ad ad

कारोबार


मोदीनिकट अदानी ग्रुपका प्रतिनिधि फेरि काठमाडौंमा, निजगढ विमानस्थल निर्माणमा लगानी गर्न छलफल

मोदीनिकट अदानी ग्रुपका प्रतिनिधि फेरि काठमाडौंमा, निजगढ विमानस्थल निर्माणमा लगानी गर्न छलफल

अदानी ग्रुपका प्रतिनिधि, विनोद चौधरी र दीपक मल्होत्राबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानीबारे छलफल भएको छ


दीपक भट्ट
माघ २, २०८० मंगलबार २०:८, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट धनाढ्य गौतम अदानीको ‘अदानी ग्रुप’का प्रतिनिधि नेपाल आएका छन्।  

भारतमा ठूला पूर्वाधारमा लगानी गर्दै आएको यो समूह नेपालमा लगानीको चाहना राख्दै पुनः काठमाडौं आएको हो। काठमाडौंमा मंगलबार अदानी ग्रुपका प्रतिनिधिले चौधरी ग्रुपका प्रतिनिधि लगायतसँग छलफल गरेका छन्।

गत जेठमा पनि अदानी ग्रुपका प्रतिनिधिहरु नेपाल आएर लगानी सम्बन्धमा चिनियाँ लगायत विभिन्न पक्षसँग छलफल गरेका थिए। गत वर्षदेखि नै नेपालमा यो समूहले लगानी गर्ने चाहना राख्दै आएको छ। खासगरी सिमेन्ट कम्पनी, जलविद्युत् र अन्य भौतिक पूर्वाधारमा यो समूहले लगानी गर्न चाहेको छ। 

यसअघि विशाल ग्रुपसँग निकट देखिएको अदानी समूहलाई अहिले चाहिँ नेपालका औद्योगिक घरानाहरु चौधरी ग्रुपले समन्वय गरिरहेको देखिन्छ। भारतको अदानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच निकटता बढ्दै गएको आजै चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले गौतम अदानीसँग डाभोस फोरममा लिइएको तस्बिर पोष्ट गर्नुले पनि पुष्टि गर्छ। 

अदानी ग्रुपले अहिले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चासो देखाएको छ। 

आगामी वैशाख १६ र १७ मा लगानी सम्मेलन आयोजनाको तयारी गरेको सरकारले लगानी जुटाउन नसकिरहेका बेला अदानी ग्रुपका प्रतिनिधि आउनु र विमानस्थल निर्माणमा इच्छा देखाउनुलाई अर्थपूर्ण मानिएको छ। 

लगानी सम्मेलनमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शोकेस गर्ने तयारी गरेको छ। त्यसअघि नै अदानी ग्रुपसँग वार्ता गराएर सम्मेलनमा समझदारी गर्ने गरी नेपाली समन्वयकर्ताहरुले तयारी गरेको बुझिन्छ। 

उक्त विमानस्थल बनाउन सुरुमा १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो लगानीले सुरुमा एउटा रनवेसहितको विमानस्थल निर्माण हुनसक्ने अनुमान छ।

सरकारले चालू आर्थिक वर्षको बजेटमै निजगढ विमानस्थलको पूर्वतयारीको काम थाल्न बजेट विनियोजन गरेको छ। उड्डयन प्राधिकरणले विमानस्थलको चारकिल्लासहितका प्रक्रिया अघि बढाउने काम गरिरहेको छ।

यसअघि मन्त्रिपरिषद्ले पहिला विमानस्थल बनाउनेबारे गरेको निर्णय, ८ हजार ४५ हेक्टर जमिनमा चारकिल्ला तोक्न निकालेको सूचना, मन्त्रालयबाट स्वीकृत गरिएको वातावरणीय प्रभाव अध्ययन (ईआईए) तथा रुख कटान गर्ने निर्णय सर्वोच्च अदालतबाट खारेज भएकाले पुनः यी काम गर्नुपर्ने अवस्था छ। 

ती सबै काम पुनः शून्यबाट सुरु हुने भएकाले प्राधिकरणले विज्ञले सिफारिस गरेकै आधारमा चार किल्ला तोक्नेछ। सरकारले चारकिल्ला निर्धारण गरेसँगै वातावरणीय प्रभावको अध्ययन हुनेछ। 

२०७१ फागुनमा ८ हजार ४५ हेक्टर क्षेत्रलाई विमानस्थल भनी राजपत्रमा सूचना प्रकाशन गरिएको थियो। सर्वोच्चले आवश्यकभन्दा ४ गुणा बढी जग्गा छुट्याइएको उल्लेख गरेको छ। विमानस्थलको चारकिल्लामा २४ लाख ५० हजार ठूला रुख थिए। 

पुरानो ईआईए प्रतिवेदन २०७५ जेठमा वन मन्त्रालयले स्वीकृत गरेको थियो। उक्त प्रतिवेदन हाइड्रोपावरको ईआईए नक्कल गरेको, जंगल फाँडेर विमानस्थल बनाउनुको औचित्य पुष्टि नभएको, एक रुख कटान बराबर २५ रुख लगाउने मापदण्ड संशोधन गरी १० बनाएको भन्दै अदालतले खारेज गरेको थियो।

माथिल्लो भेरीमा पनि छलफल 
उक्त विमानस्थलबाहेक अदानी ग्रुपले माथिल्लो भेरी अर्थात् भेरी १ मा समेत लगानीको चाहना राखेको छ। 

उक्त आयोजनाको लाइसेन्स दीपक मल्होत्राकै आईएमएस ग्रुपसँग छ। सोही कारण पनि आयोजना अघि बढाउन अदानी ग्रुपसँग आईएमएस ग्रुपको छलफल भइरहेको छ। 

स्रोतका अनुसार ३ सय २५ मेगावाटको यस आयोजना दीपक मलहोत्रासँग खरिद गर्ने सम्बन्धमा सोमबार र मंगलबार समेत छलफल भएको थियो। आईएमएस ग्रुपका अध्यक्ष मल्होत्राले पनि अदानी ग्रुपका प्रतिनिधिसँग यसबारे छलफल भएको स्वीकारे।

‘माथिल्लो भेरीको विषयमा केही छलफल भएको छ तर यस आयोजनाको काम धेरै बाँकी भएकाले लगानी सहकार्यको विषयमा निचोडमा पुग्ने अवस्था छैन’, उनले नेपालखबरसँग भने, ‘केही छलफल भने भएको छ।’ 

यो आयोजना आंशिक जलाशययुक्त आयोजना हो। आयोजनाको प्रस्तावित क्षेत्र कर्णाली प्रदेशको डोल्पा र पश्चिम रुकुममा छ।

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर ६ र ४ मा रहेको ठूलो भेरी नदीमा आयोजनाको ३५ मिटर अग्लो बाँध निर्माण हुनेछ। 

सुरुमा यस आयोजनाको क्षमता २८१ मेगावाट उल्लेख भएपछि अहिले क्षमता पहिचान गरेर बढाइएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .