ad ad

कारोबार


८ अर्बले घट्यो साताको सेयर कारोबार : यी कम्पनीको माग धेरै, कसले कमाए?

यो साता २.७३ प्रतिशतले घटेको सेयरबजार २ हजारमा ओर्लियो
८ अर्बले घट्यो साताको सेयर कारोबार : यी कम्पनीको माग धेरै, कसले कमाए?

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १७:५०, काठमाडौँ

यो साता चार कारोबार दिन नै नेप्से परिसूचक ओरालो लाग्यो। साताको पहिलो कारोबार दिन (आइतबार) २७.२१ अंकले घटेको बजार त्यसपछि निरन्तर घटेर २००५.८३ विन्दुमा झरेको थियो। 

सातामा चार दिन खुलेको बजार ५६.२ विन्दुले घटेर २००५.८३ विन्दुमा अडिएको छ। साताभर ओरालो लागेको बजारमा २.७३ प्रतिशत गिरावट देखियो। यो साता नेप्से परिसूचक घटेसँगै कारोबार समेत खुम्चिएको छ।

साताभर बजारमा १२ अर्बको कारोबार भएको छ। गत साता बजारमा २० अर्बको कारोबार भएको थियो। गत साताको तुलनामा यो साता कारोबार झण्डै आधा नै घटेको छ। 

बजार घट्दा कारोबार खुम्चिँदै जानु राम्रो मानिन्छ। घटिरहेको बजारमा कारोबार खुम्चिँदा लगानीकर्ताको मनोबल बढ्न थालेको संकेत गर्छ। बजार २१ सय विन्दुबाट ओरालो लाग्दै २ हजार विन्दु झरिसकेको हुँदा योभन्दा तल नआउने मनोविज्ञानले कारोबार खुम्चिन थालेको देखिन्छ। 
गत साताको तुलनामा कारोबार झण्डै आधाले नै घट्नु लगानीकर्ताको मनोबल बढ्न थालेको संकेत रहेको जानकार बताउँछन्। बजार बढ्दै कारोबार खुम्चिनु आगामी समयमा बजार माथि जाने संकेत हो। 

तर, घटिरहेको बजारमा खुम्चिँदो कारोबारले लगानीकर्ताको मनोबल बढ्न थालेको देखिएको उनीहरुको भनाइ छ। यसले बजार तत्काल उकालो यात्रा नसमाते पनि विस्तारै लय समाउने उनीहरुको तर्क छ। 

साथै, यो साता केही व्यक्तिले सामाजिक सञ्जालमा बैंक डुब्न लागेको जस्ता अभिव्यक्तिको मनोवैज्ञानिक असर गरेको देखिन्छ। राष्ट्र बैंकले साताको अन्तिममा बैंकहरु सुरक्षित छन्। लगानीकर्ताको निक्षेप सुरक्षित रहेको भन्दै जारी गरेको विज्ञप्तिले सकारात्मक प्रभाव देखिने उनीहरु बताउँछन्। 

घट्दो ब्याजदर र प्रणालीमा अधिकतम तरलताको अवस्थाले बजार चाँडै लय समात्ने बताउँछन्। बजार योभन्दा तल आए १९८० विन्दुको सपोर्ट मिल्ने उनीहरुको भनाइ छ। 

बजारलाई सपोर्ट मिल्ने किसिमको परिस्थितिमा पनि नेप्से नयाँ उचाइमा पुग्न नसक्नु सूचीकृत कम्पनीको बिग्रिँदो वित्तीय विवरण नै रहेको देखिन्छ। राम्रो प्रतिफल दिनसक्ने कम्पनीहरु आगामी वर्ष लाभांश दिन नसक्ने अवस्थाले लगानीकर्ता बजारमा आकर्षण बढ्न नसकेको हो।

अर्थतन्त्र शिथिल हुँदा कम्पनीहरुले पूर्ण क्षमतामा सञ्चालन हुन सकेको अवस्था छैन। जसले गर्दा व्यापार व्यवसाय ठप्प जस्तै देखिएर कम्पनीको नाफा प्रभाव परेको छ। कम्पनीहरुको नाफा प्रभावित भएर लाभांश क्षमता घट्दा बजारअनुरुपको परिस्थितिमा पनि बजार बढ्नसकेको छैन। 

यो साता १३ उपसूचकमध्ये २ बढ्दा अन्यमा गिरावट देखियो। यो साता फाइनान्स र म्यानिफ्याक्चरिङ उपसूचक बढ्दा अन्य ११ उपसूचकमा गिरावट देखिएको छ। 

यो साता सर्वाधिक कमाउने र गुमाउने कम्पनी 
यो साता सर्वाधिक कमाउनेमा समाज लघुवित्तका लगानीकर्ता छन्। लघुवित्तका लगानीकर्ताले यो साता उच्च दरले कमाउन सफल रहे। पछिल्लो समय यस लघुवित्तको सेयरमूल्य निरन्तर उकालो लाग्दै प्रतिकित्ता सेयरमूल्य २१७६.३० रुपैयाँ पुगेको छ। 

त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले यो साता कमाएका छन्।

साथै, मौलुङ हाइड्रोपावर, आत्मर्निभर लघुवित्त र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि उच्च दरले कमाएका छन्। 

यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा बलेफी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल इनर्जी र ङादी हाइड्रोपावरका लगानीकर्ता छन्। 

सर्वाधिक कारोबार गर्ने हिमालयन रि
यो साता हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ। यो साता यस कम्पनीको ९८ करोडको कारोबार भएको छ। 

त्यसैगरी यो साता जोशी हाइड्रोपावर कम्पनीको ३२ करोड ३० लाख, एनआईसी एशिया बैंकको ३१ करोड ५८ लाख र सगरमाथा जलविद्युत कम्पनीको २४ करोड १६ लाख, ङादी ग्रुप पावर कम्पनीको २३ करोड २४ लाखको कारोबार भएको छ। 

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्ष स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन रि इन्स्योरेन्स, कुमारी बैंक, प्रभु बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को यो साता सर्वाधिक सेयर डिमान्ड रहेको छ।

त्यसैगरी, यो साता सर्वाधिक डिमान्ड रहेका कम्पनीको सप्लाई अर्थात् बिक्री चाप समेत उच्च नै देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .