राजनीति


कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०८० सोमबार १७:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन्।

कोप-२८ मङ्सिर १४ देखि २६ (३० नोभेम्बर - १२ डिसेम्बर) मा दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनाबिलिटी प्राइज अवार्ड समारोह’मा पनि सहभागी हुने कार्यक्रम छ। उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनुका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवर्धन गर्न ‘हिमालको आह्वानः जलवायु संकटबाट हामीलाई कसले बचाउँछ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्नेछन्।

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्त्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। उनले अबुधाबीस्थित नेपालीदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल-यूएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .