कारोबार


पोखराको बेगनासमा १ अर्ब बढी लगानीमा विलासी रिसोर्ट बन्दै, हङकङको ब्रान्डसँग फ्रेन्चाइज सम्झौता

पोखराको बेगनासमा १ अर्ब बढी लगानीमा विलासी रिसोर्ट बन्दै, हङकङको ब्रान्डसँग फ्रेन्चाइज सम्झौता

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८३ आइतबार १४:२२, काठमाडौँ

पर्यटकीय सहर पोखराको बेगनासमा विलासी रिसोर्ट निर्माण हुने भएको छ।

होटल व्यवसायी दिनेश कुमार कण्ठको बहुमत सेयर स्वामित्व (९७ प्रतिशत) रहने गरी अर्ब बढी लगानीमा वाटफोर्ड वेलनेस रिट्रिट बन्ने भएको हो। 

वाटफोर्ड होटल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले बनाउन लागेको उक्त रिसोर्ट बेगनास तालनजिकै बन्नेछ भने हङकङको अर्गाइल होटल्स ग्रुपसँग फ्रेन्चाइज सम्झौता भइसकेको छ। यो ग्रुप विश्वप्रसिद्ध होटल्स ब्रान्ड हो। यसकै फ्रेन्चाइजमा रिसोर्ट सन् २०२७ जुलाई १७ देखि सञ्चालनमा आउनेछ। यसबाट रिसोर्टको ब्रान्ड पोजिसनिङ, अन्तर्राष्ट्यिर सञ्चालन मापदण्ड र बजार विश्वसनीयता बढाउन सघाउ पुग्ने अपेक्षा छ। 

गत जनवरीसम्म यसको ४८ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। रिसोर्टको कुल अनुमानित लागत १ अर्ब १४ करोड ९० लाख रुपैयाँ छ।  ६० प्रतिशत ऋण र ४० प्रतिशत स्वपुँजी संरचनामा निर्माण भइरहेको रिसोर्टमा प्रवर्द्धकहरुबाट ३० करोड, सेयरबापत ८ करोड ८६ लाख ४० हजार लगानी भइसकेको छ। परियोजनाका लागि कुल पुँजीको ८७ प्रतिशत प्रतिबद्धता भइसकेको छ। त्यस्तै ऋणतर्फ आंशिक सम्झौता भइसकेको छ। जसबाट ४० करोड रुपैयाँ सुनिश्चित हुँदा त्यति नै अर्को ऋणको प्रस्तावसहित ७० करोड अन्य ऋणदाताबाट जुटाउने लक्ष्य छ।

वाटफोर्ड होटल म्यानेजमेन्ट प्राइभेट लिमिटेड कण्ठले प्रवर्द्धन गरेको कम्पनी हो। दिनेश कुमार कण्ठसँग होटल क्षेत्रमा २५ वर्ष काम गरेको अन्तर्राष्ट्रिय अनुभव छ। उनी हाल इन्टर कन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी)मा महाप्रबन्धक रहेका छन्। उनले आईएचजीका धेरै व्यवसायमा आबद्ध रहेर काम गरिसकेका छन्। जसमा चीनको होलिडे इन र क्राउन प्लाजा समेत समावेश छ। होटल विकास, व्यवसाय र अन्तर्राष्ट्रिय बजारमा जानकार रहेकाले उनको नेतृत्वमा रिसोर्टले प्रगति गर्ने अपेक्षा छ। 

पर्यटकीय स्थानमा बन्ने रिसोर्टले घरेलु र विदेशी पर्यटकलाई लक्षित गरेको छ। लोकेसनका हिसाबले पनि यो रिसोर्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पर्छ। रमणीय प्राकृतिक दृश्य र उपयुक्त स्थानले गर्दा यो परियोजना सफल हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad