ad ad

कारोबार


काठमाडौंमा खुल्यो बाइकर्स क्याफे– कफी पिउँदै बाइक हेर्ने ठाउँ (भिडिओ)


वसन्त अर्याल
मंसिर ११ , काठमाडौँ

तपाईंलाई बाइक मन पर्छ? अनि कफी नि? अथवा कफी पिउँदै बाइकरहरुसँग गफिन, टुर प्लान गर्न वा बाइक गेयर तथा एसेसरिज हेर्न चाहनुहुन्छ? त्यसो हो भने तपाईंका लागि काठमाडौंमा भर्खरै नयाँ गन्तव्य खुलेको छ : बाइकर्स क्याफे।

र, यो ‘कन्सेप्ट’ भित्र्याएका हुन् गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले। ग्राहकलाई फरक अनुभूति दिलाउन यस्तो क्याफे खोलिएको गोल्छाले बताए।

काठमाडौंको मुटु नारायणचौर नक्सालमा खुलेको बाइकर्स क्याफे बाइक बिक्री स्थल पनि हो। जहाँ पल्सरको एन सिरिज, डोमिनार र केटीएमका सबै मोडल शोकेसमा राखिएको छ।

‘हामी बजाज र केटीएमको आधिकारिक बिक्रेता ग्राहकसँग २ पटक मात्रै अन्तरक्रिया गर्न पाउँछौँ,’ गोल्छा भन्छन्, ‘एक पटक शोरुममा अर्को पटक वर्कसपमा। शोरुम र वर्कशपमाबाहेक अन्य समयमा ग्राहकका थुप्रै समस्या हुन्छन्। विक्रेता सम्पर्कमै हुँदैन। बाइक राइडरको अनुभव बुझ्न सकिएको हुँदैन।’ 

‘बाइक राइडरसँग बिक्री गर्ने समय र सर्भिस गर्ने समयमा मात्रै होइन जुनसुकै बेला पनि कनेक्ट हुन बाइकर्स क्याफेको कन्सेप्ट ल्याएका हौँ,’ उनले थपे।

क्याफेमा टुरिङका लागि मन पराइएका बाइक राखिएको छ। बाइकलाई लामो यात्रामा जाँदा कस्तो अवस्थासम्म बनाउन सकिन्छ भनी इन्जिन र कलरबाहेकका पार्टस् परिवर्तन गरिएको छ।   

‘बाइकलाई हामीले टुरिङको गेयरसँग मिल्ने एसेसरिज, साइड ड्रेल थप गरी राखेका छौँ,’ गोल्छा सुनाउँछन्, ‘राइडरलाई तपाईंको यात्रा यसरी अनुभव लिन पाउनुहुन्छ भन्ने देखाउन खोजेका छौँ।’

क्याफेमा बाइकको विषयमा जानकारी दिन राइडर्स नै उपलब्ध छन्। कसैले बाइक खरिद गर्न चाहेमा ३० मिनेटमै फाइनान्सको सेवा उपलब्ध हुन्छ। त्यसका लागि अलग व्यक्ति रहने छन्। 

भविष्यमा बजाज र केटीएमका जति पनि बाइक नेपाल आउँछन् सबै बाइकर्स क्याफेमा राखिने योजना छ। क्याफेमा बाइकसँगै एसेसरिज, प्रिमियम हेलमेटस्, राइडिङ ज्याकेट लगायत सबै सामान उपलब्ध छन्। 

‘राइडिङ ज्याकेटका लागि कवच कम्पनीसँग सहकार्य छ। राइडिङ गेयर उत्पादन गर्ने पनि नेपाली कम्पनी नै हो। महिला टिमले यसको उत्पादन गर्दै आएको छ,’ गोल्छा भन्छन्, ‘६ हजारदेखि २५ हजारसम्मका ज्याकेट छन्।’

क्याफेमा प्रिमियम एरो ब्रान्डका हेलमेट राखिएको छ। २० हजारदेखि १ लाख रुपैयाँसम्मका हेलमेट छन्। एरोले नयाँ हेलमेट आउँदा बाइकर्स क्याफेमै लन्च गर्ने योजना बनाएको छ। 

क्याफेमा ‘हल अफ फेम’ वाल छुट्टाइएको छ। बाइक रिभ्यु र प्रमोसन गर्ने इन्फ्लुएन्सर छन्। उनीहरुको धारणा सुनेर ग्राहकले बाइक खरिद गर्ने, नगर्ने धारणा बनाउँछन्। बाइकर्स क्याफेले ती राइडर्सलाई सम्मान गर्न एक भागमा उनीहरुको फोटो फ्रेमिङ गरिएको छ।  

क्याफेको डिजाइन मोटरसाइकलकै पार्ट्सबाटै गर्ने सोचअनुसार ड्युक २०० को इन्जिनलाई टेबल बनाइएको छ। विस्तारै मोटरसाइकलका पार्ट्सबाट बनेका डिजाइनहरु थपिनेछ।

क्याफे सञ्चालनका लागि गोल्छा ग्रुपले नेपालमा लोकप्रिय हिमालयन जाभा कफीसँग सहकार्य गरेको छ। हिमालयन जाभाले किचन र कफी सप चलाउँछ, गोल्छा ग्रुपले बाइक र एसेसरिज हेर्छ।

भिडिओ : 

राइडिङ कम्युनिटीको हब बनाउने उदेश्य
नेपालमा धेरै राइडिङ कम्युनिटी छन्। कतिले साथीभाइकै बीचमा राइडिङ सर्कल बनाएका छन्। सप्ताहन्तमा राइडिङ जाने प्रचलन छ। केही एक हप्ताकै लागि बाइक राइडिङमा जाने गरेका छन्। 

‘राइडिङ कम्युनिटीको लागि हब बनोस्। उनीहरु एक आपसमा भेटघाट गर्ने स्थलका रुपमा यसलाई विकास गर्न खोजिएको हो,’ गोल्छा भन्छन्। 

बाइकर्स क्याफे ‘बिग बाइक’ को लागि साझा ठाउँ हो। क्याफे ओपनिङमा बजाज र केटीएमका मात्रै बाइक भए पनि विस्तारै अरु बाइक थपिने उनको भनाइ छ। कुनै कम्पनीले आफ्नो बाइक लन्च गर्न चाहे बाइकर्स क्याफेमा गर्न सक्छ। 

‘कम्पनीहरुले केही घण्टाको लागि ठाउँ भाडामा लिएर नयाँ बाइक लञ्च गर्न सक्छन्,’ उनले भने, ‘राइडर्स वा भ्लगरले आफ्नो कम्युनिटीलाई बोलाएर आफ्नो भिडिओ सार्वजनिक गर्न सक्छन्।’

क्याफेमा राइडर्सका फोटो प्रदर्शनमा राखिएको छ। क्याफे सञ्चालनमा आएको केही समयमै केहीले कर्पोरेट मिटिङ र छलफलको स्थालका रुपमा समेत प्रयोग गर्न थालेका छन्। क्याफेको छतबाट नाराणचौरको दृश्य पनि अवलोकन गर्न सकिन्छ।

काठमाडौंबाहेक ठुलो राइडिङ कम्युनिटी भक्तपुर, पोखरा र धरानमा छन्। काठमाडौंमा केही समय क्याफे सञ्चालन गर्दाको अनुभव र सिकाइ बाहिर विस्तार गर्ने योजना रहेको गोल्छाले सुनाए।

मंसिर ११, २०८० सोमबार २१:२१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .