ad ad

कारोबार


बैंकहरूमा घटेन खराब कर्जा, पैसा जम्मा गर्नेलाई कस्तो असर पर्ला?

बैंकहरूमा घटेन खराब कर्जा, पैसा जम्मा गर्नेलाई कस्तो असर पर्ला?

केशर बोगटी
माघ ७, २०८० आइतबार १७:६, काठमाडौँ

गत वर्षदेखि बैंकहरू खराब कर्जा घटाउन केन्द्रित भए। यसका लागि लगानी ठप्पप्रायः गरे। तर पनि खराब कर्जा घटेन। 

चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको औषत खराब कर्जा ३ प्रतिशत नाघेको हो। खराब कर्जा बढेर कर्जा नोक्सानी (प्रोभिजन) थपिँदा त्यसको असर बैंकहरूको असर नाफामा समेत देखिएको छ। 

जसकारण पछिल्लो ६ महिनामा २० बैंकमध्ये १७ बैंकको नाफा घटेको छ भने ३ बैंकको बढेको छ। सम्रगमा वाणिज्य बैंकहरूको नाफामा ९.९५ प्रतिशतले घटेको हो। खराब कर्जा बढेर प्रोभिजन थपिँदा एकातिर बैंकहरूको लगानी क्षमता घट्छ भने अर्कोतर्फ नाफामा प्रभाव पर्ने हुन्छ। 

पुस मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ३.२६ प्रतिशत पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.१९ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा २.०७ प्रतिशत थियो। पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत कर्जा पुनर्तालिकीकरणको व्यवस्था गरिदियो।

तर राष्ट्र बैंकको राहतको नीतिले पनि बैंकहरूको खराब कर्जामा सुधार हुन सकेको छैन। यसले धेरै बढ्न भने दिएको छैन। 

९ बैंकको खराब कर्जा ४ प्रतिशत माथि
यस अवधिमा ९ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशत नाघेको छ। एभरेष्ट बैंकले मात्रै खराब कर्जा १ प्रतिशत तल राख्न सफल भएको छ। 

जति खराब कर्जा बढ्दै जान्छ त्यति नै बैंकहरूको लगानी नउठेको बुझिन्छ। खराब कर्जा ५ प्रतिशत नाघे त्यसलाई जोखिमयुक्त मानिन्छ। जति खराब कर्जा कम हुन्छ त्यति नै बैंकहरूको लगानी सुरक्षित रहेको मानिन्छ।   

पछिल्लो समय अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंकहरूले लगानी गरेको ऋण उठाउन सकेका थिएनन्। जसको कारण बैंकिङ क्षेत्रको खराब कर्जाको दर उकालो लागेको थियो। 

राष्ट्र बैंकको नीतिका कारण कर्जा पुनर्संरचनाको कारण बैंकहरूलाई खराब कर्जा बढ्न नदिन केही राहत मिलेको देखिन्छ। सोही कारण बैंकहरूले खराब कर्जा नियन्त्रणभित्र नै राख्न सफल भएको एक बैंकरले बताए। 

ती बैंकरका अनुसार कर्जा सुधार हुन नसकिरहेको बेलामा राष्ट्र बैंकको कर्जा पुनर्संरचनाले खराब कर्जा नियन्त्रणभित्रै छ। 

नेपाल राष्ट्र बैंकले गत मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय क्षेत्रमा परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गर्ने व्यवस्था गरेको थियो।

‘बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असुल गरी कर्जा पुनर्संरचना गर्न सक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्नसक्ने क्षेत्रहरूको विस्तार गरिने’ मौद्रिक नीतिको पहिलो समीक्षामा भनिएको छ। 

राष्ट्र बैंकले ११ क्षेत्रको लागि ५ करोडसम्म कर्जा पुनर्तालिकीकरणको व्यवस्था गरेको हो। जसको कारण बैंकहरूले ऋण पुनर्तालिकीकरण गर्न पाए। यसले बैंकको खराब कर्जालाई नियन्त्रणमा राखेको हो।

तर, राष्ट्र बैंकले दिएको कर्जा पुनर्तालिकीकरणको व्यवस्था तत्काललाई मात्रै खराब कर्जा व्यवस्थित गर्न सहयोग पुगेको ती बैंकर बताउँछन्। 
चैतसम्म मात्रै कर्जा पुनर्तालिकीकरण गर्न पाइने व्यवस्थाले तेस्रो र चौथो त्रैमासिकमा काम नगर्ने उनी बताउँछन्।  

चैतपछि पुनः कर्जा पुनर्तालिकीकरणको व्यवस्था गरिदिए मात्रै तेस्रो र चौथो त्रैमासिकमा खराब कर्जा नियन्त्रणमा हुनेछ। 

होइन भने आगामी त्रैमासिकमा खराब कर्जा ५ प्रतिशत नाघ्ने ती बैंकरले बताए। 

बैंकहरूको खराब कर्जा बढेको भए पनि अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रीय बैंकका अधिकारी र वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्।

मौद्रिक नीतिको समीक्षामार्फत दिइएका कतिपय सहुलियतले त्यस्तो अवस्थामा सुधार हुनुपर्नेमा हुन नसकेको उनीहरूको भनाइ छ। 

पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीका अनुसार समग्र अर्थतन्त्र खस्केर व्यापार र व्यवसायमा समस्या आएकाले खराब कर्जा पनि बढेको हो।

‘अहिले व्यापार र व्यवसाय छैन। त्यसले गर्दा ग्राहकको कर्जा चुक्ता गर्ने क्षमता पनि छैन’, उनले भने, ‘बजारको नकारात्मक मनोविज्ञानले पनि अहिलेको अवस्था आउन भूमिका खेलेको जस्तो लाग्छ।’

कुन बैंकको खराब कर्जा कति? 
पुस मसान्तसम्म एनएमबी बैंकको खराब कर्जा २.८६ प्रतिशत, सिद्धार्थको २.५६ प्रतिशत, कमारीको ४.९७ प्रतिशत, माछापुच्छ्रेको २.६२ प्रतिशत, एभरेष्टको ०.७७ प्रतिशत, नेपाल एसबीआईको २.२९ प्रतिशत खराब कर्जा देखिएको छ। 

त्यस्तै, हिमालयन बैंकको ४.९५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको १.६० प्रतिशत, नबिलको १.२० प्रतिशत, सिटिजन्सको ४.०७ प्रतिशत, प्राइमको ४.०७ प्रतिशत, कृषि विकास बैंकको ३.०२ प्रतिशत खराब कर्जा छ।  

तीबाहेक सानिमाको १.७२ प्रतिशत, नेपाल बैंकको ४.५० प्रतिशत, ग्लोबलको ४.६८ प्रतिशत, एनआईसी एसियाको ४.६८ प्रतिशत, प्रभुको ४.९ प्रतिशत, एनआईएमबीको ४.७५ प्रतिशत, लक्ष्मी सनराइजको ४.६७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.९५ प्रतिशत खराब कर्जा छ। 

सामान्य रूपमा खराब कर्जा बढ्दैमा निक्षेपकर्तालाई खासै असर नपर्ने नेपाल राष्ट्र अधिकारीहरू बताउँछन्।

‘अहिले बढेको खराब कर्जा धेरै होइन। हाम्रा छिमेकी देशहरूको तुलनामा त उनीहरूको भन्दा आधा कम हो। यसले निक्षेपकर्तालाई खासै असर पर्दैन। निक्षेपकर्ता डराउनुपर्दैन’, एक अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .