ad ad

कारोबार


२८ महिनामा साढे २३ अर्बको बीमा पोलिसी ‘सरेन्डर’

आयस्रोतभन्दा बढी प्रिमियमको भारी बोकाइदिएपछि पोलिसी त्याग्ने बढे
२८ महिनामा साढे २३ अर्बको बीमा पोलिसी ‘सरेन्डर’

केशर बोगटी
मंसिर २८, २०८० बिहिबार २१:४८, काठमाडौँ

नेपाली बीमा बजारमा पोलिसी सरेन्डर (समर्पण/त्याग) गर्ने दर निरन्तर बढ्दै गएको छ। 

बीमा प्राधिकरणले बीमालेख सरेन्डर रोक्न बीमालेख जारी र अभिकर्ता छनोटमा नीतिगत कडाइ गरे पनि सरेन्डर रोक्ने क्रम घटेको छैन। 

प्राधिकरणले जीवन बीमासम्बन्धी निर्देशिका जारी गरेर बीमितले तीन वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्था लागू गरेको छ। यद्यपि, पोलिसी त्याग गर्नेहरूको संख्या भने बढ्दो छ।

पछिल्लो समय बीमालेख सरेन्डर गर्नेको संख्या निरन्तर बढ्न थालेको तथाङ्कले देखाउँछ। 

यसअनुसार पछिल्लो २८ महिनामा बीमितले २३ अर्ब ३९ करोडको बीमा पोलिसी सरेन्डर गरेका छन्। 

प्राधिकरणको तथ्यांकअनुसार २८ महिनामा बीमितले २३ अर्ब ३९ करोड रुपैयाँबराबरको २ लाख ४२ हजार १२९ वटा पोलिसी सरेन्डर गरेका हुन्। 

आर्थिक वर्ष २०७७/०७८मा बीमितले ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए। बीमितले ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँबराबरको ६३ हजार ३३१ वटा पोलिसी सरेन्डर गरेका थिए। 

आर्थिक वर्ष २०७८/०७९मा बीमितले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका थिए। उक्त वर्ष १२ अर्ब १८ करोड ८ लाख रुपैयाँबराबरको ८१ हजार ८६० वटा पोलिसी सरेन्डर भएको थियो। 

त्यसैगरी, आर्थिक वर्ष २०८०/०८१ को चार महिना (कात्तिक)सम्म १ अर्ब ३३ करोडको बीमा पोलिसी सरेन्डर भएको छ। सोही अवधिमा बीमितले १ अर्ब ३३ करोडको ९६ हजार ९३८ वटा पोलिसी सरेन्डर गरेका छन्। 

नेपाल लाइफको बीमा सरेन्डर सबैभन्दा धेरै
बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सरेन्डर सर्वाधिक देखिएको छ। 

पछिल्लो चार महिनामा कम्पनीको ३२ हजार १२६ पटकमा ४७ करोड ८८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ। अघिल्लो दुई वर्षमा मात्रै कम्पनीको ५ अर्बबराबरको ५६ हजार पटकको सरेन्डर भएको छ। 

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को बीमा पोलिसी सरेन्डर दोस्रो नम्बरमा देखिएको छ। चालू आवको कात्तिकसम्म बीमितले २० हजार १८० पटकमा ३५ करोड ११ लाख रुपैयाँको पोलिसी सरेन्डर गरेका छन्। अघिल्लो दुई वर्षमा बीमा ३२ हजार पटकको सरेन्डर हुँदा ६ अर्ब बढीको सरेन्डर भएको छ। 

कम्पनीको व्यवसाय नै ठूलो हुँदा सरेन्डर धेरै देखिएको नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी बिनोदकुमार भुजेल बताउँछन्। 

‘पोलिसी सरेन्डर सबै कम्पनीमा भइरहेका छन्। सरेन्डर हुुनु कम्पनी र पोलिसी होल्डर दुवैलाई बेफाइदाजनक हो’, उनले भने, ‘तर, बीमा ऐनले नै सरेन्डर गर्न पाउने अधिकारी दिएको छ। जसकारण पोलिसी सरेन्डर हुन्छ।’ 

अभिकर्ताले मिस सेलिङ गर्दा पनि पोलिसी सरेन्डर हुने गरेको उनले बताए। 

बीमा ऐनको छिद्र हेरेर कतिपय अभिकर्ताले कमिसन खाने गरेको उनको भनाइ छ। त्यसले पनि पोलिसी सरेन्डरमा योगदान गरेको उनले बताए। 

‘अभिकर्ताले बीमकलाई बीमालेखको बारेमा राम्रोसँग बुझाउन नसकेको अवस्था पनि छ’, उनले थपे, ‘बीमकको आयस्रोतभन्दा बढी प्रिमियम तिर्न लोड बोकाइदिएपछि पनि सरेन्डर हुने भए।’

अभिकर्ताले कमिसन पाउने, विभिन्न स्किम पाउने, बोनस पाउने जस्ता कारणले बिजनेस तान्ने र त्यसपछि सरेन्डर गरिदिने परिपाटी समेत रहेको उनको भनाइ छ। 

अहिले प्राधिकरणले तीन वर्ष नपुगी पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्थाले सरेन्डर निरुत्साहन हुने भुजेलको विश्वास छ। 

अर्थतन्त्रमा आएको संकुचनका कारण बीमितको प्रिमियम तिर्ने क्षमतामा कमी आउनु, प्रलोभनमा पारेर बीमा गराउनुलगायत कारणले पोलिसी सरेन्डर हुने क्रम बढेको हो।

कुनको कति सरेन्डर?

(बीमा प्राधिकरण)

पछिल्लो तीन महिनामै गत वर्षभन्दा धेरै बीमालेख सरेन्डर भएको छ। यसले पनि बीमालेख सरेन्डर घट्नुको साटो बढ्न थालेको प्रस्ट हुन्छ। 

प्राधिकरणले पोलिसी सरेन्डरको क्रमलाई निरुत्साहन गर्न विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । तर, त्यसले पनि सरेन्डरको अनुपात भने अपेक्षित रुपमा घटाउन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन्।

पौडेल पोलिसी सरेन्डर जुनसुकै देशमा पनि हुने र अन्यको तुलनामा नेपालमा कम रहेको बताउँछन्। 

‘पोलिसी सरेन्डर जहाँ पनि हुन्छ। यहाँ पनि नभएको होइन तर पहिलेभन्दा कम हुनसकेको छैन’, उनले भने।

प्राधिकरणले गत भदौमा बीमा अभिकर्ता, सर्भेयर र दलालसम्बन्धी व्यवस्था गरेको थियो। उक्त व्यवस्थामा अभिकर्ताले लाइसेन्स लिन अनलाइन परीक्षा दिनुपर्ने प्रावधान समेत राखिएको छ। 

त्यसैगरी, एउटा अभिकर्ता धेरै बीमकको अभिकर्ता बन्न नपाउने व्यवस्था गरिएको छ।

किन हुन्छ पोलिसी सरेन्डर?
आर्थिक स्रोतको आवश्यकता, अभिकर्ताको कारण र जथाभावी बीमा रकम राख्दा पोलिसी त्याग्नेको संख्या बढेको प्राधिकरण बताउँछ।
कतिपय अवस्थामा अभिकर्ताले नै पोलिसी सरेन्डर गराइदिने गरेको समेत देखिएको छ।  

कार्यकारी निर्देशक पौडेल आर्थिक रुपमा समस्या हुँदा र अभिकर्ताको कारण पोलिसी सरेन्डर गर्ने गरेको बताउँछन्। 

‘आय स्रोतको तुलनामा बीमा रकम बढाएपछि अप्ठ्यारो परेको देखिन्छ। त्यसले सरेन्डर पनि बढाएको छ। पैसा आवश्यक परेको बेलामा पोलिसी सरेन्डर गरेर निकाल्ने गरेको पाइन्छ’, उनले भने।

‘एउटा अभिकर्ता एउटामा काम गरिरहेको हुन्छ। अर्कोमा जानेबित्तिकै आफ्नो मार्केटिङ बढाउन पोलिसी नै त्याग गरिदिन्छ’, उनले भने। 
पछिल्लो समय प्राधिकरणले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेका कारण सरेन्डर रेसियो घट्ने उनले बताए।

के भन्छन् बीमा विज्ञ?
बीमा विज्ञ डा. रबिन्द्र घिमिरे अहिले सरेन्डर तीन वर्ष अवधिमा मात्रै गर्न मिल्ने बनाइए पनि बीमा सरेन्डर नरोकिनुको अरु कारण रहेको बताउँछन्। 

घिमिरेले भने, ‘नेपाल बीमा प्राधिकरणले सरेन्डरलाई बढाएर अझै पाँच वर्ष बनाउनलागेको छ। बीमा सरेन्डरको अवधिमा भन्दा पनि अहिले बीमाको पोलिसीमा नै केही समस्या देखिएको अवस्था छ।’ 

उनले सरेन्डर गर्दा फाइदा हुने खालका पोलिसी सञ्चालनमा रहेकाले यो क्रम बढेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .