न समेत ग्रुप सफल भएको छ। 

बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी) नेपालमा विद्युतीय गाडीको लागि चर्चित छ। एमजी जेडएस सबैभन्दा बढी बिक्री हुने ईभीमा पर्छ। कम्पनीले हालै एमजी फोर र दुई ढोका भएको कोमेट बजारमा ल्याएको छ। 

विशाल ग्रुपसँगै मुरारका ग्रुपको समेत लगानी रहेको प्यारामाउन्ट मोटर्सले एसयूभी सेगमेन्टमा एमजी हेक्टर, एक्टर, एचएस मोडल बजारमा ल्याएको छ। 

प्यारामाउन्ट मोटर्सले म्याक्सस, माज्दा ब्रान्ड समेत बिक्री गर्दै आएको छ।  म्याक्सस ब्रान्डले लक्जरिअस म्याक्सस मिफासँगै टी ६० र टी ७० पिकअप गाडी बिक्री गर्दै आएको छ। 

प्यारामाउन्टले नै जापानी ब्रान्ड माज्दाका गाडी बिक्री गर्दै आएको छ। माज्दा प्रिमियम ब्रान्ड हो। नेपालमा कम्पनीले माज्दाका सीएक्स ५ र सीएक्स ९ मोडलका गाडी बिक्री गरिरहेको छ। पद्यमाश्री ग्रुपबाट २०२० मा विशाल ग्रुप अन्तर्गतको पारामाउन्ट मोटर्सले आधिकारिक बिक्रेता लिएको थियो।    

विशाल ग्रुप अन्तर्गतको पूजा इन्टरनेसनलले जर्मन ब्रान्ड फक्सवागनका सवारीसाधन बिक्री वितरण गर्दै आएको छ। फक्सवागनको नेपालमा हचब्याग पोलो सर्वाधिक लोकप्रिय गाडी हो। एसयूभीमा कम्पनीको टाइगन बढी बिक्री हुने गाडीमा पर्छ।   

फ्रेन्च ब्रान्ड रेनो विशाल गुप अन्तर्गत नै छ। रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्सको रेनो भित्रिएसँगै एसयूभी सेगमेन्टमा डस्टर राम्रो बिक्री भए पनि बीचमा खस्किएको थियो। कम्पनीले एसयूभीमा सस्तो गाडी काइगर भित्राएको छ। कम्पनीले नेपालमा टाइबर, डस्टरका गाडी समेत बिक्री गर्दै आएको छ। 

चिनियाँ ब्रान्ड ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता समेत विशाल ग्रुपअन्तर्गतको भीजी इम्पेक्स हो। कम्पनीका हावेल एच ६, हावेल जोलायन, जीडब्ल्यूएम पिकअप बिक्री गरिरहेको छ। ग्रेटवालको भिन्टेज लुक्सको ओरा ३ पनि विशाल ग्रुपले भित्र्याएको छ।  

विशाल ग्रुप सुजुकी दुईपांग्रेको आधिकारिक बिक्रेता हो। सुजुकीका जिक्सर मोटरसाइकल नेपालमा लोकप्रिय छन्। एसिसेस, बर्गम्यान लगायतका दुईपांग्रे बजारमा छन्।  

विशाल चारपांग्रे र दुईपांग्रेबाहेक हेभी इक्विपमेन्टको समेत आधिकारिक बिक्रेता छ। विशालकै पूजा कन्स्ट्रक्सन नेपालले कोबेलको एक्स्काभेटर, क्रेनलगायतका उपकरण बिक्री गर्दै आएको छ। पछिल्लो समय पूजाले एसआरएम मोडलका विद्युतीय भ्यान बिक्री थालेको छ। 

ग्रुपले अटोमोबाइलमा प्रयोग हुने भिडोल र मटुल लुब्रिकेन्टको व्यापार गर्दै आएको छ।  

अटो व्यवसायमा सफल एमएडब्ल्यू
एमएडब्ल्यू ग्रुप मुख्यतः नेपालमा अटो व्यवसायमा सफल कम्पनी मानिन्छ।  कम्पनीको २ वटा ब्रान्ड नेपाली बजारमा राम्रो बजार हिस्सा छ। हेभी इक्विपमेन्टमा एकछत्र बजार ओगटेको छ। नेपालमा हेभी इक्विपमेन्टमा सर्वाधिक बिक्री हुने ब्रान्डमा जेसीबी छ। 

दुईपांग्रेमा मोटरसाइकल तथा स्कुटरमा यामाहाको बजार हिस्सा राम्रो छ। यामाहा मोटरसाइकल तथा स्कुटर नयाँ प्रविधि प्रयोगमा अब्बल मानिन्छन्। एमएडब्ल्यू इन्टरप्राइजेजले १९७५ देखि नै यामाहाका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। 

नाडा अटो शोमा नयाँ ब्रान्ड भित्र्याएर एमएडब्ल्यूले २ वटा मोडलमा राम्रो बुकिङ गरेको छ। एमएडब्ल्यू वृद्धिले एसयूभीमा सेरेस ३ र सस्तोमा मिनी ईभी बजारमा ल्याएको छ। कम्पनीले चांगन र फोटोन ब्रान्ड बिक्री गर्दै आएको छ। 

चांगनको हन्टर र अल्बिन नेपाली बजारमा छन्। फोटोनका पिकअप र विद्युतीय माइक्रोको बजार उपस्थिति बढ्दै छ। पिकअपमा टुनाल्ड एस र टुनाल्ड ई छन्। माइक्रोमा १६ सिटे र १९ सिटे छन्। फोटोनले एम्बुलेन्स समेत बिक्री गरिरहेको छ।  

प्रिमियम ब्रान्डको रुपमा एमएडब्ल्यू ग्रुपको जिप नेपालमा लोकप्रिय छ। लाइफ अटोमोबाइल्स प्रालि आधिकारिक बिक्रेता रहेको ब्रान्डमा जिप कम्पास र र्‍याङ्गलर नेपालमा लोकप्रिय गाडी हुन्। 

युरोपियन ब्रान्डमा स्कोडाको एसयूभी कुसाक चर्चित छ। कम्पनीका र्‍यापिड, सुपर्ब, कारोक गाडी छन्।   

कमर्सियल गाडीमा बतास ग्रुपसँग सहकार्य गरी एमएडब्ल्यूले आइचरको गाडी बिक्री थालेको छ। आइचरका ट्रक, बस लगायतका मोडल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .