ad ad

कारोबार


करोडमाथिको सेयर धितो कर्जाको माग उच्च, बढ्ला त सेयर बजार?

करोडमाथिको सेयर धितो कर्जाको माग उच्च, बढ्ला त सेयर बजार?

केशर बोगटी
कात्तिक २६, २०८० आइतबार १८:२२, काठमाडौँ

पुँजीबजार शिथिल भइरहेका बेला एक करोड रूपैयाँभन्दा माथिको सेयर धितो कर्जाको माग भने बढ्न थालेको छ।

गत साउनदेखि असोज मसान्तसम्मको तथ्यांक हेर्दा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक करोडमाथिको सेयर धितो कर्जा ७.२ प्रतिशतले बढेको पाइएको छ।

यसले पछिल्लो समय ठूलो आकारको सेयर धितो कर्जाको माग बढ्न थालेको प्रष्ट गर्छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार, असोज मसान्तसम्म आइपुग्दा औसत सेयर धितो कर्जा ६.२ प्रतिशतले बढेको छ।

समग्र सेयर धितो कर्जाको प्रवाह ३ अर्ब ६९ करोडले बढेको देखिएको छ।

औसत सेयर धितो कर्जा बढे पनि ५० लाखदेखि १ करोडसम्मको कर्जामा गिरावट आएको छ। गएको तीन महिनामा ५० लाखदेखि १ करोडसम्मको कर्जा २.६ प्रतिशतले घटेको छ। 

५० लाखदेखि १ करोडसम्मको कर्जा २.६ प्रतिशत अर्थात् ३० करोड घटेको छ।

५० लाखभन्दा माथिको यस्तो कर्जामा जोखिमभार १५० प्रतशित छ। 

जोखिम भार १०० प्रतिशत रहेको कर्जा भने उल्लेख्य मात्रामा बढेको छ। तथ्यांकअनुसार, २५ लाखसम्मको सेयर धितो कर्जा ५.२ प्रतिशत र ५० लाखसम्मको कर्जा ११ प्रतिशतले बढेको छ।

५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत छ।

जोखिम भार १५० प्रतिशत हुँदासमेत १ करोडमाथिको सेयर धितो कर्जा र यसको मागमा देखिएको यो बढोत्तरी बजारलाई धेरै फरक पार्ने खालको भने नभएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। 

असोज मसान्तसम्म आइपुग्दा २५ लाखसम्मको सेयर धितो कर्जा ७.२ प्रतिशत अर्थात् ४७ अर्ब ९५ करोड पुगेको छ।

२५ लाखदेखि ५० लाखसम्मको सेयरधितो कर्जा ११ प्रतिशत अर्थात् करिब २ अर्बले बढेको छ। २५ लाखसम्मको कर्जा ५.२ प्रतिशत अर्थात ५ करोडले बढेको छ।

गत वर्ष सोही अवधिमा औसत सेयर धितो कर्जा ५.२ प्रतिशत अर्थात् ४ अर्बले घटेको थियो।

गत वर्ष १ करोडमाथिको सेयरधितो कर्जा ६.४ प्रतिशत र २५ देखि ५० लाखसम्मको कर्जा १०.४ प्रतिशतले घटेको थियो।

त्यसैगरी ५० लाखदेखि १ करोडसम्मको कर्जा ३ प्रतिशत र २५ लाखसम्म सेयर धितो कर्जा १.१ प्रतिशतले बढेको थियो।

मौद्रिक नीतिमा सबैखाले सेयर धितो कर्जाको जोखिम भार १५० बाट १०० ल्याइने लगानीकर्ताको अपेक्षा थियो। जुन अपेक्षा पूर्णरूपमा मौद्रिक नीतिमा समेटिन सकेन।

राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार मात्र १०० प्रतिशतमा झार्‍यो ।

यसले साना लगानीकर्तालाई केही सहज देखियो। तर, समग्र लगानीकर्तालाई राहत नपुगेको उनीहरूको गुनासो छ।

केन्द्रीय बैंकले ५० लाखमाथिको कर्जाको जोखिमभार १५० प्रतिशतको सीमालाई यथावत् नै राख्यो। त्यसयता बजार करिब ३५० अंकले घटेको देखिन्छ।

तर, अब ठूलो आकारको कर्जाको माग बढ्दै जानु र कारोबारसमेत नघट्नुलाई कतिपय लगानीकर्ताले आगामी दिनमा बजार राम्रो लयमा फर्किने संकेतका रूपमाबुझेका छन्। 

साथै, पछिल्लो समय वाणिज्य बैंकहरूले समेत सेयर धितो कर्जाको विज्ञापन गर्न थालेका छन्। अधिक तरलता रहेका बेला चालु पुँजीलगायतका कर्जाको माग न्यून हुँदा बैंकहरू सेयर धितो कर्जाको विज्ञापन गर्न थालेका हुन्।

यसले पनि आगामी दिनमा यस्तो कर्जा अझै बढ्ने आकलन गर्न सकिन्छ।

तर, सेयर धितो कर्जासँगै अन्य (प्रयोजन खुलाउनु नपर्ने) कर्जा नबढेसम्म सेयरबजार धेरै तलमाथि नहुने जानकारहरूको भनाइ छ।

‘अघिल्ला वर्षहरूको तुलनामा चालु पुँजी कर्जा, ओडी लगायतका ठूलो भोलुमका कर्जामा के कतिको गिरावट आएको छ त्यसलाई नियाल्नु पर्छ’,  राष्ट्र बैंकका एक अधिकारीले भने, ‘५/१० अर्ब कर्जा घटबढ हुनुले बजारमा धेरै फरक पर्दैन। यता, प्रयोजन नखुलाउनु पर्ने क्षेत्रमा गएको कर्जा सेयर बजारमा गए मात्रै मार्केट उथलपुथल हुने गर्छ।’

उनकै भनाइमा, ठूलो परिमाणको सेयर धितो कर्जा बढ्दै जानु राम्रो नै हो तर त्यसले मात्रै बजारको उचाइ आकलन गर्न मिल्दैन। सानोसानो धितो कर्जा त बैंकको ब्याज बुझाउने लगायतका काममा प्रयोग हुने गरेको छ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार सेयर धितो कर्जा बढ्दै जानु सकारात्मक रहेको बताउँछन। तर, बैंकमा लगानीयोग्य रकम (तरलता) अधिक हुँदा ब्याजदर नघट्दा लगानीकर्ताको मनोबल कमजोर भएको उनको भनाइ छ।

‘बैंकहरूमा तरलता अधिक छ। यस्तो अवस्थामा बैंकहरूको बेसरेट १२ प्रतिशत हाराहारीमा छ’, उनले भने, ‘बेसरेट घटेर एकल अंकमा नआएसम्म मनोबल बढ्ने देखिदैन।’

१४-१५ प्रतिशत ब्याजदरमा कर्जा लिई सेयर बजारमा लगानी गर्ने जोखिम लिन लगानीकर्ता नसकिरहेको उनको भनाइ छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .