ad ad

कारोबार


हिमालय एयरलाइन्सले थाल्यो काठमाडौँ–सांघाई उडान

हिमालय एयरलाइन्सले थाल्यो काठमाडौँ–सांघाई उडान

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०८० शनिबार ११:१, काठमाडौँ

हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो। उक्त जहाज साङ्घाईबाट यात्रु लिएर आज राति ९ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने एयरलाइन्सले जनाएको छ। 

काठमाडौँ-साङघाई उडान पाँच घण्टा २० मिनेटको हुनेछ। हरेक शनिबार बिहान नियमित उडान हुने कम्पनीले जनाएको छ।

साङ्घाईमा हिमालय एयरलाइन्सको यो पहिलो उडान हो। योसहित कम्पनीले चीनको राजधानी बेइजिङसहित विभिन्न नौ सहरमा उडान विस्तार गरेको छ।

उद्घाटन उडानबारे जानकारी दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनको मूख्य व्यापारिक र पर्यटकीय सहरमा सीधा उडानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनाका साथै बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल आकर्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

उनले नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान, व्यावसायिक साझेदारी बढोत्तरीका साथै चिनियाँ पर्यटक भित्र्याउन काठमाडौँ–साङ्घाई हवाई सम्पर्क सञ्जालले टेवा पुग्नेमा विश्वास व्यक्त गरे। 

उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ पछि नेपालमा चिनियाँ उडान बढेको, सीमा नाकाहरु खुलेकाले आगामी दिनमा उडान बढ्ने र पर्यटक आगमनमा पनि बढोत्तरी हुने बताए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले कोभिड महामारीपछि चीनबाट क्रमशः उडान विस्तार भइरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गरे।

उनले पछिल्लो समय काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक सयभन्दा बढी उडानमार्फत करिब १५ हजार यात्रु आवतजावत गरिरहेको जानकारी दिए।

नेपालका लागि चिनियाँ राजदूतावासका आर्थिक तथा वाणिज्य कन्सुलर छि यूले साङ्घाई-काठमाडौँमा हिमालय एयरलाइन्सको उडानले दुई देशबीचको सम्बन्ध बलियो हुनाका साथै व्यापारिक दृष्टिले पनि महत्त्वपूर्ण भएको बताए।

साङ्घाई जनवादी गणतन्त्र चीनको ठूलो सहरमध्ये एक हो। करिब  ४० मिलियन जनसङ्ख्या रहेको साङ्घाई चीनको उद्योग कलकारखानाको राजधानीका रुपमा पनि कहलिएको छ। यो चीनको मुख्य व्यापारिक केन्द्र पनि मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .