ad ad

कारोबार


लघुवित्तको लगानी घट्दा बहुकर्जा कारोबार ब्युँताउँदै राष्ट्र बैंक, ऋणीलाई राहत

लघुवित्तको लगानी घट्दा बहुकर्जा कारोबार ब्युँताउँदै राष्ट्र बैंक, ऋणीलाई राहत

केशर बोगटी
मंसिर १६, २०८० शनिबार २१:१, काठमाडौँ

राष्ट्र बैंकले एउटै व्यक्तिले एकभन्दा बढी संस्थाबाट ऋण लिने (बहुकर्जा) कारोबारलाई ब्युँताउने तयारी गरेको छ। एक ग्राहक एक संस्थाको नीतिले लघुवित्त संस्थाहरुको लगानी खुम्चिँदा राष्ट्र बैंकले बहुकर्जा कारोबार पुनः सुरु गर्न लागेको हो।

यसले लघुवित्तका ऋणीलाई राहत दिनेछ। किनभने एकै व्यक्तिले एकभन्दा बढी संस्थाबाट ऋण लिन पाउनेछन्। 

हाल लघुवित्तका ऋणीले एउटा संस्थाबाट मात्र ऋण लिन पाउँछन्। एकै व्यक्तिले २३ वटासम्म लघुवित्तबाट ऋण लिएको देखिएपछि गत फागुनबाट राष्ट्र बैंकले बहुकर्जा कारोबार गर्न नपाउने व्यवस्था गरेको थियो। 

२०७९ फागुनअघि एउटै व्यक्तिलाई धेरै संस्थाबाट प्रवाह भएको कर्जाको हकमा साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न राष्ट्र बैंकले छुट दिएको थियो। 

तर साविकमा यस्तो सीमा नाघ्ने गरी कर्जा प्रदान गरिएको अवस्थामा कर्जा प्रवाह गर्ने पछिल्लो लघुवित्त वित्तीय संस्थाले सीमाभन्दा बढी प्रवाह भएको कर्जा रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ। 

यसले कर्जा उठौतीमा समस्या पर्न गई लघुवित्तको खराब कर्जा उच्च देखिदा अधिकांश लघुवित्त नोक्सानीमा देखिएका छन्। 

एक व्यक्ति एक संस्थाको नीतिले लघुवित्तको लगानी खुम्चिँदा बहुकर्जाको आवश्यकता महसुस गरिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। 

‘एक ग्राहक एक संस्थाको नीतिले एकातिर रिकभरी समस्या बढायो। अर्को लगानी समेत खुम्चिरहेको छ,’ ती अधिकारीले नेपालखबरसँग भने, ‘ऋणीलाई विकल्प समेत भएन। जसले गर्दा केही व्यावहारिक समस्या भए।’

‘कुनै संस्थाले राम्रो सेवा सुविधा दिएन भने पनि ऋणीले त्यसमै निर्भर रहनुपर्ने बाध्यतात्मक अवस्था व्यावहारिक समस्या देखिएपछि बहुकर्जाको व्यवस्था आवश्यक देखिएको हो,’ ती अधिकारीले भने। 

तर, पहिलेको जस्तो एकै व्यक्तिले २०÷२२ संस्थाबाट ऋण लिन भने नपाउने ती अधिकारीको भनाइ छ। 

‘एक व्यक्तिलाई बढीमा दुई वा तीन संस्थाबाट मात्रै कर्जा लिन पाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘एकल ग्राहक कर्जाको सीमा ७ लाख हो। एक व्यक्तिले एक संस्थाबाट २ लाख ऋण लिएको छ। उसले अर्को संस्थाबाट ४ लाख गरी ७ लाखसम्मको सीमासम्म कर्जा लिन सक्नेछ।’

सीमा नाघ्ने गरी भने ऋण दिन नपाउने व्यवस्था गरिने ती अधिकारीले बताए। 

चालु आवको असोज मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ३४ अर्ब लगानी गरेका छन्। गत वर्ष सोही अवधिमा लघुवित्त संस्थाहरुले ४ अर्ब ५७ अर्ब रुपैयाँ लगानी गरेका थिए। 

गत वर्षको तुलनामा लघुवित्तको लगानी २३ अर्बले खुम्चिएको छ।

हाल विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामूहिक जमानीमा लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रतिसमूह सदस्य बढीमा ५ लाखसम्म लघुकर्जा पाउँछन्। 

त्यसैगरी, विगत दुई वर्षदेखि कर्जा उपभोग गरी असल वर्गमा परेका समूह सदस्यले भने ७ लाखसम्म कर्जा पाउँछन्।

ऋणीले एकभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले माग भए पनि कर्जा दिन नसकिएको नेसनल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामबहादुर यादव बताउँछन्। 

एकातिर रिकभरीको समस्या हुँदा अर्कोतिर प्रोभिजन बढेर अधिकांश लघुवित्त नोक्सानीमा रहेको यादव बताउँछन्। 

‘एनपीएल दोहोरो अंक पुग्ने अवस्था छ। ऋणीले एकभन्दा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले केही समस्या बढेको हो,’ उनले भने, ‘ऋणीले ७ लाखसम्म ऋण लिन पाउँछ। तर, कुनै ऋणीले एक संस्था १ लाख कर्जा लिएको छ भने उसले अर्को संस्थाबाट ऋण पाउँदैन। सोही लघुवित्तले उसलाई कर्जा दिएन भने ऊ मर्कामा पर्छ।’

ग्राहकलाई उसको लिमिटसम्म दुई वा तीन संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिए कर्जा माग बढ्न गई ऋणीलाई विकल्प समेत हुने यादव बताउँछन्। 

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख तथा कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल एउटा संस्था एउटा ग्राहकको नीतिमा केही व्यावहारिक समस्या रहेको बताउँछन्। 

‘यसमा केही परिमार्जन गर्नुपर्ने महसुस गरेका छौँ। ग्राहकलाई कर्जाको लागि च्वाइस भएन भन्ने छ,’ उनले भने, ‘अब चाँडै नै यसमा पनि केही परिमार्जन होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .