ad ad

कारोबार


विद्युत् निर्यात गर्न बङ्गलादेशसँगको वार्ता सकारात्मक

विद्युत् निर्यात गर्न बङ्गलादेशसँगको वार्ता सकारात्मक

नेपालखबर
फागुन १०, २०८० बिहिबार २१:४२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ। आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको छ।

दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिबीच आज बङ्गलादेशको ढाकामा बार्ता भएको हो।

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेश गरेका थियौँ, हामीले पेश गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाबारे विस्तृत रुपमा छलफल गर्यौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘उहाँहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनु पर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जति सक्दो छिटो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौतामा सहमति जुटेको छ।’
    
प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बङ्गलादेशसमक्ष प्रस्ताव पठाएको छ। विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको बताइएको छ।

नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .