कारोबार


फैलिँदै हिमालय एयरलाइन्सको गन्तव्य, काठमाडौंबाट चीनका १० सहरमा उड्दै

फैलिँदै हिमालय एयरलाइन्सको गन्तव्य, काठमाडौंबाट चीनका १० सहरमा उड्दै

वसन्त अर्याल
मंसिर २४, २०८० आइतबार ७:२२, काठमाडौँ

हिमालय एयरलाइन्सले चिनियाँ गन्तव्यमा उडान विस्तारको आक्रामक योजना बनाएको छ। एयरलाइन्सले १० गन्तव्यमा उडानको योजना बनाएको हो। 

गत महिना नोभेम्बरमा २ वटा गन्तव्यमा मात्रै उडान गरिरहेको एयरलाइन्सले डिसेम्बर अन्तिमसम्म ५ वटा गन्तव्यमा उडान भर्दै छ। 

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान डिसेम्बर २ बाट सुरु गरेको छ भने डिसेम्बर १२ बाट चोङचिङ र ३१ मा तिब्बतको ल्हासामा नियमित उडान गर्दै छ। 

‘नेपाल र चीनको संयुक्त लगानीको कम्पनी भएकाले चीनमा उडानको लागि केही सजहता हुन्छ’, एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिले ३ वटा गन्तव्यमा उडान भएका छन्। डिसेम्बरभित्र ५ वटा गन्तव्यमा नियमित उडान हुन्छ।’

नयाँ योजनाअनुसार चिनियाँ सहरहरु सेन्जेन, चाङ्सा, गोयाङ, कुनमिङ, नानिङलगायत एयरलाइन्सको उडान गन्तव्यमा परेका छन्। 

चार वर्षयता नियमित चीन उडान 
एयरलाइन्सले सन् २०१८ अक्टोबर १९ (२०७५ कात्तिक २) मा चीनको चोङचिङमा पहिलो चार्टर्ड उडान गरेको थियो।

त्यसको एक वर्षपछि अर्थात् २०१९ अक्टोबर २७ (२०७६ कात्तिक १०) मा बेइजिङबाट उडानको सुरुवात गर्‍यो। सोही वर्ष एयरलाइन्सले चीनका सेन्जेन, चाङ्सा, गोयाङमा चार्टर्ड उडान गरेको थियो। तीबाहेक कुनमिङ, ल्हासामा समेत परीक्षणका रुपमा चार्टर्ड उडान गरिसकेको छ। 

‘कोभिड महामारीको समयमा धेरै ठाउँमा कार्गो उडान गर्‍यौँ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘अहिले कार्गो होइन यात्रुवाहक उडान नै गर्न लागेका हौँ।’

एयरलाइन्सले हाल बेइजिङ र छिङ्ताओमा नियमित उडान गरिरहेको छ। कोभिड महामारीपछि २०२३ जनवरी १७ (२०७९ माघ ३) मा हिमालय एयरलाइन्सले चीनको बेइजिङमा नियमित उडान सुरु गरेको थियो। अब भने ल्हासा र चोङचिङपछि चाङ्सा, नानिङ र गोयाङमा विस्तारै नियमित उडान गर्ने योजनामा रहेको श्रेष्ठले बताए।   

कोभिड महामारीका कारण विश्व घुम्ने मानिसको संख्या ह्वात्तै घटेको थियो। सन् २०१९ मा १६ करोड मानिस विदेश घुम्न निस्किएकामा अहिले वार्षिक ४ करोड मात्रै छन्। चिनियाँ नागरिक अझै विदेश घुम्ने कम भएकाले तत्काल एकै पटक धेरै गन्तव्यमा उडान भर्न अप्ठ्यारो रहेको एयरलाइन्सको भनाइ छ।

यसरी जन्मिएको थियो हिमालय एयरलाइन्स 
सन् २०१४ मा कम्पनी दर्तासँगै हिमालय एयरलाइन्सको उदय भयो। टिबेटेन सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपालको यति वल्र्ड इन्भेष्टमेन्ट प्रा.लिको संयुक्त लगानीसँगै हिमालय एयरलाइन्सका जहाजहरु उड्नथालेका हुन्। 

हाल हिमालय एयरलाइन्ससँग ४ वटा जहाज छन्। १८० जनासम्म सिट क्षमता भएको एयरबस ३२० का ३ वटा र १४४ सिट क्षमताको एउटा एयरबस (ए३१९) जहाज छ। 

हिमालय एयरलाइन्सले काठमाडौंसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्तर्राष्ट्रिय उडान गरिसकेको छ। भैरहवा विमानस्थलबाट एयरलाइन्सले मलेसियाको क्वालालम्पुर उडान सुरु गरे पनि नियमित भने हुन सकेन। 

‘आर्थिक राजधानी’ सांघाईमा सिधा उडान
हाल हिमालय एयरलाइन्सको जहाजले चीनको महत्त्वपूर्ण आर्थिक सहर सांघाईमा उडान भरिरहेको छ। 

यही मंसिर १६ गतेबाट नियमित उडान भइरहेको चिनियाँ सहर सांघाई अमेरिकाको न्युयोर्कपछि विश्वकै ठूलो आर्थिक केन्द्र मानिन्छ। सांघाईमा विश्वका ठूला–ठूला कम्पनीका कार्यालयहरू छन्। 

योसँगै हिमालय एयरलाइन्स नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग उडानबाट सिधै जोड्न सफल भएको छ। उपाध्यक्ष श्रेष्ठ काठमाडौं–संघाई उडानले नेपाल र चीनबीच कनेक्टिभिटी बढाउनेमा सहयोग पुग्ने बताउँछन्। 

हिमालयले त्यहाँ अहिले हप्ताको एक उडान गरिरहेको र डिसेम्बर २७ पछि हप्ताको २ उडान गर्ने जनाएको छ। यसअनुसार हरेक बुधबार र शनिबार उडान हुनेछ। सांघाई जनसंख्याको हिसाबले चीनको राजधानी बेइजिङभन्दा पनि ठूलो सहर हो।

‘डिसेम्बर २ बाट सांघाईमा नियमित उडान भइरहेको छ’, श्रेष्ठले थपे। 

हिमालय एयरलाइन्सले सांघाई–काठमाडौं उडानमा मुख्यतः चिनियाँ पर्यटक हुने विश्वास गरेको छ। 

किनभने कोभिड महामारीको समयमा चीनबाट पर्यटक आगमन घटेकोमा २०२३ मा बढ्दै गएको छ। दुई महिनाअघि अक्टोबरमा चीनबाट ६ हजार ८८० पर्यटक नेपाल भित्रिएका थिए। 

‘सांघाई व्यावसायिक सहर हो। मुख्यतः चिनियाँ पर्यटक नै बढी यात्रु हुन्छन्। दोस्रोमा व्यवसायी हुन्छन्’, श्रेष्ठले नेपालखबरसँग भने, ‘यात्रुको आउजाउ बढ्दै गएकाले नयाँ गन्तव्यमा यात्रुको कमी हुँदैन।’

ल्हासामा उडान गर्ने एकमात्रै विदेशी कम्पनी 
हिमालय एयरलाइन्सले डिसेम्बर ३१ बाट ल्हासामा पनि नियमित उडान गर्दै छ। १४४ सिट क्षमताको एयरबस ३१९ जहाजमार्फत उडान गर्न लागेको एयरलाइन्सले जनाएको छ। 

हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासाको गोङ्गर अन्तर्रष्ट्रिय विमानस्थलमा उडान गर्नेछ। श्रेष्ठका अनुसार ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एयरलाइन्स हुनेछ हिमालय। 

‘चिनियाँ नियामक निकायको शर्त पूरा गर्न अरु विदेशी कम्पनीलाई अप्ठ्यारो छ। त्यहाँको लागि छुट्टै जहाज चाहिन्छ’, उनले भने, ‘हिमालय एयरलाइन्सले जहाज, पाइलटको तालिम, जहाजमा थप आवश्यक पर्ने उपकरणको सुनिश्चिततापछि उडान अनुमति पाएका हौँ।’

हिमालय एयरलाइन्सले चीनको ल्हासामा २०७७ माघमा परीक्षण उडान  गरेको थियो। ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो। यहाँ उड्ने जहाजसँग अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता हुनुपर्छ। 

एयरबस ३१९ जहाज यसको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ।  

‘खरिदमा भ्याट लगाउने निर्णयले रोकिए नयाँ जहाज’
आक्रामक रुपमा गन्तव्य विस्तार गरिरहेको हिमालय एयरलाइन्सले १० वटा नयाँ एयरबस ३२० ल्याउने योजना बनाएको थियो। चीनसहित अरु गन्तव्यमा उडान विस्तार गर्न नयाँ जहाज खरिदको योजनाबाट एयरलाइन्स अहिले पछि हटेको छ। 

सरकारले चालू आर्थिक वर्षको बजेटमा जहाज खरिद गर्दा भ्याट लाग्ने व्यवस्था गरेको छ। नयाँ न्यारोबडी ए३२० जहाज खरिद गर्दा करिब २ अर्ब रुपैयाँ सरकारलाई पहिले नै बुझाउनुपर्छ। 

‘सरकारको भ्याट लगाउने नीतिले अब नयाँ ब्रान्डका जहाज ल्याउन सक्ने अवस्था छैन’, श्रेष्ठले भने, ‘एउटा न्यारोबडी ल्याउँदा नै सरकारलाई करिब २ अर्ब कर बुझाउनुपर्ने हुन्छ।’

सरकारले नयाँ जहाज ल्याएर विदेशमा गन्तव्य विस्तार गरी पर्यटक बढाउनेतर्फ नसोची अर्बौँ पर्ने जहाजमा भ्याट लगाउने उल्टो नीति लिएको श्रेष्ठको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .